कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाडौं /साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ। संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन्। बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए। संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन्।

आगामी साताहरू गुणात्मक ढंगले बढ्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले पनि गरेको छ। कोरोनाको संक्रमण सबैभन्दा बढी काठमाडौंमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुलुकभर अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ७१ छन्। डा. अधिकारीका अनुसार, संस्थागत आइ्सोलसनमा २ सय १४ जना छन्। संस्थागत आइसोलेसनमा रहेका मध्ये ६४ जना सघन उपचार कक्ष (आईसीयू)मा छन्। ७ जना भेन्टिलेटरमा उपचाररत छन्। ‘अहिले संक्रमणको उच्च जोखिममा गुज्रिरहेका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘आगामी केही साताहरू हाम्रा लागि चुनौतीपूर्ण हुन्छन्।’ अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ छ।

भदौ महिनामा उत्कर्ष

ग्राफले कोरोना संक्रमणको चौथो लहर सुरु भएको संकेत गरे पनि सरकारले आधिकारिक रूपमा बताएको छैन। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार आगामी दिनमा संक्रमणदर झन् बढ्दै जाने अनुमान छ। ‘चौथो लहर सुरु भइसकेको आधिकारिक रूपमा भन्न मिल्दैन। ग्राफले भन्ने कुरा हो’, उनले भने।

साउन महिनादेखि संक्रमण वृद्धि उच्च हुँदै गएको हो। साउन १ गते १ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो। तीन साताभित्र संक्रमण ९ गुणा वृद्धि भई १ हजार नाघेको छ। विगतमा भन्दा यसपटक संक्रमितको अस्पतालमा भर्ना हुने दर न्यून रहेको डा. अधिकारीले बताए। ज्येष्ठ नागरिक र दीर्घबिरामीहरू र खोप नलगाएका व्यक्तिहरू अस्पताल भर्ना भएका छन्। संक्रमण बढ््दै जाँदा अस्पताल भर्ना हुने दर वृद्धि हुने डा. अधिकारीले बताए।

संक्रमणको अवस्था बागमती र लुम्बिनी प्रदेश बढ्दै गएको पाइएको छ। चाडपर्व नजिकिए सँगै सीमापारी भारतबाट स्वदेश फर्कनेको बढ्दो संख्या र बजारमा किनमेल गर्नेको भीडसँगै संक्रमण बढेको विज्ञहरू बताउँछन्। ‘खुला सीमा र निर्वाध आवत–जावतका कारण संक्रमण झन् बढ्न सक्छ,’ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘सीमा क्षेत्रमा परीक्षणलाई व्यापक बनाउनुपर्छ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी संक्रमणदर झन् बढ्ने पूर्वानुमान गरिएको बताउँछन्। ‘संख्या बढ्न नदिन के गर्न सकिन्छ ? त्यसतर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्ने आवश्यकता छ,’ डा. अधिकारीले भने, ‘संक्रमण उच्च ढंगले बढ्न नदिन सबैले आआफ्नो भूमिका खेल्नुपर्छ। जनस्वास्थ्यको मापदण्ड अपनाउनु नै उत्तम उपाय हो।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनीले विगतमा पाठ सिक्नुपर्ने सुझाव दिए।

बुस्टर खोप लगाउन आग्रह

हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको खोप नलगाएको पाइएको छ। अहिले कुल जनसंख्याको ७० दशमलव ७ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।

७४ दशमलव ६ प्रतिशतले मात्र एकमात्रा खोप लगाएका छन्। कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणबाट मृत्यु हुने सम्भावना न्यून रहने विज्ञहरू बताउँछन्। संक्रमण भयो भने गम्भीर बिरामी पर्ने वा मृत्यु हुन सक्ने सम्भावना खोप लगाएका व्यक्तिको तुलनामा १० गुणा बढी हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना विरुद्धको बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट झन्डै ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप नलगाएकाहरू संक्रमणको उच्च जोखिममा रहेकाले नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउनुपर्ने बताए।

लक्षित जनसंख्या (१२ वर्ष र सोभन्दा माथि)का पूर्णमात्रा खोप लगाउने ८८ दशमलव ५ प्रतिशत छन्। एकमात्रा खोप लगाउने ९३ दशमलव ३ प्रतिशत छन्। अतिरिक्त मात्रा लगाउने जनसंख्या ७३ लाख ६९ हजार १ सय ८ जना रहेको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’