गत वर्षको बर्खामा १३ जनाको मृत्यु भएको पर्वतमा विपद बिरुद्ध सुरक्षा निकायका यस्ता तयारी

पर्वत/ २०७८ सालको भदौ १७ गते राती भएको अविरल वर्षासँगै आएको पहिरोले पर्वत जिल्लालाई शोकमा डुबायो। रातिको समयमा घर माथिबाट आएको पहिरोले कुश्मा नगरपालिका–३ दुर्लुङमा एकै घरमा रहेको पाँच जनाको मृत्यु भयो। सोही नजिकै २०७७ सालमा पनि पहिरोमा परी नौ जनाको मृत्यु भयो।
कुश्मा नगरपालिका–११ पकुवामा पनि एकै परिवारका तीन जनाको पहिरोमा नै परेर मृत्यु भयो। पकुवाकै अर्को ठाउँमा आमा र छोरा गरी दुई जनाले पहिरोमा नै जीवन गुमाए। मोदी गाउँपालिका–५ अम्बोटकी फूलमाया थापाको पनि सोही रातीकै पहिरोमा परेर मृत्यु भयो।
२०७८ असार २२ गते राती कुश्मा नगरपालिका–८ चुवाको दोबिल्ला स्थित सुन्दरे खोलामा आएको बाढीले मध्य पहाडी सडक निर्माणमा खटिएका इन्जिनियर सहित दुई जनाको ज्यान लियो। राती साढे १० बजे अचानक उर्लेर आएको खोलाले उनीहरूलाई गाडीसहित बगाएको थियो। जलजला गाउँपालिका–३ बेनीमा पनि गत वर्षको भदौमा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भयो भने कुश्मा नगरपालिका एक मालढुङ्गामा सडकमा मोटरसाइकल गुडाइरहेका एक पुरुषलाई रुख ढलेर च्याप्यो।
गत वर्षको वर्षा यामका महिनामा कुल १३ जनाले मृत्युवरण गरे। घटनामा परी ज्यान गुमाएकाहरूका परिवारका आँखा अझै पनि ओबाएका छैनन्। उनीहरूको आँखाको आँसु सुक्न नपाउँदै यस वर्ष पनि लगातार वर्षा भइरहेको छ। अघिल्लो वर्षका घट्नाको आधार र मौसम विदले यस वर्ष बढी वर्षा हुन सक्ने सम्भावनाका कारण पर्वतमा रहेका तीन ओटै सुरक्षा निकाय सहित जिल्ला प्रशासन कार्यालय पनि विपद्को पूर्व तयारीमा जुटेका छन्।
यस्तो छ नेपाल प्रहरीको तयारी
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी यस वर्ष भइरहेको वर्षा देख्दासाथ अघिल्लो वर्षका घट्नाहरुले चिन्तित बनाउने गरेको बताउँछन्। गत वर्षको विपद्को सूचना थाहा पाउँदा साथ रातभरि नै पहिरो खोतलेर बेपत्ताहरूको खोजीमा लागेको र एकै घरका पाँच जनासम्मको मृत्यु भएको घटना आँखामा घुमिरहेको बताउँछन्।
यही नियति दोहोरिन सक्ने जोखिम उत्तिकै रहेकाले यस वर्ष आफूहरू वर्षा हुनु पूर्व नै तयारी अवस्थामा रहेको डिएसपी बुढाथोकी बताउँछन्। अहिलेको मनसुनमा जिल्लाभर रहेका प्रहरी युनिटमा कार्यरत सबै प्रहरीलाई उच्च सतर्कताका साथ राखिएको र उनीहरू जति बेला जे पर्छ त्यो अनुसार उद्धारको लागि हिँडिहाल्ने तयारी अवस्थामा रहेका उनको भनाई छ। जुनसुकै बेला परिचालन हुन सक्ने गरी जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको टोली र इलाका प्रहरी कार्यालय हुवासमा प्रहरी नायव निरीक्षकको कमान्डमा १५ जनाको टोली विपद् उद्धार सामाग्री सहित तयारी अवस्थामा रहेको बुढाथोकीले बताए। जिल्लामा रहेका सम्पूर्ण प्रहरी इकाईहरूलाई कुनै पनि स्थानमा कुनै पनि समयमा विपद्को घटनाको सूचना प्राप्त हुनसाथ तत्कालै उपस्थित भएर उद्धार गर्नुका साथै तत्कालै यस कार्यालयमा खबर गर्न समेत प्रहरीको निर्देशन छ।
