२४ वर्षमै राजस्व अधिकृत बनेका पर्वतका मौसम भुसालको प्रेरक कथा

काठमाण्डौ /मानिस जे हुन खोज्छ, त्यो हुँदैन । जे चाहन्छ, त्यो पाउँदैन । जे पाउँछ, त्यो उसले सोचेकै हुन्न ।

भनिन्छ, सबै कुरा मान्छेले चाहेर मात्र हुँदैन, भाग्यमा पनि लेखिएको हुनुपर्छ। महाभारतमा अर्जुनले कृष्णलाई त्यसै भनेका होइनन्, ‘कर्म गर तर फलमा आशक्त नहऊ’।

त्यसो त यसलाई केहीले ‘कर्म गर तर फलको आशा नगर’ भन्ने अर्थ पनि लगाउँछन्। नेपालका पूर्वमुख्य सचिव लिलामणि पौडेल पनि उक्त भनाइको वास्तविक व्याख्या कर्म गर तर फलमा आशक्त नहऊ भन्ने रहेको स्वीकार्छन्। हो, यस्तै अवस्थाबाट गुज्रिएर पछिल्लो समय युवा राजश्व अधिकृत बनेका छन् पर्वतका मौसम भुषाल।

उनी निष्ट कलेजबाट विज्ञान सङ्कयायमा प्लस टु गरेर भारतको भिसभेसभार्या टेक्नोलोजिकल युनिभर्सिटीबाट सन २०२१ मा मेकानिकल इञ्जिनियरिङ्ग विषयमा स्नातक (ब्याचलर), त्यो पनि गोल्ड मेडलिस्ट हुन् । भुषालले सायदै सोचेका थिए, नेपाल फर्किएर २४ वर्षको उमेरमा उत्कृष्ट दश भित्र कायम रहँदै नेपाल सरकारको सातौँ तहको राजश्व अधिकृतमा नाम निकालौँला भनेर । तर भइदियो त्यस्तै ।

मेकानिकल इञ्जिनियरिङ्ग सके लगत्तै भारतको प्रतिष्ठित अटो मोबाइल कम्पनी लोर्सेन एण्ड टोर्बोमा उनले काम पनि नपाएका होइनन्। तर त्यहाँ उनी रमाउन सकेनन् । आफ्नै घर नेपाल फर्किए। अनि सिधा हानिए आफूलाई प्रत्येक पाइलामा साथ दिने साईंलो दाईलाई भेट्न नवलपुरको कावासोती।

सामान्य परिवारमा हुर्के-बढेका उनलाई साईंलो दाईले छिमेकी अङ्कल विजय भुषाल (जो अहिले घरेलु प्रवद्र्धन केन्द्रमा उपसचिव तहमा कार्यरत छन्) को उदाहरण दिँदै जे जस्तो भए पनि लोकसेवा लडेरै सरकारी जागिरमा जोडबल गर्न सुझाव दिए।

त्यहाँबाट उनी काठमाडौँ हानिए। नयाँ र ठूलो सहर काठमाडौँमा उनका सङ्घर्ष पनि उत्तिकै नयाँ र ठूला बने। बुवा सरकारी शिक्षक, एक दाजु भारतीय आर्मी, एक दाजु पोर्चुगल, र अर्का दाजु व्यवसायी रहेका सामान्य परिवारका कान्छा भुषाललाई काठमाडौँको बसाइ धेरै सहज रहेन।

बाँच्नको लागि धेरै सङ्घर्ष गर्ने क्रममा उनी धेरै ठाउँमा जोडिए। कतै खुसी मिल्यो, कतै हन्डर र ठक्कर खाए। तर आफ्नो परिवार र विशेषगरी साईंलो दाईको हौसलामा नाइस इन्स्टिच्युटका गजेन्द्र भट्टराइ र प्रविन तिवारीको साथले आजको गन्तव्यमा पुग्न सफल भएको उनी सुनाउँछन्। भुषाल यसको श्रेय पनि उनीहरुलाई दिन चाहन्छन्।

परिवारको पनि चाहना जोडिएकाले आफूले दिनरात नभनी लोकसेवाको तयारी गरेको र मिहिनेत गर्ने पुरानै बानी रहेकाले पहिलो प्रयासमै लोकसेवामा उत्कृष्ट १० मा पर्नेगरी नाम निकाल्न गाह्रो नभएको उनको अनुभव छ।

राजश्व अधिकृत नै किन ?

उनी साइन्स पृष्ठभूमिको भए पनि अर्थ तथा कूटनीतिमा चासो रख्थे । त्यसैले उनले अर्थ मातहतमा रहेको राजश्व रोजे । अर्थतन्त्र र कूटनीति परस्पर सम्बन्धका विषय भएकाले र यी दुवै विषय कुनै पनि स्वतन्त्र राज्यका लागि महत्त्वपूर्ण हुने आफ्नो बुझाइ रहेकाले राजश्व अधिकृत पहिलो रोजाइमा परेको उनको भनाइ छ।

थप जानकारी, ज्ञान र अनुभव सङ्गालेर देशलाई आर्थिक कुटनीतिमा योगदान दिने ठूलो रहर भएकाले सकेसम्म अर्थ मन्त्रालयमै बसेर नीतिगत विषय सिक्ने चाहना रहेको उनी सुनाउँछन् ।

सामान्य परिवारमा हुर्के–बढेका उनका लागि यहाँसम्म आइपुग्दा एउटा अनुभव र नयाँ अनुभूति मिलेको छ। उनी भन्छन, ‘अरुले जस्तै मैले पनि यो भएन, त्यो मिलेन भनेर दशथरी ठाउँ चाहार्ने र धेरै अवसर खोज्ने काम नगरेको होइन, तर खै भाग्य बलिया भनौ वा कमजोर ।’ करियर सुरुवात गर्ने समयमा भूषालसामु कोरोनाको महामारी ठूलो बाधा बनेर आइपुग्यो। विश्व ठप्प हुँदा आफ्नो करियर पनि ठप्प भए जस्तो लग्यो उनलाई।

‘विश्व नै ठप्प छ, म मात्र दौडिन खोजेर हुँदैन, धैर्यता राख्नुपर्छ भनेर केही चहलपहल नगरी म पनि कोरोनाले सिर्जना गरेको ठप्प माहोलसँग अडिएँ’, उनले त्यो क्षण स्मरण गर्दै भने, ‘अहिले लाग्छ, कहिले काहीँ केही नगरी धैर्यपूर्वक शान्त बस्नु पनि समस्याको ठूलो समाधान रहेछ।’ बिजपाटीबाट साभार गरिएको सामाग्री

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’