दुर्घटना घटाउन पर्वतमा ट्राफिक प्रहरीको सक्रियता – ग्रामीण क्षेत्रमा ‘चेकिङ’, विद्यार्थीलाई प्रशिक्षण

पर्वत /जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सवारी जाँच गर्नेदेखि विद्यालयमा पुगेर प्रशिक्षणसम्म सञ्चालन गर्न थालेको छ।

सवारी चालक अनुमतिबिना नै सवारी सञ्चालन गर्नु, ठिक अवस्थामा नरहेका सवारी लुकाई छिपाई ग्रामीण क्षेत्रमा सञ्चालन गर्नु, क्षमताभन्दा धेरै यात्रु तथा सामग्री ओसारपसार गर्नु लगायतका कारणले सवारी दुर्घटना भइरहेकाले त्यो घटाउन ग्रामीण क्षेत्रमा पनि छड्के रूपमा सवारी जाँच गर्न थालिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले कार्यालयमा आवश्यक जनशक्ति नभए पनि पालोअनुसार विभिन्न ग्रामीण क्षेत्रमा पुगेर जाँच्न थालिएको बताए। सदरमुकाम र ‘हाई वे’ मात्र केन्द्रित हुँदा ‘हाई वे’ र बजार क्षेत्रमा ट्राफिक नियम पालना गरे पनि ग्रामीण क्षेत्रमा भने उल्लंघन हुने गरेको गुनासोका आधारमा छड्के जाँच गर्न थालिएको हो।

‘जिल्लाका सातवटै स्थानीय तहमा ट्राफिक प्रहरीको नियमित उपस्थिति गराउन त हामीसँग जनशक्ति छैन तर हामी जति उपलब्ध छौँ सबैजना सबै समयमा खटौँ भनेर ग्रामीण क्षेत्रमा पनि छड्के रूपमा चेकजाँच गर्न थालेका छौँ’, उनले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दा तथा सवारी सञ्चालकलाई त्यही मौकामा ट्राफिक सचेतना पनि दिने गरेका छौँ। यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग गर्छ भन्ने अपेक्षा गरेका छौँ।’

ग्रामीण क्षेत्रमा चेकजाँच सँगसँगै जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पनि वेला–वेला पुगेर विद्यार्थीलाई पनि प्रशिक्षण दिन थालिएको छ। ट्राफिक प्रहरी र यसको आवश्यकता, सवारी दुर्घटनाका कारण, ट्राफिक सङ्केत चिह्नहरू तथा सडक रेखाहरू, सवारी नियम तथा सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकाहरू, सवारी नियम उल्लंघन र सजाय सम्बन्धी कानूनी ज्ञानका बारेमा जानकारी दिनुका साथै सहभागी विद्यार्थी र ट्राफिक प्रहरीबिच अन्तरस‌वाद पनि गर्ने गरिएको प्रहरी नायव निरीक्षक निउरे बताउँछन्।

विद्यालय तहको पाठ्यक्रममा ट्राफिक नियम, चिह्न लगायतका कुरा समावेश गरिएको र त्यसमा ट्राफिक प्रहरीले नै सहजीकरण गर्दा प्रभावकारी हुने भएकाले पनि विद्यालयहरूसँग सहकार्य गरेर विद्यालयमा ट्राफिक प्रहरी पुग्ने गरेको छ।

सदरमुकाम र बजार क्षेत्रमा नै ट्राफिक नियम उल्लंघन बढी हुने भएकाले तत्कालका लागि सदरमुकाम र बजार क्षेत्रमा रहेका विद्यालयहरूमा कार्यक्रम गरिएको र बिस्तारै ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पनि प्रशिक्षण दिने योजनामा आफूहरू रहेको निउरेको भनाइ छ।थाहाखबरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’