नागरिकअधिकार माग्नु र नेतृत्वमा पुगेर उत्तरदायित्व वहन गर्नु फरक रहेछ-अध्यक्ष शर्मा

पर्वत /११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह रहेका छन्। तीमध्येका तीनवटा स्थानीय तहमा मात्रै हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका छन्।

२०७४ सालको स्थानीय तहमा दलहरू एक्लाएक्लै लडेका कारण हरेक स्थानीय तहको उपप्रमुख-उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाइएका थिए। योपटक पाँचदलीय गठबन्धनका कारण उपप्रमुख-उपाध्यक्ष पदमा महिला उम्मेदवार कम रहेका थिए।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट गण्डकीमा ६ जना महिला स्थानीय तहको प्रमुख बनेका थिए। महिला सहभागिता र जागरण बढ्दै गएका वेला योपटक भने त्यो संख्या झनै घटेर तीनमा सीमित भएको छ।

योपटक पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेकी उम्मेदवार हीरादेवी शर्मा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा काँग्रेसकी लक्ष्मीदेवी पाण्डे र बागलुङको बडिगाड गाउँपालिकामा काँग्रेसकी गण्डकी थापा अधिकारी निर्वाचित भएका छन्।

उनीहरू निर्वाचित भएको करिब दुई महिना मात्रै पुग्न लागेकाले नतिजा देखाउने वेला त भइसकेको छैन। उनीहरूले गाउँपालिकाको नेतृत्व कसरी गर्ने?

स्थानीय सरकार सञ्चालनको प्रक्रिया लगायतका बारेमा सिकिरहेका छन्। बिहानबेलुका घरका काम पनि सम्हालेर गाउँपालिकाको नेतृत्व गर्दा भइरहेको अनुभवको बारेमा  पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मासँग कुराकानी गरेका छन्।

गण्डकी प्रदेशमा स्थानीय तहको नेतृत्व गरिरहेका तीनजनामध्येको एकजना बन्न पाउँदा तपाईँलाई कस्तो महसुस भएको छ?

यहाँको परिवेश र अभ्यास हेर्दा महिलाले नेतृत्व गर्ने अवसर पाउनु भनेको निकै कठिन कुरा हो। घरका कामसँग मात्र जोडेर हेर्ने गरिएका महिलाहरू नेतृत्वमा पुग्नु भनेको निकै कठिन अवस्थाबाट अगाडि आउनु हो।

आफ्नै घरधन्दा र रोजीरोटीका काम सकेर राजनीतिमा आएर थप बोझ बोक्नु अवसर पाएका महिलाका लागि पनि चुनौतीपूर्ण नै हुन्छ। मेरो हकमा कुरा गर्दा मैले यसलाई अवसर र चुनौती दुवैका रूपमा लिएकी छु। गण्डकीका ८५ वटा स्थानीय तहमध्ये ३ वटामा मात्रै महिलाको नेतृत्व छ। यस कारण पनि हामीले महिला कमजोर हुँदैनन् भन्ने पुष्टि गर्नका लागि धेरै खट्नुपर्ने छ।

पुरुषले राम्रो गर्न सक्छन् भन्ने मान्यताका बीचमा तपाईँको नेतृत्वले नागरिकलाई कसरी सन्तुष्टि दिन सक्ला?

मेरा कामले उहाँहरूलाई सन्तुष्टि मिल्न सक्छ भनेर नै मलाई जिताएर पठाउनु भएको हो। यसै कारण उहाँहरूको सन्तुष्टिमा कत्ति पनि असर नपर्ने गरी चित्त बुझाएर काम गर्नु मेरा लागि चुनौती र अवसर दुवै हो।

म यहीँ बसेर शिक्षक भएकी मान्छे विद्यार्थीदेखि अभिभावक र आमनागरिकका चाहना र समस्याका बारेमा जानकार छु। मतदान गर्ने वेला महिला र पुरुष नभनी महिलाले पनि नेतृत्व गर्न सक्छन् भनेर नै जिताउनुभयो। मेरो नेतृत्वमा गाउँपालिका रहँदा उहाँहरू निकै उत्साहित भएको महसुस मैले गरेकी छु।

महिला र पुरुष नभनी असल नेतृत्व खोज्नुभयो, त्यो विश्वासमा मैले कत्ति पनि कमी आउन दिनेछैन। जसरी सूर्यले जतासुकै न्यानो दिएको छ त्यसरी नै मैले पनि पालिकावासी सबैलाई समान व्यवहारले हेर्नेछु।

चुनावका वेला पार्टीगत रूपमा मत माग्नु बाध्यता रहे पनि चुनावपछि अब म सबैको साझा भएकी छु। सबैका साझा समस्याहरू हल गर्नेछु।

महिलाले घरका काम पनि सम्हाल्नुपर्ने बाध्यताका बीच जनप्रतिनिधि बन्द समय व्यवस्थापन कसरी हुन्छ?

