फलेबास नगर अस्पताल तीन बर्ष देखि शिलन्यासमै सिमित


पर्वत : ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।

तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले नगर अस्पतालको भवन शिलान्यास गरेका थिए। अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन्। घडेरी सम्याउन समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति लिन सकेको छैन।

खनिएकै घडेरीका कारण अहिले भइरहेको देवीस्थान स्वास्थ्यचौकीको भवनसमेत जोखिममा परेको छ। अस्पताल भवन निर्माण त परै जाओस् भइरहेको स्वास्थ्यचौकीको भवन जोगाउन नाली खन्ने काम भइरहेको फलेवास वडा नं ६ का अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए। घडेरी खन्ने क्रममा त्रुटि भएकाले समस्या भएको उनले बताए।

साविकको भवन जोगाउन रोकथाम गर्न थालिएको छ। घडेरी खन्ने नाममा अनावश्यक खर्च गरिएको छ। वडा नं. ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १४ शय्याको अस्पताल निर्माण गर्न थालिएको थियो। निर्माण व्यवसायी र प्राविधिक सबैको मिलेमतोमा कमजोरी भएको जनप्रतिनिधिले नै बताउने गरेका छन्। अस्पतालको घडेरी सम्याउँदासमेत २० लाख रुपैयाँभन्दा बढी खर्च भएको नगरका आर्थिक संयोजक मानबहादुर कुँवरले बताए। ‘डीपीआर’समेत नगरी खनिएको घडेरीमा चाहिनेभन्दा बढी ढुंगा–माटो निकालिएपछि समस्या भएको उनको भनाइ छ।

नगर अस्पतालको निर्माण अघि बढाउन अहिले पनि कुनै पहल भएको छैन। तत्कालीन सरकारले एक पालिका एक आधारभूत अस्पताल बनाउने निर्णयसँगै सुरु भएको अस्पताल निर्माणले गति नलिँदा स्थानीय चिन्तित बनेका छन्। नगरका प्रवक्ता अच्युत तिवारीले अस्पतालको काम अघि बढाउनेबारे कार्यपालिकामा छलफल भइरहेको जानकारी दिए। सोही ठाउँमा बनाउने वा अन्यत्र जग्गा व्यवस्थापन गरेर बनाउनेबारे आवश्यक निर्णय गरेर अघि बढ्ने तयारी भएको उनले बताए।

स्थानीय राजकुमार क्षेत्रीले अस्पताल बनाउने नाममा अनावश्यक खर्च गरिएको आरोप लगाए। जमिनको भौगोलिक अवस्था कमजोर भएकाले अस्पताल बन्न नसकेको उनको भनाइ छ। नगर अस्पताल निर्माणका लागि संघीय सरकारले १० करोड ६३ लाख विनियोजन भएको भए पनि काम हुन नसक्दा बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’