महोत्सव सफल बनाउन पुर्व अध्यक्षहरुको छुट्टै अभियान
पर्वत/पर्वतको कुश्मा बजारमा सञ्चालन हुन गइरहेको सातौँ पर्वत महोत्सवलाई भव्य र सभ्य बनाउन पुर्व अध्यक्षहरुले छुट्टै अभियान सञ्चालन गरेका छन् । माघ ११ गतेदेखि २१ गते सम्म सञ्चालन हुने गरी आयोजना भएको महोत्सवलाई सफल बनाउनका लागि पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरुले कुश्मा बजारका व्यवसायीहरु समक्ष साक्षत्कार अभियान सञ्चालन गरेका हुन् ।
आइतबार पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सहितको टोलीले कुश्मा बजारका व्यवसायीहरुलाई भेटघाट गर्ने अभियान सञ्चालन गरेको थियो । भेटघाट सँगै पुर्व अध्यक्षहरुले महोत्सव सफल बनाउनका लागि व्यवसायीहरुलाई सहयोग गर्न आह्वान गरेका थिए ।
पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको सातौ पर्वत महोत्सवमा यस पटक उद्योग बाणिज्य संघमा सदस्यता लिएर व्यावसाय सञ्चालन गरेका उद्योगी व्यवसायीहरुलाई महोत्सव परिसर भित्र स्टल राखेर व्यवसाय गर्न चाहेमा स्टलको लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । सोही अनुरुप यस पटक झण्डै ५० प्रतिशत स्थानीय व्यवसायीहरुले स्टल बुकिङ गरेको स्टल व्यवस्थापन उपसमिति संयोजक कमल जिसीले जानकारी दिनुभयो । महोत्सवमा समग्रमा ९० प्रतिशत स्टल बुकिङ भइसकेको उहाँले बताउनुभयो ।
महोत्सव मुल आयोजक समितिका संयोजक एवं पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीका अनुसार महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको छ । माघ ११ गते विहान ११ बजेदेखि महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।