सबेरै उठेर घर र गोठको काम, बालबच्चालाई रेखदेखदेखि भान्साको काम अनि जनप्रतिनिधिको रूपमा काम गर्नु सजिलो कुरा होइन। यसले मलाई समस्यामा भने पारेको छैन। किनकि म हिजो पनि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म जागिर खाएर, बिहानबेलुका घरका काम गरेर पार्टी संगठनको काम गरेकी थिएँ।

आफ्नो घर व्यवहार सम्हाल्नेदेखि बच्चाबच्चीको ख्याल गर्ने, पकाउनेदेखि धुनेसम्मका काम पनि गर्नुपर्छ।

घरका काममा अभ्यस्त रहेका कारण मलाई असहज भएको छैन तर कठिन भने हो। अफिसमा पनि हरेक खालका समस्यासँग जुध्नुपर्ने हुन्छ। अहिले निर्वाचित भएपछि घरका काममा त्यति ध्यान दिन पाएको छैन।

भेट्नेहरू घरमा पनि आउनुहुन्छ, फोनमा पनि व्यस्त हुनुपर्ने रहेछ। जनताले मागेको समय बिहानबेलुका पनि उहाँहरूलाई दिन्छु। पारिवारिक र कार्यालयीय कामलाई सँगै लैजानु एउटा चुनौती हो तर यही चुनौतीसँग जुध्नुपर्छ।

हिजो काम गराई पाऊँ भन्ने तपाईँ आज काम गरिदिने ठाउँमा हुनुहुन्छ। बाहिर रहेर माग्नुमा र पदमा बसेर दिनुमा कस्तो फरक रहेछ?

साँच्चिकै यो महसुस हुनु पनि गज्जबको कुरा हो। आमनागरिकको रूपमा रहेको व्यक्ति कुनै निर्णायक स्थानमा रहेर हिजोको आफू जस्तै आजका आमनागरिकलाई चित्त बुझाउनु कठिन कुरा हो।

म कुर्चीमा नआउँदै पनि यो कुरा महसुस गरेकी छु कि बाहिर बसेर यो लेऊ, उ लेऊ, यसो गरिदेऊ, उसो गरिदेऊ भन्न जति सजिलो हुन्छ‚ त्यसको तुलनामा मागेका सबै कुरा पूरा गर्न सक्नुमा अतुलनीय फरक छ। सामान्य नागरिकको रूपमा रहेर माग गर्नु र नेतृत्वले पूरा गर्न कठिन हुन्छ भन्ने कुरा त शिक्षकको पेशागत संगठनमा रहँदा पनि महसुस भएकै हो।

पदमा बसेकाहरूले सक्ने भएर पनि काम गरिदिएनन्, मिल्ने भएर पनि यो कामका लागि अवसर दिएनन् भन्ने महसुस बाहिर बस्दा हुने गर्छ। आफैँ कुर्चीमा रहेर काम गर्दा चाहेर पनि गर्न नसक्ने अवस्था हुन्छ। मेरो यत्ति एउटा काम त हो नि भन्ने जनतालाई लाग्छ तर अफिसमा त्यस्तै सयौँ काम र माग आइरहेका हुन्छन्। यहाँ रहँदा सीमित स्रोत र साधनमा काम गर्नुपर्छ।

चाहना त पूरा गरौँ भन्ने नै हुन्छ तर नागरिकले मागेका सबै काम गरिहाल्न मिल्ने पनि त हुँदैन। ऐन, कानुनका कुरा पनि यसमा जोडिएर आउने भएका कारण नागरिकले सोचेका सबै इच्छा पूरा नहुन सक्छन्। सबैका इच्छा पूरा गर्न कठिन भएर पनि सकेसम्मको काम यहाँबाट गर्नेछु।

