जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पर्वत/पर्वतको जलजला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्ने गरी कालीगण्डकीमा बेली ब्रिज बनाउन थालिएको छ।

जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण थालिएको हो। कालीगण्डकीले सडक कटान गरेपछि बगरफाँट बस्ती २ वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो।

पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेपछि पुल बनाउन थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

पुल निर्माण भएपछि स्थानीयलाई हिँडडुल र कृषि उपज बेनीबजारमा पुर्‍याउन सहज हुनेछ। यहाँ बेली ब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग ५ महीनाभित्र सक्ने गरी १ करोड ६० लाख रूपैयाँमा ठेक्का सम्झौता भएको बेनी जोमसोम सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।


निर्माण कम्पनीले कालीगण्डकी किनारमा पुलको जग खन्न थालेको छ। ५४ मिटर लामो बेली ब्रिज राख्न मेशिनरी पर्खालसहित ग्याबिन जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने निर्माण कम्पनीका सब–ओभरसियर सनम शाहीले बताए।

५ महीनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ३ महीनाभित्रै बनाइसक्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरिएको जानकारी उनले दिए।

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासीले आन्दोलनसमेत गर्दै आएका थिए। कालीगण्डकीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए।

करिब ३ सय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरेका थिए। यसरी लैजाँदा सामानको मूल्य महँगो पर्ने गरेको थियो।

बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ। पुल बन्ने खबरले जलजलावासी उत्साहित भएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो