गण्डकीका ८५ वटा स्थानियत तहमा प्रमुखमा तीन महिला

पर्वत : ११ जिल्ला रहेको गण्डकी प्रदेशमा कुल ८५ ओटा स्थानीय तहहरू रहेका छन्।

२०७४ सालको स्थानीय तहमा दलहरू एक्ला एक्लै लडेका कारण हरेक स्थानीय तहको उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाइएका थिए। यस पटक पाँच दलीय गठबन्धनका कारण उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार कम रहेका थिए।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट गण्डकीमा छ जना महिलाहरू स्थानीय तहको प्रमुख बनेका थिए।

महिला सहभागिता र जागरणको बढ्दै गएको बेलामा यस पटक भने त्यो सङ्ख्या झनै घटेर तीनमा सीमित भएको छ। यस पटक पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेकी उम्मेदवार हिरादेवी शर्मा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेसकी लक्ष्मी देवी पाण्डे र बागलुङको बडिगाड गाउँपालिकामा कांग्रेसकी गण्डकी थापा अधिकारी निर्वाचित भएका छन्।

पर्वतको मोदी गाउँपालिकाकी शर्माले गठबन्धन अन्तर्गत माओवादीका उम्मेदवार गुप्त बहादुर ठकुरीलाई १ हजार ३३९ मतको अन्तरमा पराजित गरिन्। शर्माले ६ हजार १९ मत ल्याउँदा ठकुरीले ४ हजार ६८० मत पाएका छन्।

हुप्सेकोट गाउँपालिकामा कांग्रेस उम्मेदवार पाण्डेले एमालेका उम्मेदवार चेत बहादुर रानालाई ७१४ मतले पराजित गरिन्। पाण्डेको पक्षमा ६ हजार ४५५ मत आउँदा रानाले ५ हजार ७४१ मत पाएका छन्।

बडीगाड गाउँपालिकामा कांग्रेसकी उम्मेदवार गण्डकी थापा अधिकारीले एमालेका राजन कुमार पाइजालाई १ हजार ५७२ मतले पराजित गरिन्। अधिकारीले ७ हजार ३८६ मत ल्याउँदा पाइजाको पक्षमा ५ हजार ८१४ मत आएकाे छ।

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष पाण्डे चुनावको बेलामा महिलालाई कमजोर पार्न विभिन्न प्रयास गर्ने गरेको भए पनि इमानदारीताका साथ काम गरेका कारण आफ्नो जीत भएको बताउँछिन्।

दोस्रो पटक पनि अध्यक्ष पदमा निर्वाचित भएकी उनी महिला नेतृत्वमा आउने कुरा सहज नभएको पनि धारणा राख्छिन्। ‘घरका काम सम्हाल्ने देखि परिवारका सदस्यहरूको ख्याल गरेर भ्याउनुपर्छ। अनि राजनीतिक र सामाजिक काममा पनि सक्रिय हुनुपर्छ। फेरि सक्रिय हुँदैमा महिलालाई विश्वास मानिहालेको अवस्था पनि कहाँ छ र?’ उनी भन्छिन्, ‘आखिर कसलाई कहाँ राख्ने भन्ने कुरा जनताको हातमा नै छ। जनताको भलो हुने काम गरेमा, उहाँहरूको सुख–दुःखमा सँगै भएमा उहाँहरूले मत दिनुहुन्छ। उहाँहरूको आशा र विश्वास पूरा गर्न नसके पराजित गरिदिनुहुन्छ।’

पर्वतको मोदी गाउँपालिकाकी प्रमुख पूर्व शिक्षक हुन्। आगामी पाँच वर्ष जनताले स्थानीय सरकारको महशुस हुने गरी काम गर्नु नै आफ्नो लक्ष्य रहेको उनी बताउँछिन्। स्थानीय सरकारले गर्नुपर्ने कामहरू धेरै रहेको र नागरिकले परिवर्तनको महशुस पनि स्थानीय सरकारबाटै गर्ने भएका कारण गाउँपालिकाको सिङ्गो समूह नै यसमा प्रतिबद्ध रहेको उनको भनाई छ।

‘महिला भएका कारण कमजोर महशुस गर्नुपर्ने हुँदैन। महिला पनि सक्षम छन् भन्ने कुरा त सामाजिक र राजनीतिक रूपमा उच्च पदमा पुगेकाहरूलाई देख्न सकिन्छ,’ उनी भन्छिन्, ‘०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरूले कानून निर्माण गर्नुभएको छ। सङ्घीयताको कार्यान्वयन गर्नुभएको छ। अब हामीले त्यसैको जगमा टेकेर कार्यसम्पादन गर्ने हो।’थाहाखबरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’