मबाट मेरो पालिकामा यो कुरामा परिवर्तन ल्याउन सक्छु भनेर सोचेका योजना के छन्?
मैले महिलाको पक्षलाई विशेष प्राथमिकतामा राख्दै काम गर्नेछु। गण्डकी प्रदेशमा तीनजना मात्र महिला छौँ। पर्वतका सातवटा पालिकामध्ये मोदीमा मात्रै म रहेकी छु। महिलाले कसरी काम गर्छन्? भन्ने कुरा देखाउनु र पुष्टि गर्नुपर्नेछ। महिलाको नेतृत्व के हो? भन्ने देखाउनु पनि चुनौतीपूर्ण काम हो।

यो अवधिमा महिलाहरूलाई जागरुक बनाउन, राजनीतिक चेतनामा अभिवृद्धि गर्न, संविधानमा राखिएका अधिकार खोज्न र कर्तव्यको पालना गर्न सक्षम बनाउने, घरधन्दाको काममा सीमित महिलाहरूलाई त्यो घेराबाट बाहिर निकाल्ने लगायतका काम गर्नु छ।

उनीहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन सकिन्छ। त्यसका लागि मोदी गाउँपालिका कृषि र पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो। यहाँका होमस्टेहरूले स्वरोजगारी दिन सक्छन्। लोकसेवा र शिक्षकसेवा आयोगका परीक्षाहरू सञ्चालन गर्ने कि भन्ने पनि सोच छ। पूर्वाधारको विकास, सडक, भवन, खानेपानी लगायतका काम गर्नुपर्ने छ। विदेशबाट फर्केर आएका युवाहरूलाई तालिम र अनुदान दिनेछ।

आवश्यक रकमका लागि धरौटी राख्ने केही रहेनछ भने पालिकाले धरौटी राखेर भए पनि अवसर उपलब्ध गराउनेछ।

तपाईं त पूर्वशिक्षक पनि हुनुहुन्छ, यस कारण शिक्षा क्षेत्रमा तपाईँले केही फरक गर्नुहोला भन्ने अपेक्षा गाउँपालिकावासीले गरेका होलान् नि?

हो! म नेतृत्वमा आउनासाथ विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी सबैले केही फरक अपेक्षा पनि गर्नुभएको होला। म आफैँ शिक्षक भएर आएका कारण शिक्षाक्षेत्रमा के के गर्न सक्ने गुणस्तर हुन सक्छ भन्ने कुरा पनि थाहा छ। यहाँको स्रोत र साधनले मैले सोचेका काम पूरा गर्न कत्तिको सम्भव होला‚ त्यो अब हेर्दै जाऊँ तर हामीसँग भएको र अरूसँग गुहारेका स्रोत र साधनबाट यहाँका विद्यालयहरू प्रविधिमैत्री बन्नुपर्छ भन्ने मेरो मान्यता हो।

विद्यालय प्रविधिमा जोडिए भने सिकाइको तरिका र गुणस्तर नै राम्रो बन्छ। पाँच वर्षभित्र सबै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्ने योजना छ। सम्बन्धित निकायमा आवश्यक सहयोग माग्ने पनि काम हुनेछ। जबसम्म शैक्षिक चेतनाको विकास हुँदैन तबसम्म कुनै पनि क्षेत्रको बारेमा सकारात्मक सोच राख्न सक्ने सीप व्यक्तिमा रहँदैन।

व्यक्तिमा रहेको कला र सीपको उजागर गर्ने माध्यम नै शिक्षा हो। शिक्षामा गुणस्तर कायम गर्न धेरै कुरा गर्न बाँकी छन् तर प्रविधिका माध्यमबाट हुने शिक्षण अहिलेको माग भएकाले यही मागले गुणस्तर पनि दिन्छ भन्ने लाग्छ।

समृद्ध मोदी र समुन्नत मोदीवासीको लक्ष्यमा हामी लागिरहेका छौँ। यहाँबाट पढेर निस्किएका काठमाडौँ‚ पोखरा लगायतका ठाउँमा रहेका विज्ञहरू, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग पनि सहकार्य गरेर मोदीका हरेक पक्षको विकासमा म लाग्नेछु।

२०४५ सालमा शिक्षण पेशामा प्रवेश गरेकी शर्माले २०७४ सालसम्म २९ वर्ष शिक्षण क्षेत्रमा आबद्ध रहिन्। एमाले निकटको नेपाल शिक्षक संगठनको सदस्य हुँदै सोही संगठनका तर्फबाट शिक्षक युनियनमा पुगिन्। शिक्षक महासंघको केन्द्रीय सदस्यको रूपमा काम गर्दै उनले २०७४ सालमा अवकाश लिएकी हुन्।

थाहाखबरमा सञ्जय रेग्मीले गरेको कुराकानी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’