३५ वर्ष हाराहारीका पाँच महिलाले हाँकेको मुलुक

हेलसिंकी/प्रधानमन्त्रीको कार्यालयबाट मात्र दुई सय मिटर टाढाको हाउस अफ स्टेट्समा एउटा महत्वपूर्ण बैठकको तयारी चल्दैछ। सरकारको महत्वाकांक्षी ‘समानता कार्यक्रम’ सम्बन्धी सो बैठकको अध्यक्षता प्रधानमन्त्री सन्ना मारिनले गर्दैछिन्।

प्रधानमन्त्री मारिन सानातिना गफगाफ गर्ने मुडमा देखिन्नन्। उनी हनिमुनपछि भर्खरै काममा फर्केकी हुन्।

महामारीका बीच अचानक गत अगस्टमा उनले विवाह गरेकी थिइन्। उनका पति मार्कस राइकोनेन पूर्व फुटबल खेलाडी हुन्। उनीहरु १६ वर्षदेखि सँगै बस्दै आएका छन्। उनीहरुकी छोरी एम्मा दुई वर्ष पुगिसकेकी छन्।

मारिनले विवाहको फोटो इन्स्टाग्राममा पोस्ट गरेपछि त्यसले निकै ठूलो चर्चा पायो। त्यसअघि पनि उनले बच्चालाई स्तनपान गराइरहेको फोटो निकै चर्चित बनेको थियो। विवाहपछि फिनल्यान्डकै नाम नखुलाइएको स्थानमा उनीहरु हनिमुनमा गएका थिए।

बैठक भवनबाहिर दर्जन हाराहारी पत्रकार भेला भएका छन्।

‘उनीहरुलाई के भन्ने, मैले केही तयारी गरेकी छैन,’ महिला बडिगार्डहरुको अघिअघि पत्रकारको भीडनजिक पुग्दै गर्दा मारिनले भनिन्, ‘म उनीहरुले सोधेको सबै प्रश्नको सोझो उत्तर दिनेछु।’

यो साता सायद तपाईंलाई व्यक्तिगत जीवनबारे धेरै प्रश्न सोधिएला कि?

‘अहँ। उनीहरु मुद्दाबारे जान्न इच्छुक छन्। धेरै विषय छन् त्यस्ता,’ उनी उत्तर दिन्छिन्, ‘व्यक्तिगत प्रश्न सोधेपनि अन्तिमतिर सोध्लान्।’

sanna marin 3
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मारिन

केही पत्रकारले मास्क लगाएका थिए। केहीले लामो बुम माइक समातेका थिए। मारिन पत्रकारका अघिल्तिर उभिएपछि सबैजनाको ध्यान उनीतिरै सोझियो। यो बैठकमा आइपुग्ने उनी पहिलो नेतृ थिइन्। र, मारिनको अनुमान सही निस्क्यिो– फिनल्यान्डका सञ्चारमाध्यमले उनलाई मुद्दासम्बन्धी प्रश्न मात्र सोधे।

चार घण्टापछि बैठक सकियो। उनी पुनः बाहिर निस्किन्। बैठक स्थलबाट बाहिरिने उनी अन्तिम नेतृ थिइन्।

डिसेम्बर २०१९ मा मारिनको पहिलो फोटो भाइरल भएको थियो– प्रधानमन्त्री बनेको पहिलो दिनको। ३४ वर्षमै सत्ता सम्हाल्न पुगेकी फिनल्यान्डकी कान्छी प्रधानमन्त्री मारिन गठबन्धनका अरु राजनीतिकर्मीहरुसँगै मुस्कुराएर उभिएकी थिइन्। ती सबै महिला थिए। फोटो सार्वजनिक गरिएको दिन पाँच पार्टीका पाँच नेतृमध्ये एक जना मात्र ३४ वर्षमाथिकी थिइन्।

आफ्नो मन्त्रिपरिषदका सदस्यहरुमाझ उभिएर त्यसबेला मारिनले फोटोग्राफरहरुको भीडलाई सम्बोधन गरेकी थिइन्। उनले आफू युवा पुस्ताको प्रतिनिधि भएको बताइन्। ‘हामी फिनल्यान्डबासी को हौँ भनेर विश्वलाई देखाउने अवसर हो यो,’ उनले भनिन्।

