पर्वतको बिहादीका प्रशान्तलाई नै चकित बनाउने ‘सान्नानी जाम पोखरा’ – १० हजारले हेर्लान् भनेको २ सातामै २२ लाख भ्युज

कति राम्री सान्नानी दिल बस्यो हीरैमा,
ओठमा लाली सान्नानी शिरफूल शिरैमा ।
जाम पोखरा मिनीबसैमा … ।

आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । लाखौं लगानी गरेर तामझामका साथ भिडियो निर्माण गर्ने अहिलेको ‘ट्रेन्ड’ छ । तर, ‘सान्नानी जाम पोखरा’को भिडियो प्रशान्तले सामान्य बनाए ।

स्टुडियोभित्र आफ्नो ‘लिप्सिङ’ खिचे र भिडियो तयार पारे । अनि, आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरे । दुई दिनपछि युट्युबमा आँखा डुलाए, भ्युज त्यही १० हजार आसपास पुगेको हुँदो हो । त्यो भ्युज देखेर उनी दुःखी भएनन्, बरु उल्टै खुशी भए ।

‘म शब्द/संगीत बढी गरिरहेको व्यक्तिले यसमा आफैँले एरेन्ज गरेँ र आफैले गाएँ । सोही कारण यो मेरो लागि एउटा परीक्षण पनि थियो,’ प्रशान्तले भने, ‘त्यसमाथि खासमा आफ्नो युट्युब च्यानललाई सक्रिय बनाऊँ भनेर यो गीत गरेको थिएँ । गीतले पछिसम्ममा १० हजार भ्युज पाए खुशी हुनेवाला थिए । तर, दुई दिनमै १० हजार भ्युज आउँदा खुशी नहुने कुरै भएन ।’

युट्युबमा विस्तारै भ्युज बढिरहेको देखेपछि टिकटकतिर हेरे– ३/४ हजार भिडियो बनिसकेका रहेछन् । विस्तारै गीतमा टिकटक बनाउनेहरू बढ्दै गए । यताउता आफ्नै गीत बजिरहेको सुन्न थाले । सवारीमा यात्रा गरेका गाउँतिरका साथीहरूले फोन गरेर सुनाए, ‘तिम्रो गीत त गाडीमा बजिरहेको छ ।’ क्रमशः साथीभाइ, आफन्तदेखि सांगीतिक क्षेत्रका अग्रजहरूले समेत फोन गरेर गीत राम्रो बनेको रहेछ भन्दै बधाई दिए ।

‘स्टुडियोमा पनि सबैले गीत राम्रो छ, भन्नुहुन्थ्यो । म एउटा संगीत संयोजक पनि बन्न सक्छु कि सक्दिनँ भनेर मलाई नै परीक्षण गरेको गीत हो,’ प्रशान्त उत्साहित भावमा सुनाउँछन्, ‘सिकाइ त कहिल्यै पनि सकिँदैन । तर, बजारले खोजेको जस्तो, सबैले गर्ने जस्तो लेभलको ट्र्याक बनाउन सक्छु कि सक्दिनँ । आफैँले गाउँदा कत्तिको गाउन सक्छु भनेर परीक्षण गरेको थिएँ । दर्शक श्रोताहरूले मन पराइदिनुभयो । एकदमै खुशी छु ।’

अहिले गीतको पहिलो टुक्कामा मात्रै ४ लाख ५० हजारभन्दा बढीले टिकटक बनाइसकेका छन् । टिकटकमा गीत सुनेर भिडियो खोज्नेहरू उत्तिकै बढ्दै गइरहेका छन् । आइतवारसम्म भिडियोको भ्युज २२ लाख पुगिसकेको छ । यो गीत श्रोता/दर्शकले रुचाएसँगै ‘दोहोरी भर्सन’ समेत सार्वजनिक भएको छ, भिडियोसहित ।

केही दिनअघि सार्वजनिक ‘दोहोरी भर्सन’मा सन्दीप न्यौपाने र सरिता कार्कीले स्वर दिएका छन् । प्रकाश भट्टको निर्देशनमा अभिनेत्री लक्ष्मी बर्देवा र मोडल महेन्द्र गौतमले भिडियोमा अभिनय गरेका छन् । दोहोरी भर्सनलाई पनि श्रोता एवं दर्शकले रुचाइरहेका छन् । सार्वजनिक भएको केही घण्टापछि नै युट्युब ट्रेन्डिङमै परेको दोहोरी भर्सन अहिले पनि ट्रेन्डिङको शीर्षस्थानमै छ ।

किन रुचाइयो ?