मनसुनको अवधिभर अत्यावश्यक बाहेकका काममा प्रहरी अधिकृत तथा जवानहरूले पनि बिदा नलिन निर्देशन दिइएको र प्रहरी युनिटमा रहेका विपद् उद्धार सामग्रीहरू तयारी अवस्थामा राखिएको उनले बताए। ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट समेत पर्वतका सात ओटै स्थानीय तहहरूको वडा स्तरसम्म विद् उद्धारका सामग्रीहरू खरिद गरी वडा कार्यालय वा सम्बन्धित प्रहरी इकाईहरूमा भण्डारण गरी तयारी अवस्थामा राखिएको छ। अन्य सुरक्षा निकाय, रेडक्रस, अस्पतालसँग आवश्यक सल्लाह र समन्वय गरिसकिएको छ,’ डिएसपी बुढाथोकी भन्छन्, ‘जिल्लामा सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूको विवरण उठाएर तयारी अवस्थामा रहन भनिएको छ। विभिन्न सडक आयोजनाका एक्स्काभेटरहरूको विवरण लिएर रहेका ठाउँको बारेमा पनि जानकारी लिइएको छ।’
विपद्पछिको उद्धार र पुनर्स्थापना लागि आवश्यक पर्ने थप जनशक्तिको लागि गण्डकी विपद् व्यवस्थापन बागलुङसँग समन्वय गरिएको र प्रहरी युनिटमा रहेका प्रहरीहरूलाई विपद् सम्बन्धी प्रशिक्षणहरू दैनिक जसो भइरहेको पर्वत प्रहरी बताउँछ।
सेनाको तयारी पनि उस्तै
दोबिल्लाको सुन्दरे खोलामा आएको बढीले राती नै सडक बगाएपछि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका यात्रुहरू त अलपत्र परेका थिए नै सबैभन्दा बढी समस्या बिरामी र गर्भवतीलाई परेको थियो। खोलामा आएको बाढी पार गर्नै नसक्ने अवस्थामा नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा काठे पुल बनाएर बिरामीलाई पठाउने व्यवस्था गरेको थियो। सेनाले आफै खोलामा पसेर बिरामीहरूलाई पिठ्यूँमा बोकेर बिरामी र गर्भवतीलाई अस्पताल जाने व्यवस्था गरेको थियो।
अघिल्लो वर्षको घाउ नबर्सिएको नेपाली सेनाले पनि यस वर्ष सकेसम्म क्षति नै हुन नदिन र भइहालेमा त्यसलाई कम गर्न सकेसम्मको तयारी अवस्थामा रहेको बताउँछन्। नेपाली सेनाको नयाँ रणभीमदल गुल्म पर्वतका निमित्त गुल्मपति सह सेनानी महेश भट्टले विपद्बाट प्रभावितहरूको खोज, उद्धार तथा राहत प्रदानका लागि आवश्यक विपद् व्यवस्थापनका सामाग्री र सवारीहरू सहित तत्कालका लागि ३० जना फौज तयारी अवस्थामा राखिएको बताए। उद्धारका लागि दैनिक जसो अनुशिक्षण र अभ्यासका कामहरू भइरहेकोले आवश्यक परेको बेलामा थप जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनले बताए।