उनको सन्देश परम्परागत राजनीतिक वृत्तभन्दा बाहिरसम्म पुग्यो। विश्वभरका सञ्चारमाध्यममा थरीथरीका हेडलाइन देखिए।

‘फिनल्यान्डमा नारीवाद हुर्कियो’, ‘फिनल्यान्डको संसद्ः लैंगिक समानताको अग्रदूत’, ‘महिला शासनः जसको प्रतीक्षामा हामी थियौँ’।

थुप्रै महिलाद्वेषी मिमहरु पनि बनाइए।
****

फिनल्यान्डमा धेरै तरिकाले यस्तो गठबन्धनका लागि परिपक्व परिस्थिति बनिसकेको थियो। यदि कुनै मुलुक ‘फेमिनिस्ट उटोपिया’ बन्नेवाला थियो भने त्यो फिनल्यान्ड नै थियो।

सन् १९०६ मा फिनल्यान्ड महिलालाई मताधिकार र संसदीय अधिकार दिने विश्वकै पहिलो मुलुक बनेको थियो। धेरैजसो पश्चिमा मुलुकहरुले पहिलो विश्वयुद्धको अन्त्यपछि मात्रै महिलालाई यी अधिकार दिए। त्यसको अर्को वर्ष १९ महिला संसदमा चुनिए।

सन् २००० मा फिनल्यान्डले पहिलो महिला राष्ट्रपतिमा तारिया हलोनेनलाई निर्वाचित गर्‍यो। २००३ मा अन्नेली अतेनमकी पहिलो महिला प्रधानमन्त्री बनिन्।

Sanna-Marin-Finland-PM.jpg

२०१९ को अन्तिममा मारिन प्रधानमन्त्री बन्ने उनको सोसल डेमोक्रेटिक पार्टीले निर्णय गर्‍यो। त्यससँगै उनी मुलुकको सबैभन्दा कान्छी नेतृ बन्न सफल भइन्। उनी प्रधानमन्त्री बनेको करिब तीन महिनापछि नै ११ मार्चका दिन विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषित गर्‍यो। तर, भाइरस फिनल्यान्ड आइपुग्दा मारिन र उनको सरकार तयार थियो।

मार्च १६ सम्ममा फिनल्यान्डले आवतजावतमा प्रतिबन्ध लगाइसकेको थियो। त्यति मात्र होइन, सरकारले संकटनकालीन कानुन पनि लागू गरेको थियो, जुन यसअघि दोस्रो विश्वयुद्धमा लागू गरिएको थियो। यो कदमको सञ्चारमाध्यममा आलोचना भयो। तर, नागरिकले सरकारलाई समर्थन गरे।

सरकारले जनतालाई स्पष्ट सन्देश दिएको थियो– सम्भव भएसम्म घरैमा बस। सामान्य लक्षण देखिएकाहरुलाई परीक्षणका लागि प्रेरित गरियो। ल्याब, डाक्टर र क्लिनिकहरुबीच योजना बनाउन बारम्बार अनलाइन बैठक राखियो। सन्ना मारिन र उनका चार शीर्ष मन्त्रीले साप्ताहिक रुपमा कोरोना भाइरस ब्रिफिङ राखे। जसमा नागरिक र सञ्चारमाध्यम दुवैले प्रश्न सोध्न पाउँथे। एक मन्त्री बालबालिकाको प्रश्न लिन मात्र खटिएका हुन्थे।

यसबाट मारिनको प्रशंसा भयो। ताइवान, जर्मनी र न्युजिल्यान्डका महिला प्रधानमन्त्रीकै कोटीमा उनलाई पनि राखियो। जसका कारण केहीले संकट समाधानमा महिला नेतृत्व बढी सक्षम भएको तर्क समेत अघि सारे।

‘पुरुषको नेतृत्वमा पनि राम्रो काम गरेका मुलुक छन्,’ मारिनले बीबीसीसँग भनिन्, ‘त्यसैले यो लैंगिकतामा आधारित विषय होइन भन्ने मलाई लाग्छ। मलाई लाग्छ, राम्रो गर्ने मुलुकले के सिके, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ।’

saarikko_annika_7209.jpg
उपप्रधानमन्त्री तथा सेन्टर पार्टीकी नेतृ अन्निका सारिक्को