‘सान्नानी जाम पोखरा’ लोकफ्यूजनको गीत हो । सरल शब्द र मेलोडीको कारण श्रोता/दर्शकले गीतलाई रुचाएको हुन सक्ने पौडेलको ठम्याइ छ ।

उनी भन्छन्, ‘चलिसकेपछि मलाई त्यस्तो लागेको हो कि श्रोता/दर्शकले पनि त्यस्तै सोचेर रुचाइदिनुभएको हो, मलाईचाहिँ सुन्दा क्याच हुने ट्युन र क्याच हुने लिरिक्स भएर हो कि जस्तो लाग्छ ।’ गीत श्रोता एवं दर्शकसम्म पुग्ने माध्यम भने टिकटक बनिदिएको उनी स्वीकार्छन् । ‘सान्नानी जाम पोखरा’ गीतले छोटो समयमै राम्रो भ्युज पाउनुको श्रेय पनि उनी टिकटकलाई दिन्छन् ।

आफ्नो अपेक्षाविपरीत गीत ‘हिट’ भएपनि यसको तयारीमा भने प्रशान्तले निकै मेहनत गरेका छन् । ‘ट्राभलिङ’ गीत बनाउने सोच उनमा पहिल्यैदेखि थियो ।

सोही सोचअनुरूप उनले दुई महिनादेखि यस गीतमा समय ब्यतित गरेका थिए । उनी गाडी चलाएको सम्झिएरै यस गीतको एरेन्ज गरेको बताउँछन् । ‘गाडी चलाइरहेको अनुभव गरेर ब्याकग्राउण्डमा गीत बजिरहेको सम्झेर ट्याक मेकिङ गरें । अनि केही दिन रियाज गरेर गीत गाएँ,’ उनले सुनाए । उसो त उनले गीतका शब्दहरू धेरैपटक लेख्ने, मेट्ने गरेका थिए । तयार ‘ट्र्याक’ पनि धेरैपटक डिलिट गरेका थिए ।

यसअघि नै ‘हिट’ छन् थुप्रै गीत

प्रशान्त झण्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । झण्डै २ सय गीतको शब्द एवं संगीत सिर्जना गरिसकेका उनका यसअघि पनि थुप्रै गीतहरू ‘हिट’ छन् ।

गायनका हिसाबले भने ‘सान्नानी जाम पोखरा’ उनको पहिलो सर्वाधिक हिट गीत हो । यद्यपि, यसअघि उनको स्वरमा ‘दैवको नजर लाए नि हुन्थ्यो’ गीतलाई श्रोता दर्शकले रुचाएका थिए ।

प्रशान्तको शब्द एवं संगीतमा ‘बैनीको भिनाजु’, ‘छुरा’जस्ता गीतलाई श्रोता दर्शकले रुचाए । त्यसपछि ‘लाहुर जाने रेल’, ‘माया बस्ला बेसरी’ प्रशान्तको शब्द एवं संगीत रहेका रुचाइएका गीतहरू हुन् ।

चार महिनाअघि उनको शब्द एवं संगीत रहेको ‘सराङकोटको डाँडैमा’बोलको गीत सार्वजनिक भयो । यो गीत श्रोता दर्शकले निकै रुचाए । यस गीतले १ करोड ३२ लाख बढी भ्युज पाइसकेको छ ।

भारतमा ‘सेक्युरिटी गार्ड’देखि ‘ट्रक ड्राइभर’सम्म

पर्वत जिल्लाको बिहादी गाउँपालिकाका पौडेलले यहाँसम्म आउन भने निकै संघर्ष गरेका छन् । उनी सानैदेखि सांगीतिक क्षेत्रमा रुचि राख्थे । रेडियोमा बज्ने गीतहरूले अनायासै उनलाई छुन्थ्यो ।

८/९ वर्षको हुँदादेखि विद्यालयका कार्यक्रममा गीत गाउन थालेका थिए । १३/१४ वर्षको उमेरसम्ममा त पाल्पा, स्याङ्जा, पोखरासम्म समेत पुगेर मेला महोत्सवमा गीत गुन्गुनाइसकेका थिए ।

उनी सुनाउँछन्, ‘गीतले सानैदेखि तान्थ्यो । त्यो बेला गायनमै लाग्छु भन्दा पनि पछि गएर एउटा एल्बम चाहिँ निकाल्छु भन्ने सोँच्थे ।’ एसएलसी दिएपछि केही समय पोखरा बसे । गाउँको साथीसँगको सहकार्यमार्फत एउटा गीत रेकर्ड गराए । तर, गीतले केही पनि चर्चा पाएन । रोजगारीको शिलशिलामा भारत गएका बुवा गाउँ फर्किसकेका थिए ।

