सिन्धुपाल्चोक केन्द्र बिन्दु भएको ६ रेक्टरको भूकम्प-‘भूकम्प गोरखा भूकम्पकै परकम्प’


काठमाडौं, भदौ ३१ / भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।

बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरेका छन्।

‘बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ,’ उनले भने। भूकम्पको धक्काले काठमाडौं उपत्यकालाई जोडले हल्लाएको छ। भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पछि मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्प पाँच वर्षअघि गोरखा केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पकै परकम्प भएको बताएका छन् .‘आज बिहान गएको भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो,’अधिकारीले भने, ‘यो अलि ठूलो भएको कारण परकम्प होइन कि भन्ने पनि कतिपयलाई लागेको हुनसक्छ। तर, यो पनि गोरखा भूकम्पकै परकम्प हो।’

ठूला भूकम्प गएपछि परकम्प निकै लामो समयसम्म गइरहने उनले बताए। ‘परकम्प कहिलेसम्म जान्छ यकिन भन्न त सकिँदैन,’ उनले भने, ‘तर विश्वमा ठूला भूकम्प गएपछि सयौँ वर्षसम्म पनि परकम्प गएका उदाहरण छन्। हाम्रोमा गोरखा भूकम्पको परकम्प कम्तिमा पनि १० वर्षसम्म गइरहने अनुमान हामीले गरेका छौँ।’

उनले ठूलो भूकम्प गएको केही घण्टापछिदेखि सयौँ वर्षसम्म पनि परकम्प गइरहने बताए।

‘नेपालमा भूकम्पको व्यवस्थित मापन गर्ने प्रणालीको विकास करिब २० वर्षअघिबाट हुन थालेको छ। त्यसअघि नेपालमा गएका ठूला भूकम्पको परकम्प कहिलेसम्म गयो, हाम्रो रेकर्डमा छैन,’ अधिकारीले भने, ‘अब हाम्रोमा पनि व्यवस्थित मापन गर्ने प्रणालीको विकास भएको छ। त्यसैले भूकम्पको मापन पनि वैज्ञानिक ढंगले हुन थालेको छ।’उनले बुधबार बिहान गएको ६ रेक्टरस्केलको भूकम्प मध्यम खालको भएको बताए।

‘यो मध्यम खालको भूकम्प हो। सात रेक्टर स्केलदेखि माथिका भूकम्पलाई मात्रै विनासकारी मान्न सकिन्छ,’ उनले भने। पाँच वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो।

अहिलेसम्म गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका पाँच सय ४८ वटा परकम्प गइसकेका छन्। ‘गोरखा भूकम्पछि चार रेक्टर स्केलभन्दा साना भूकम्प त पचासौँ हजार गइसकेका छन्। तर, चार रेक्टर स्केलभन्दा तलका भूकम्पको खासै अर्थ हुँदैन। रेकर्ड पनि राखिँदैन,’ अधिकारीले भने।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?