५५ लाख जनसंख्या भएको फिनल्यान्डमा हालसम्म ३७० जनाले ज्यान गुमाएका छन्। प्रतिदश लाख ६० जनाको मृत्यु भएको छ। बेलायतको मृत्युदर १० गुणा बढी छ।

‘फिनल्यान्डमा हामीले सिकेको कुरा के हो भने वैज्ञानिकहरुको कुरा सुन्नु निकै महत्वपूर्ण छ। जसले उपलब्ध जानकारीलाई प्रयोग गरेर अनिश्चितताका बीच ठूलो निर्णय लिन सघाउँछ,’ मारिन भन्छिन्, ‘हाम्रो समाज विश्वासमा आधारित छ। जनताले सरकारलाई विश्वास गर्छन्। उनीहरु लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छन्।’

तर, ३३ वर्षीया उपप्रधानमन्त्री तथा सेन्टर पार्टीकी नेतृ कातृ कुलमुनीले एउटा विवादमा राजीनामा दिएपछि गठबन्धनलाई धक्का लाग्यो। भाषणकला सिक्दा उनले सरकारी कोषको रकम तिरेको खुलासा भएको थियो। सेप्टेम्बरमा उनको स्थान ३७ वर्षीया अन्निका सारिक्कोले लिइन्।

सार्वजनिक रुपमा गठबन्धन एकताबद्ध देखिएपनि नेतृहरुबीच असमझदारी थियो।

‘कुनै पनि पार्टीले आफूखुसी गर्न मिल्दैन,’ शिक्षामन्त्री तथा लेफ्ट अलायन्स पार्टीकी ३३ वर्षीया नेतृ ली आन्डरसन भन्छिन्, ‘कहिलेकाहीँ यस्ता मुद्दा आइपर्छन्, जसमा बन्द ढोकाभित्र हामीले सम्झौता गर्नुपर्ने हुन्छ। कतिपयले भन्ने गर्छन्– सबै महिला हुँदा खास किसिमको नीति बन्ने गर्छ अथवा तिमीहरुबीच सहमति कायम गर्न सहज हुन्छ। तर, यस्तो हुँदैन।’

पाँच महिलाले नयाँ गठबन्धन सरकार गठन गरेको एक वर्ष पुग्न लाग्दैछ।
****

किशोरावास्थामा मारिनले कुनै दिन आफू पति र दुई वर्षीया छोरीको साथमा प्रधानमन्त्री निवासमा बसौँला भन्ने कहिल्यै सोचेकी थिइनन्।

‘राजनीति र राजनीतिक नेताहरु धेरै परका कुरा लाग्थे मलाई। त्यसभन्दा बिल्कुल अलग दुनियाँमा म बाँचिरहेकी थिएँ,’ मारिन भन्छिन्।

उनले सन् २०१६ मा आफ्नो ब्लगमा लेखेकी थिइन्, ‘अरु थुप्रै फिनल्यान्डबासीजस्तै मेरो परिवार पनि दुखद् कथाले भरिपूर्ण छ।’

Li_Andersson_2.jpg
शिक्षामन्त्री तथा लेफ्ट अलायन्स पार्टीकी नेतृ ली आन्डरसन 

फिनल्यान्डको दक्षिण–पश्चिममा पर्ने सानो सहर पिर्कालामा उनकी आमा र आमाकी केटी साथीले मारिनलाई हुर्काएका थिए। जसलाई उनी ‘इन्द्रेणी परिवार’ भन्छिन्। यद्यपि उनको परिवारले सधैँ आर्थिक दबाब खेप्नुपर्‍यो। उनकी आमा अनाथलयमा हुर्केकी थिइन्। उनका पिता अल्कोहलिक थिए। आमाबुबाको सम्बन्धविच्छेदपछि मारिन सरकारी सुविधाको भरमा बाँचेकी थिइन्। सानै उमेरदेखि मारिनले काम गर्न थालेकी थिइन्।

स्कुलमा उनको प्रतिभाको कुनै संकेत थिएन। पिर्कला हाइस्कुलका उनका शिक्षक पासी कर्विनेन मारिनलाई ‘औसत विद्यार्थी’ मान्छन्। तर, १५ वर्षको उमेरमा आफ्नो ग्रेड सुधार्न उनले अतिरिक्त गृहकार्यको माग गरेकी थिइन्।

