पर्वतको पार्वती गुफा-दाताले दिए पाँच रोपनी जग्गा, गण्डकी सरकारले दियो दुई करोड
पर्वत :/ कुश्मा नगरपालिका–१ पाङ र वडा नं. २ खुर्कोटको सिमानामा पर्ने पार्वती गुफालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश र स्थानीय सरकारले पहल गरेका छन्।
प्रसिद्ध धार्मिकस्थल पार्वती गुफामा पैदल मार्ग, तार बार, पर्खाल, मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न थालिएसँगै गण्डकी प्रदेश सरकारले स्वीकृत गरेको दुई करोड रुपैयाँमध्ये ४० लाख रुपैयाँ निकासा भएको छ।
दाताले पाँच रोपनी भन्दा बढी जग्गा निःशुल्क दिएपछि गुफा क्षेत्रमा धार्मिक पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको छ। स्थानीय हरि शर्मा पौडेल, रविलाल पौडेल, जनकराज पौडेल र श्यामप्रसाद पौडेलले उक्त जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिलाई प्रदान गरेका छन्।
वडाध्यक्ष लालकृष्ण बास्तोलाका अनुसार गण्डकी प्रदेश सरकारले गुफा क्षेत्रको विकास र प्रवर्धनका लागि पाँच वर्षभित्रमा दुई करोड रुपैयाँ उपलब्ध गराउने भनेको थियो। तर त्यो रकमबाट बन्ने भौतिक पूर्वाधारका लागि गुफा आसपासमा रहेको जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिमा आउनुपर्ने थियो। दाताले बुधवार गुफा आसपासमा रहेको जग्गा समितिलाई निःशुल्क रूपमा हस्तान्तरण गरेपछि प्रदेश सरकारले स्वीकृत गरेको दुई करोड रुपैयाँ नै गुफा क्षेत्रमा लगानी गर्न पाइने भएको वडाध्यक्ष बास्तोलाले बताए।
जग्गा बुधवार मालपोत कार्यालय पर्वतबाट समितिको नाममा पास गरिएको छ। लालपुर्जा हस्तान्तरण कार्यक्रममा सहभागी कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, समितिका पदाधिकारी तथा सदस्य, सरोकारवालाहरू सहभागी थिए। प्राप्त भएको जग्गामा सत्तल, मठमन्दिर, विभिन्न मूर्ति, बगैँचा लगायत विभिन्न पूर्वाधारहरू निर्माण गरिने छ। अहिले विनियोजन भएको ४० लाखबाट सत्तल निर्माण गरिने छ।
वडाध्यक्ष बास्तोलाले गुफा क्षेत्रको विकासको लागि डिपीआर तयार भएको बताउँदै अहिलेसम्म गुफाभित्र मन्दिर निर्माण गर्ने, गुफा बाहिर सिँढी र रेलिङ बनाउने, गुफाको प्रवेश स्थलमा गेट बनाउने काम सकिएको जानकारी दिए।
पाङ क्षेत्र पार्वतीले भगवान् शिवलाई पति पाउँ भनी व्रत बसेको स्थलको रूपमा आस्था गर्छन्। पाङमा नै रहेको सहस्रधारामा पार्वतीले स्नान गर्ने गरेको तथा पार्वतीचौर शिव र पार्वतीको क्रिडास्थल तथा भगवान् शिव र पार्वतीको क्रिडास्थल रहेको विश्वास गरिन्छ।
गुफाभित्रको भित्तामा विभिन्न देवी देवताका आकृति देख्न सकिन्छ। प्राकृतिक रूपमा आफै बनेका आकृतिले गुफामा भगवानको शक्ति रहेको नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल बताउँछिन्।