मोदीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड शुरु
पर्वत/पर्वतको मोदी गाउँपालिकाले दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु गरेको छ । पालिकाले मातहतका विद्यालयहरुलाई आन्तरिक प्रतिस्पर्धामा उतारेर दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ गरेको हो ।
माघ २७ देखि २९ गते सम्म सञ्चालन हुने गरी शुभारम्भ भएको प्रतियोगिताको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्घाटन गर्नुभएको छ । उद्घाटनका अवसरमा बोल्दै शर्माले शिक्षाको गुणस्तर विकास सँगै खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता महत्वपूणर् रहेको बताउनुभयो । उहाँले बालबालिकाहरुको अन्तरनिहित क्षमता सँगै खेलकुद प्रतिको जागरणलाई अझै उचाइमा पुर्याउन प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष विमल लामिछानेले प्रतियोगितामा सहभागी विद्यालय तथा प्रतिस्पर्धीहरुलाई अग्रिम बधाई ज्ञापन गर्दै जिल्ला स्तरीय शिल्ड मोदी गाउँपालिकामा भित्राउनका लागि सवै कम्मर कसेर लाग्न अनुरोध गर्नुभएको थियो । उहाँले समग्र जिल्लाको तुलनामा मोदी गाउँपालिकालाई खेलक्षेत्रमा अब्बल बनाएर प्रदेश देखि राष्ट्रिय स्तर सम्म आफ्नो भूमिका दर्शाउन आग्रह गर्नुभएको थियो । पालिकाले खेलकुदका क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग दोहोराउँदै आगामी बर्ष अझै उल्लेख्य रुपमा बजेट व्यावस्थापन गरेर खेलकुदको विकासमा पालिका दृढताका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा छात्र छात्रा भलिबल प्रतियोगिता, एथलेष्टिक्स तर्फका खेल, हाइजम्प, लङजम्प लगायतका खेलहरु सञ्चालन हुने भएका छन् । १५ भन्दा बढी विद्यालयबाट प्रतिस्पर्धीहरु आन्तरिक प्रतिस्पर्धामा उत्रिने प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले जानकारी दिनुभयो ।