पर्वतमा पनि देखियो ‘लम्पी स्किन’, फलेवासमा संक्रमण बढ्दै
पर्वत : पछिल्लो समय पशुमा महामारीको रूप लिएको ‘लम्पी स्किन’ रोग पर्वतमा पनि फैलिएको पाइएको छ।
गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगरा स्थित सिरुबारीका एक कृषकले पालेको गोरुमा ‘लम्पी स्किन’ देखिएको थियो। फलेवास नगरपालिकाको पशु विकास शाखाका प्रमुख प्रताप पौडेलका अनुसार त्यो गोरुलाई ‘आइसोलेसन’सहित निगरानीमा राखेर उपचार गरेपछि निको भएको थियो।
दोस्रो पटक गत वैशाख १८ गते फलेवास–६ देवीस्थानमा पालिएको एउटा ब्याउने गाईमा ‘लम्पी स्किन’ देखा पयो। उक्त गाईलाई पनि उच्च निगरानी सहितको ‘आइसोलेसन’ मा राखेर उपचार जारी राखेपछि अवस्थामा सुधार आएको छ। देवीस्थानपछि वडा नं. १० कुर्घा र वडा नं. ३ शंकरपोखरीमा पनि यो महामारीबाट ग्रसित गाई र गोरु देखा परेका छन्। पछिल्लो समयमा फलेवासमा मात्रै ९\१० ओटा पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको शाखा प्रमुख पौडेलले बताए। नेपालमा दुई वर्षअघि पहिलो पटक यसको संक्रमण देखिएकोमा पर्वतमा पहिलो पटक देखिएको हुन सक्ने पशु प्राविधिक बताउँछन्। गाई र भैँसी दुवै संक्रमणको बराबर जोखिममा हुने भए पनि फलेवास नगरपालिकामा भने हालसम्म भैँसीमा संक्रमण देखिएको छैन।
संक्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा विभिन्न माध्यमबाट संक्रमण फैलिने जोखिम रहेको तर कृषकले यसमा त्यति ध्यान नदिएका कारण ‘लम्पी स्किन’ महामारीको रूपमा फैलिन सक्ने उनले बताए। ‘लम्पी स्किन एक भाइरल प्रकारको छाला रोग हो। यसले गाईबस्तुलाई असर गर्छ। यो रगत खुने कीराहरू झिँगा, लामखुट्टे, डाँस, लगायतको टोकाई, र्याल लगायतबाट फैलिन्छ’, पौडेलले भने, ‘यसले छालामा नराम्रो असर त पार्छ नै जनावरमा ज्वरो पनि आउँछ। समयमै उचित उपचार हुन नसके पशुको मृत्यु पनि हुन सक्छ। विशेषगरी जनावरहरूमा जो पहिले भाइरसको सम्पर्कमा आएका थिएनन् तिनीहरू बढी जोखिममा हुन्छन्।’
बस्तु चराउन लैजाने, सार्वजनिक रूपमा छोड्ने गर्दा महामारी झनै फैलिने भएकाले सङ्क्रमित पशुलाई ‘आइसोलेसन’ मा राख्नुपर्ने प्राविधिकको सुझाव छ। संक्रमणबाट जोगाउनुपर्ने बेलामा एक पशुबाट अर्कोमा संक्रमण सार्ने गरी चराउन लैजाँदा जोखिम बढी देखिएको छ।
कृषकहरूले पशु, जग्गा, कृषिलाई कम महत्त्व दिँदै प्राथमिकतामा नराख्दा फलेवास सहित नेपालकै अवस्था पनि उस्तै रहेको शाखा प्रमुख पौडेलले बताए। ‘खेतीपाती र पशुपालनलाई कसैले पनि धेरै प्राथमिकतामा राखेको अवस्था छैन। नेपालभरिकै अवस्था यो हो भने फलेवासको पनि अवस्था उही हो’, उनले भने, ‘कृषकको प्राथमिकतामा पशु नपर्दा उनीहरूले स्याहार नपाउने, गोठ सफा नहुने लगायतका कारण रोग बढेको छ। किरा, फट्याङ्ग्रा, लामखुट्टे, झिँगा, डाँस लगायतका माध्यमबाट एक पशुबाट अर्को पशुमा प्रसारण हुन्छ। रगत चुस्ने किराको माध्यमबाट सरिरहेको छ। पर्वतको लगभग सबै क्षेत्र र पालिकामा लगभग देखिइसकेको अवस्था छ।’
‘लम्पी स्किन’ को संक्रमण भएपछि छालामा ५० एम.एम सम्मको मासुको डल्ला बन्ने, डल्ला बढेर घाउ बनेपछि फुट्ने हुन्छ। मासुको डल्ला बेस्सरी चिलाउने र त्यो बेलामा पशुले जिब्रोले कन्याउँदा खस्रो जिब्रोका कारण घाउ खुइलिएर फुट्ने गरेको देखिएको छ। पशु विकास शाखाका प्रमुख पौडेलका अनुसार ‘लम्पी स्किन’ प्रभावित पशुहरूको उपचार चलिरहेकोले रगत धेरै बग्न भने पाएको छैन। घाउ देख्दासाथ एन्टिबायोटिक प्रयोग गरिरहेका कारण अवस्था नियन्त्रित रहेको उनको भनाइ छ।
‘पशुहरूको लागि यो एकदमै पीडादायी हुन्छ। सुरुको अवस्थामा खुट्टा र घाँटी सुन्निने हुन्छ। कृषकले पनि लम्पी स्किन हो भन्ने अनुमान गर्न सक्नुहुन्न। जसका कारण सुन्निएको औषधि खुवाउने वा प्राविधिकलाई नदेखाउने पनि देखिएको छ’, उनले भनेका छन्, ‘सुरुवाती लक्षणको रूपमा घाँटी र खुट्टा नै सुन्निन्छ। शुरुको अवस्थामा शरीरमा फोकाहरू देखिँदैन। फोका देखिइहालेमा त लम्पी स्किन हो भने अनुमान गर्न सकिहालिन्छ। कृषक झुक्किएका कारण सँगै रहेका पशुलाई आइसोलेसनमा राखिएको छैन। जसका कारण थाहा नपाइकनै यसको संक्रमण बढेको छ। बिरामी पशु सँगै भयो भने अरूमा सरिहाल्छ।’
अहिलेसम्म मानिसमा भने नसरेको ‘लम्पी स्किन’ को प्रभाव साना पशुमा भने देखिएको छैन। ठुला पशुमा भन्दा साना पाडा पाडी, बाच्छामा झनै कडा रूपमा लक्षण देखा पर्ने भए पनि फलेवास नगरपालिकामा भने साना पशुमा नदेखिएको हो। ‘लम्पी स्किन’ पीडित ठूला पशु राखिएकै गोठमा राखिएका साना पशुमा प्रभाव नदेखिएको भए पनि जोखिम भने रहने छ।
नगरपालिकाका विभिन्न स्थानमा संक्रमण देखिएको र यो बढ्न सक्ने सम्भावना रहेकोले फलेवास नगरकार्यपालिकाले रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्ने भनेर निर्णय गरेको नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए। रोग नियन्त्रणमा लिन प्राविधिक औषधीसहित खटिरहेको भन्दै उनले व्यावसायिक फर्म र दूध सकलन गर्ने क्षेत्र बढी सजगता अपनाउन आग्रह गरे।
थाहाखबरबाट