२० नाघेपछि बल्ल राजनीतिक जागरण उत्पन्न भएको उनी बताउँछिन्। जतिबेला आफ्नो मात्र होइन, आफू वरिपरिका मानिसहरुको स्थितिमा पनि सुधार ल्याउन सकिन्छ भनेर उनले सोच्न थालिन्, तब उनको राजनीतिमा चासो जाग्न थाल्यो।

मारिनको सरकारको समानता कार्यक्रमको उत्प्रेरणा पनि यही हो। यो कार्यक्रममा बालबच्चाको हेरचाहको जिम्मेवारी दुवै अभिभावकले बराबर बाँड्न प्रेरित गर्ने, घरेलु हिंसा रोक्ने, ज्याला/तलबमा रहेको लैंगिक भेद हटाउने, गरिब र आप्रवासीहरु बालबच्चाको शिक्षाको स्तर वृद्धि गर्ने लगायत नीति समेटिएका छन्।

यससँगै लिंग परिवर्तनसम्बन्धी कानुनमा पनि सुधार गरिँदैछ।

‘आफ्नो पहिचान निर्धारणको अधिकार हरेकलाई हुनुपर्छ,’ मारिन भन्छिन्।

लैंगिक पहिचानसम्बन्धी खुल्लमखुल्ला यस्तो मत राख्ने सायद उनी पहिलो सरकार प्रमुख हुन्।

यसअघि पनि सो कानुन परिवर्तनका प्रयास भएका थिए। तर, कट्टरपन्थीहरुको दबाबपछि उनीहरु पछि हट्न बाध्य भएका थिए।

महामारी रोकथाममा सफलता प्राप्त गरेपछि मारिनको लोकप्रियता चुलिएको छ। अप्रिलमा ८५ प्रतिशतले उनको समर्थन गरेका थिए। यद्यपि आफूले सर्वेक्षणहरुलाई ध्यान नदिने उनी बताउँछिन्।

maria_ohisalo_1.jpg
ग्रिन लिग पार्टीकी नेतृ मारिया ओहिसालो

उनको आलोचना पनि हुँदै गरेको छ। ब्ल्याक लाइभ्स म्याटर भन्दै विश्वभर प्रदर्शन भइरहेका फिनल्यान्डका केही अश्वेतले सामाजिक सञ्जालमा यो विषय उठाएका थिए। उनको समानता कार्यक्रमले असमानताका अनेकौँ स्वरुपलाई सम्बोधन गरेपनि रङका आधारमा हुने विभेदलाई त्यसले समेट्न सकेको थिएन।

काउन्सिल अफ युरोपको सन् २०१९ को एक रिपोर्टअनुसार अफ्रिकी मूलका ६३ प्रतिशत व्यक्तिले फिनल्यान्डमा नियमित जातीय दुर्व्यवहार भोग्ने गरेको देखाएको थियो। यो युरोपकै उच्च दर हो। यतिबेला देशको संसदमा काला जातिबाट एक मात्र सांसद छिन् बेल्ला फोर्सग्रेन।

फिनल्यान्डको ग्रिन लिग पार्टीकी ३५ वर्षीया नेतृ मारिया ओहिसालो सरकारले सार्वजनिक जीवनमा विविधता बढाउन थप काम गर्नुपर्ने बताउँछिन्।

‘अन्ततः पाँच शिक्षित श्वेत महिलाको समूह खासै प्रतिनिधित्वमूलक होइन। वास्तविक समानता नै खोज्ने हो भने त्यो अझै देखिँदैन,’ उनी भन्छिन्।

‘निश्चय नै हाम्रो पृष्ठभूमिले हाम्रो जीवनका सम्भावनाहरुलाई प्रभावित तुल्याउँछ। तर, त्यस्तो हुन नहुने हो,’ मारिन भन्छिन्, ‘तर, यो समस्या समाधान गर्ने जिम्मा मेरो मात्र होइन। बरु सबै फिनल्यान्डबासीको हो।’

आफ्नो समानता कार्यक्रमले जातीय अल्पसंख्यकहरुको अवस्थामा सुधार ल्याउनेमा उनी जोड दिन्छिन्।

‘यो कार्यक्रमलाई यथार्थमा बदल्न हामी सबैले आआफ्नो ध्यान केन्द्रित गर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रधानमन्त्रीका रुपमा मेरो मिसन यही हो।’

(बीबीसीबाट)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?