‘हामी र हाम्रो टोली २४ सै घण्टा तयारी अवस्थामा रहेका छौँ। मानवीय जीवनको रक्षा गर्ने तथा क्षतिलाई सके जति न्यूनीकरण गर्ने कुरामा हामी हाइ अलर्ट अवस्थामा छौँ,’ सह सेनानी भट्ट भन्छन्, ‘मनसुनी घट्नालाई मध्यनजर गरी नेपाली सेनाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा कृत्रिम उद्धार अभ्यास सञ्चालन गरिएको छ।’


जोखिमका ठाउँ अनुमान गरेर योजना बनाएका छौँ : एपीएफ
सशस्त्र प्रहरी बल नं. २५ गण पर्वतका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बमले जिल्लामा प्राकृतिक जोखिमका सम्भावित ठाउँहरू छुट्टाएर उद्धारका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए।
विपदमा खटिनु पनि आफूहरूको प्रमुख दायित्व मध्येको एक भएकाले गणमा रहेका सबै जना जुनसुकै र जस्तोसुकै परिस्थितिमा पनि खटिन तयार रहेको उनको भनाई छ। विगतका घटनालाई मूल्याङ्कन गर्दै यस वर्षको लागि केन्द्रको निर्देशन अनुसार हरेक दिन अनुशिक्षण र कृत्रिम अभ्यासको काम निरन्तर गरिरहेको पनि प्रहरी उपरीक्षक बम बताउँछन्।
‘घटना भएको ठाउँमा यति मिनेटमा पुग्छौँ भन्न त सकिँदैन तर इन्स्पेक्टर सावको कमान्डमा रहने विपद्को विशेष प्लाटुन तुरुन्तै घटनास्थल प्रस्थान गर्छ। पर्वतका तीनै तहका सुरक्षा निकाय र प्रशासनको बिचमा निकै राम्रो समन्वय रहेका कारण पनि हामी सकेसम्म क्षति कम गर्न सक्षम हुने छौँ,’ उनले भने, ‘स्थानीय तहका सरकार र वडासम्म रहेका विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर उद्धारलाई चाँडो बनाउने काम हामी गर्ने छौँ। यसमा प्रशासन र सबै सुरक्षा निकायको राम्रो सहकार्य भइरहेको छ।’
सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रको रूपमा दोबिल्ला, मालढुङ्गा, अर्मादी, देउपुर तिलाहार, भोर्ले, हुवास, सरौँखोला, त्रिवेणी, सेतीबेणी, लुङ्दी, लस्ती, वारी बेनी, शंकरपोखरी, ठानामौला, कार्कीनेटा, भँगरा, धाईरिङ, शालिजा, नाग्लीवाङ, बनौँ, पकुवा, देउराली, बाजुङ लगायतका ठाउँलाई राखेको छ। ती बिन्दुहरूमा जानको लागि बाटो, दूरी, तरिका लगायतका विषयमा पनि हाम्रा ब्रिफिङहरू दिनहुँ जसो भइरहेको सशस्त्र प्रहरीको भनाई छ।
उद्धारमा प्रयोग हुने बोल्ड कटर, टर्च लाइट, प्लास्टिक डोरी, लाइफ ज्याकेट, जुमर, साबेल, स्ट्रेचर, छिना, पन्जा, चेन स, फरुवा लगायत, सुरक्षाकर्मीका बन्दोबस्तका सामग्रीहरू पूर्ण तयारी अवस्थामा राखिएको र उद्धार टोलीसँगै आफूहरूको एम्बुलेन्स पनि सँगै जाने पठाउने तयारी गरिएको एसपी बमको भनाई छ। आफूहरूसँग भएको सामानले नपुग्ने भएमा सशस्त्र प्रहरीको पोखरामा रहेको कालिका गणबाट विशेष सीप सहितको टोलीको सहयोग रहने पनि उनले जानकारी दिए।

थाहा खबरबाट साभार गरिएको

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’