प्रशान्त परिवारको जेठो छोरा भएकाले कमाउनुपर्ने दायित्व पनि थियो । कमाउनका लागि भारत जाने सोच बनाए । त्यहाँ एउटा कम्पनीमा ‘सेक्युरिटी गार्ड’को काम गरे । तर धेरै समय टिकिरहन सकेनन् । ट्रक ड्राइभर बन्न भनेर ‘सेक्युरिटी गार्ड’कै ड्रेसमा त्यहाँबाट भागे । दुई वर्षसम्म ट्रकमा सहचालक भएर हिँडे, सोहीबखत ट्रक चलाउन सिके ।

एक वर्ष ट्रक चलाए, अनि नेपाल फर्किए । नेपाल फर्किएपछि जिल्लाकै रेडियोमा काम गर्ने साथीले भने– एउटा गीत निकालौं । काठमाडौं आएर रेकर्ड गराए– पाछु मेरी भन्न ।

उक्त गीत चलेन । त्यसपछि फेरि विदेश जाने सोच बनाए । प्रशान्त दुबई उँडे । स्टोरकिपर भनेर गएका थिए, क्लिनरको काम गर्नुपर्‍यो । एक वर्षमै दुबईबाट नेपाल फर्किए ।

दुबईमा रहँदा भने उनलाई सांगीतिक क्षेत्रले तानिसकेको थियो । ‘दुबईमा धेरै सांगीतिक कार्यक्रम हुन्थ्यो । गायक/गायिकाहरू जाँदा म टिकट काटेर हेर्न जान्थेँ,’ उनले सुनाए, ‘उक्त समय भोलि म पनि यसरी स्टेज चढ्नुपर्छ भन्ने सपना पलाएको थियो । नेपाल गएर सांगीतिक क्षेत्रमा लाग्छु भनेरै दुबईबाट फर्किएको थिएँ ।’

नेपाल फर्किएर काठमाडौंमा डेरा जमाए । संगीतमा संघर्ष गर्न थाले । गीत तयार गर्न थाले । साथीहरूलाई सुनाउन थाले । विस्तारै उनको सिर्जनाप्रति विश्वास गर्ने लगानीकर्ताहरू भेटिन थाले ।

गायक भनेर चिनाउँदा अप्ठयारो लाग्छ

केही गीतहरूमा काम गरेपछि उनले संगीत सिक्ने सोँच बनाए । संगीत गुरु चण्डिप्रसाद काफ्ले कहाँ एक वर्ष संगीत सिके । त्यसपछि संगीत सिक्न पुगे अर्का संगीतगुरु गुरुदेव कामतकहाँ ।

‘सिक्न थालेपछि सुर, शब्द, फिल सबैकुरा चाहिँदोरहेछ भन्ने बुझेँ । त्यसपछि गायकका लागि ममा ती सबैकुरा छैन भन्ने लाग्न थाल्यो,’ प्रशान्त भन्छन्, ‘त्यसपछि मैले आफूलाई गायकमा रिफर गर्नै छोडिदिएँ ।’ उनी आफूलाई गायक भनेर चिनाउन अप्ठयारो लाग्ने बताउँछन् । अगाडि भन्छन्, ‘अहिले पनि मेरो पेशा गीतकार तथा संगीतकार नै हो । कतै चिनाउनुपर्दा म गायक भनेर चिनाउँदिन, गीतकार/संगीतकार भनेरै चिनाउँछु ।’

आउँदा दिनमा शब्द, संगीतकै गीतहरू बढी आउने उनले बताए । ‘मेरो शब्द, संगीत रहेका ८० भन्दा बढी गीत पेन्डिङमा छन् । चलेका गायक/गायिकाहरूले ती गीत गाउनुभएको छ,’ पौडेलले भने, ‘त्यसबाहेक अन्य गीतको काम पनि गरिरहेको छु ।’

१० वर्ष सांगीतिक क्षेत्रमा संघर्ष गरिरहँदा आफूलाई कहिल्यै निराश महसूस नभएको उनी बताउँछन् ।

‘संघर्ष मलाई मिठो पल जस्तो लाग्छ । आज ती पल सम्झँदा यति धेरै आनन्द लागिरहेको छ । पछि सम्झँदा झन् आनन्द लाग्छ,’ उनी भन्छन् । संघर्ष सम्झेर दुःखी होइन खुशी हुनुपर्ने उनी बताउँछन् ।

साभार – लोकान्तार अन्लाईनबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’