गण्डकीमा सवारी नवीकरण ६/६ महिनामा गर्नुपर्ने, सवारीमा बढ्यो १० हजारसम्म कर, विद्युतीय सवारीलाई पनि कर

पर्वत /गण्डकी प्रदेश सरकारले सवारीसाधनमा लाग्दै आएको करमा भारी वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने वेला असार १ गते प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सवारीसाधनमा नयाँ आर्थिक वर्षबाट सवारीको कर १० हजारसम्म बढ्ने बताएका थिए।

साउन १ गतेदेखि लागू हुने गरी निजी सवारीसाधनमा १० हजार रुपैयाँ वार्षिक कर वृद्धि गरिएको छ। सबैभन्दा बढी करवृद्धि २५ सयदेखि २९ सय सिसी क्षमताका सवारीमा भएको छ।

२५-२९ सय सिसी क्षमताका सवारीहरूले हालसम्म वार्षिक ४० हजार रुपैयाँ कर तिर्दै आएकोमा नयाँ आर्थिक वर्षदेखि वार्षिक ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।

२९ सय र सोभन्दा माथिका सिसी क्षमताका गाडीले हालसम्म ५६ हजार रुपैयाँ कर तिर्दै आएका थिए तर गण्डकी प्रदेश सरकारले २९ सय सिसीमाथिको क्षमतालाई समूहमा विभाजन गरेर २९ सयदेखि ३५ सय सिसी क्षमताका सवारीको रूपमा राखेको छ। यो समूहका गाडीले पनि अबदेखि वार्षिक ६५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ।

१ हजारदेखि १५ सय सिसी क्षमताका सवारीले चालू आर्थिक वर्षसम्म तिर्दै आएको वार्षिक २२ हजार रुपैयाँ करमा ३ हजार थप गरेर २५ हजार रुपैयाँ तिर्नुपर्ने बनाइएको छ। १ हजारभन्दा कम सिसी क्षमता भएका गाडीहरू कार, जिप, भ्यान, माइक्रो बसले वार्षिक २० हजार रुपैयाँ तिर्दै आएकोमा अबदेखि २२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।

गण्डकी सरकारले दुईपाङ्ग्रे सवारीको सिसी क्षमताको समूहलाई पनि थप विभाजन गरेर कर लिने भएको छ। हालसम्म सिसी क्षमताका आधारमा दुईपाङ्ग्रे सवारीलाई ४ समूहमा वर्गीकरण गरिएकोमा अब भने समूहको सङ्ख्या ६ बनाइएको छ।

१२५ भन्दा कम सिसी क्षमता, १२५-१५०, १५०-२२५, २२५-४००, ४००-६५० र ६५० सिसीभन्दा माथिका ६ समूह बनाइएको हो। अब १२५ सिसी क्षमतासम्मका सवारीले ३ हजार, १२५-१५० सिसीसम्मले ५ हजार, १५०-२२५ सिसीसम्मले ६ हजार ५ सय, २२५-४०० सय सिसीसम्मले ११ हजार, ४००-६५० सिसीसम्मले २० हजार र ६५० सिसीभन्दा माथिका सवारीलाई ३० हजार कर तोकिएको छ।

प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँच पास गर्नुपर्ने प्रावधान पनि ल्याएको छ। टिपरले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्स्काभेटर, लोडर, क्रेन, मिनी टिपरले अहिलेकै कर तिरे हुनेछ। अहिले यी सवारीको कर ४० हजार रुपैयाँ रहेको छ।

कृषि क्षेत्रमा प्रयोग हुने, ट्याक्टर, पावर टेलरलाई १ हजार ३ सयदेखि ३ हजारसम्म कर बढाइएको छ। ट्याक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावर टेलरको ३ हजार २ सयबाट ४ हजार ५ सय पुगेको छ। मिनी ट्रक-मिनी बसको कर २७ हजार कायम गरिएको छ। ट्रक र बसले भने ३५ हजार तिर्नुपर्छ।

हालसम्म कर नलिइएको विद्युतीय सवारीमा पनि अब कर लाग्ने भएको छ।

३५० देखि १ हजार किलोवाटसम्म १ हजार, १५ सय वाटसम्म १५ सय र त्योभन्दा माथिको क्षमताका लागि वार्षिक २ हजार रुपैयाँ तोकिएको छ। यो कर मोटरसाइकल र स्कुटरका लागि हो। कार, जिप, भ्यान, बस र माइक्रोबसले ५० देखि १२५ किलोवाटसम्म १० हजार, २ सय किलोवाटसम्म १५ हजार र योभन्दा माथि भएमा वार्षिक २० हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ।

भाडामा सञ्चालन हुने गरी दर्ता भएका सवारीका लागि बढीमा ६ हजार रुपैयाँसम्म कर बढेको छ। सार्वजनिक सवारीको आवेदन दस्तुर, अनुमतिपत्र, नवीकरण, नामसारी, पञ्जीकरण र रुट इजाजत दस्तुर भने घटेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’