विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा

पर्वत /पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय २०७५ सालमा गाभिने तयारीमा थियो। विद्यार्थी अभावमा शिक्षक कामविहीन बनेपछि फलेवास नगरपालिकाले विद्यालय ‘मर्ज’ को तयारी गरेको थियो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षक र समुदायमा यसरी ऊर्जा दियो की उनीहरू सबैको मनमा विद्यालय बनाउने जोश आयो। सबै लागेपछि नगरपालिकाले पनि विद्यालय सुधारको एक मौका दियो। त्यही वर्षबाट दौडको मैदानमा उत्रिएका उनीहरूले विद्यालय जोगाएनन् मात्रै, जिल्लामै हेर्नलायक बनाए।

‘मर्ज’ को तयारीमा रहेको बेलामा विद्यालयको खातामा तीन हजार रुपैयाँ मात्र थियो। विद्यार्थी संख्या पनि १०/१२ जना मात्रै। शिक्षक र समुदायको सक्रियता देउसी खेलेर उठाएको र अरू स्रोतबाट आएको सहित गरी अहिले विद्यालयको खातामा २० लाख रुपैयाँ जम्मा भइसकेको छ। विद्यार्थी संख्या ११५ रहेको छ।

विद्यालयमा एकाएक परिवर्तन आउनुमा धेरै कारण छन्। तीमध्येको एउटा हो अघिल्लो शैक्षिक सत्र देखि कार्यान्वयनमा आएको आकस्मिक र पर्व बिदाको भत्ता प्रदान कार्यक्रम। विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सकेमा विद्यार्थीले विद्यार्थी खोज्दै हिँड्नु नपर्ने विश्वास विद्यालयको छ। विद्यालय राम्रो बनाए विद्यार्थी आफैँ आउने भएकोले विद्यालयले शिक्षकहरूलाई नियमित उपस्थिति बनाउने रणनीति अवलम्बन गर्‍यो।

विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलका अनुसार अघिल्लो शैक्षिक सत्रको सुरुवातमा विद्यालय व्यवस्थापन समितिको बैठकबाट भइपरी आउने र पर्वत बिदा सञ्चित गर्ने शिक्षकलाई एक दिनको ५०० रुपैयाँका दरले भत्ता दिन थालिएको छ। शिक्षा नियमावली, २०५९ को परिच्छेद १९ को नियममा १०६ मा शिक्षकले पाउने बिदाबारे उल्लेख छ।

एक वर्षमा बढीमा छ दिन भईपरी र छ दिन नै पर्व बिदा लिन सक्ने भनिएको छ। गहते अम्बोटले यिनै बिदाको सञ्चित गर्ने शिक्षकलाई एक दिनको बिदाको ५०० रुपैयाँका दरले भत्ता उपलब्ध गराएर शिक्षकलाई नियमित विद्यालय आउन प्रोत्साहन गरिरहेको छ। यो वर्ष सबैभन्दा बढी बिदा सञ्चित गरेका लक्ष्मी सुवेदी, राजु खनाल र मोती च्वाइँलाई विद्यालयले औपचारिक कार्यक्रम नै आयोजना गरेर भत्ता वितरण गरेको छ।

‘भत्ता पाइन्छ नै भनेर मात्रै त नियमितता हुँदैन होला। हाम्रा शिक्षक विद्यालय र बालबालिकाप्रति पूर्ण जिम्मेवार भएकाले सुविधाको नाममा बिदा उपयोग गर्न जोड गर्नुहुन्न। त्यसमा पनि यो भत्ता दिने व्यवस्था गरियो भने उहाँको जिम्मेवारीमा प्रोत्साहन थपिन्छ भन्ने हो’, प्रधानाध्यापक पौडेल भन्छन्, ‘उहाँहरू तीन जना सबैभन्दा धेरै बिदा सञ्चित गर्नेहरू हुनुहुन्छ। अरू पनि लगभग सबैजसोको बिदा सञ्चित भएको छ। विद्यालयले धेरै राम्रा अभ्यास गरिरहेकाले विद्यार्थी बर्सेनी बढिरहेका छन्।’

शिक्षकलाई खाजा

सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय जिल्लामा सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो। कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा १३ सय भन्दा बढी विद्यार्थी छन्। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन गर्दै आएको विद्यालयका कक्षा छ र सातमा दुई/दुई तथा ८, ९ र १० मा ३/ ३ सेक्सन छन्।

गत वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा प्राप्त गरेको यो विद्यालयमा पनि अधिकांश शिक्षकको भईपरी आउने र पर्व बिदा सञ्चित हुने गरेको छ। शिक्षक नियमित विद्यालयमा आउँदा विद्यार्थीको अध्ययनको लय एकै रफ्तारमा अगाडि बढ्ने भएकाले विद्यालयले शिक्षकहरूलाई खाजा भत्ता दिँदै आएको छ। विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलका अनुसार विद्यालय बन्द रहेको दिन कटाएर खुलेको दिनमा विद्यालयमा उपस्थित हुने शिक्षकले दैनिक १०० रुपैयाँ पाउने गरेका छन्।

गत शैक्षिक सत्रबाट लागू भएको यो कार्यक्रमले शिक्षकहरूलाई प्रोत्साहन गरेको र शिक्षकहरूलाई नियमित पनि बनाएको पोखरेलले बताए। ‘खाजाकै लागि शिक्षक विद्यालय आउने भन्ने त होइन तर यसले नियमिततालाई प्रोत्साहित गरिरहेको छ। पोहोर मात्रै होइन विगतका वर्षमा खाजा वा अरू सुविधा नहुँदा पनि शिक्षकका भईपरी आउने र पर्व बिदा खर्च नभइरहेको अवस्था छ’, उनले भने, ‘विद्यालयले हाम्रा लागि यसरी लगानी गरिरहेको छ है भन्ने भएपछि शिक्षकमा पनि ऊर्जा मिल्छ। शिक्षकहरूको नियमितताकै कारण हामीले विद्यालयलाई यो उचाइमा पुर्‍याउन सकेका छौँ।’थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’