सत्तापक्ष मन्त्रीपरिषद समेत बिस्तार गर्न नसकेर अलमलमा , एमालेले थाल्यो चुनावको तयारी, देशैभर भेला र बैठक

बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता

 काठमाण्डौ, भदौ ३१/‘देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकाससहित समृद्धि ल्याउन एमालेबाट मात्र सम्भव छ,’ बुधबार बुटवलमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने।

सोही कार्यक्रममा उपमहासचिव विष्णु पौडेलले भने, ‘आगामी निर्वाचनमा हामी एमालेको तागत र हैसियत देखाउँछौँ। जनताको समर्थन लिएर एमाले सरकारको नेतृत्वमा आउँछ। एमालेबाहेक अरु कसैले मुलुक बनाउन सक्दैन।’

यी भनाइले देखाउँछन्– एमालेलाई चुनावको तातो लागिसकेको छ। पाँच दलीय गठबन्धन सरकार विस्तार समेत गर्न नसकेर अलमलिइरहेको बेला एमाले भने संगठन विस्तारसँगै चुनावलक्षित गतिविधिमा केन्द्रित भइसकेको छ।

माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका केही प्रभावशाली नेताहरुले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले भदौ दोस्रो साताबाट जिल्ला भेला थालेको थियो।

ad
बुधबारसम्म ५० भन्दा बढी जिल्लाको भेला सकिएको र आगामी असोज पहिलो हप्ता ७७ वटै जिल्लाको भेला सकिने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेबाट करिब १० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन्। बाँकी कार्यकर्तालाई एकीकृत समाजवादीमा जानबाट रोक्न र गएकाहरुलाई तान्ने प्रयास भइरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए।

‘निर्वाचन अभियान ठ्याक्कै नभनौँ, अहिले संगठन विस्तार अभियान चलाएका छौँ,’ पोखरेलले नेपालखबरसँग भने, ‘तर, हामी ग्राउन्डसम्मै पुग्छौँ, कार्यकर्तालाई हाम्रा कुरा राख्छौँ।’

एमाले अध्यक्ष ओलीसहित सबै प्रमुख नेताहरु अहिले जिल्ला जिल्लामा छन्। पार्टी सचिव योगेश भट्टराई स्याङ्जा छन्। सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली गुल्मीमा छन्। अध्यक्ष ओलीले झापा, पोखरा र रुपन्देहीको बुटवलमा भएको सभालाई सम्बोधन गरे।

महासचिव पोखरेलले सबै नेताहरु जिल्ला जिल्लामा खटाइएको स्वीकार गरे।

‘विभाजनपछि पार्टीको अवस्था नबिग्रियोस् भनेर माथिदेखि तलैसम्म पार्टीलाई जोड्न नेताहरु खटाइएको हो,’ पोखरेलले थपे।

पार्टीको सम्पूर्ण ध्यान अब चुनावतिर केन्द्रित भइसकेको एक स्थायी समिति सदस्यले बताए।

‘यो सबै चुनाव केन्द्रित नै हो। अहिलेको सत्ता गठबन्धनको हालत के हो के हो, जुनसुकै बेला चुनाव हुनसक्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘अब हुने चुनावमा स्थानीय तहमै केन्द्रित हुनुपर्ने भएकाले अहिलेदेखि गतिविधि बढाइएको हो।’

केन्द्रीय सदस्य विष्णु रिजालको भनाइ पनि त्यही छ।

‘यो वर्ष स्थानीय तहको चुनाव हुँदैछ। त्यसपछि लगातार प्रदेश र केन्द्र तहको चुनाव हुन्छ,’ रिजालले भने, ‘स्थानीय तह बलियो बनाए मात्र अन्य चुनावलाई सजिलो हुन्छ।’

नेकपा एमालेले २०७४ को चुनावमा स्थानीय तहमा सबैभन्दा बढी जित हात पारेको थियो। प्रदेश र संघमा पनि एमाले ठूलो दल बन्यो। यद्यपि प्रदेश र संघको चुनावका बेला एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो।

एमाले चुनावलाई लक्षित गरेर जिल्ला र स्थानीय तहमा गतिविधि बढाउँदा अन्य दल भने अलमलमा छन्। सत्तारुढ कांग्रेस महाधिवेशनको तयारीमा छ। अन्य दलहरु सरकार विस्तारको प्रयासमा छन्।

एमाले पार्टी कार्यालयका सचिव तामाङले सदस्यता नवीकरण र नयाँ वितरण सँगैसँगै भइरहेको बताए।

माओवादी केन्द्रसँग २०७५ जेठ ३ गते एकता भएपछि पार्टी गतिविधि ठप्प भएको र त्यसलाई निरन्तरता दिएर फेरि संगठनलाई पुरानै अवस्थामा पु¥याउने प्रयास भइरहेको उनको भनाइ छ।

‘हामीले माओवादी केन्द्रसँग एकता गरेपछि संगठनात्मक गतिविधि ठप्प भयो,’ तामाङले नेपालखबरसँग भने, ‘बलियो संगठन भएको पार्टीकै गतिविधि शून्य भएपछि स्थानीय तहमा अराजकता बढ्यो। पार्टी चोइटिने अवस्था बन्यो यसलाई रोक्न र पुरानै अवस्थामा एमालेलाई फर्काउन लागेका छौँ।’

‘संगठनात्मक पद्धतिलाई परिचालन गर्ने भनेको चुनाव लक्षित नै हुन्छ, सदस्यता नवीकरण, नयाँ सदस्य थप गरेर पुरै माहोल एमालेमय बनाउने हो, यसले चुनावमा जित्न सजिलो हुन्छ,’ तामाङले थपे।

उनका अनुसार एमालेका ८ लाख सदस्य थिए। विभाजनले २ प्रतिशत मात्रै क्षति भएको उनको दाबी छ। क्षति भएको संख्यालाई समेत पूर्ति हुनेगरी ५ लाखलाई नयाँ सदस्यता वितरण गर्ने काम पनि भइरहेको छ।

तामाङ भन्छन्, ‘एमालेबाट केही नेताहरु गए पनि हामीलाई २ प्रतिशत भन्दा बढी क्षति पुगेको छैन। अब त्यसलाई पनि पुरा गर्नेगरी ५ लाख नयाँ सदस्यता थप गर्छौँ।’

असोजको १५, १६ र १७ मा विधान अधिवेशन तय गरेको एमालेले कात्तिक ७ गते सबै ६ हजार ७ सय ४३ वडाको अधिवेशन गर्दैछ।

यस्तै कात्तिक ९ गते ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको केन्द्रीय सदस्य रिजालले बताए।

त्यसो त जिल्ला भेलामा बोल्ने एमालेका नेताहरुले पार्टीभित्र देखा परेको संकटका विषयमा भन्दा बढी आफ्नो सरकारले गरेका कामहरुको प्रचार गरिरहेका छन्। पूर्णकाल सरकार चलाउन नपाउँदा जनताको काम गर्न नपाएको भन्दै पार्टीको बचाउ गरिरहेका छन्।नेपालखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’