‘बलेवा विमानस्थल सञ्चालनको विकल्प छैन’

फाइल फोटो

बागलुङ / बागलुङको बलेवा विमानस्थल सञ्चालनका लागि कालोपत्रे भइसकेको छ। कालोपत्रे भएको तीन महिना पुरान हुन लाग्दा पनि सञ्चालन सम्बन्धी केही निष्कर्ष निस्किन सकेको छैन। आइतबार विमानस्थल सञ्चालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ। छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरुले विमानस्थललाई अरु कुनै विकल्पमा राख्न नहुने भन्दै विमान सञ्चालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए। विमानस्थल सञ्चालनका विषयमा सुझाव संकलन र अवलोकनका लागि काठमाण्डौंबाट आएका विज्ञ टोली प्रमुख डाक्टर जनक शाहले विमानस्थल सञ्चालनका लागि तयार भएको हुँदा यहाँ छिट्टै नै विमान सञ्चालन हुनु पर्ने धारणा राखेका थिए।

उनले विमानस्थल सञ्चालनका लागि राज्यले ठूलो लगानी गरिसकेको भन्दै यहाँ विमान सञ्चालन नभए लगानीको प्रतिफल पाउन नसक्ने बताए। ‘हामीले विमानस्थलमै पुगेर त्यसको अवलोकन गर्‍यौँ, कालोपत्रे भइसकेछ, रंगरोगन गरेर सिँगारिएको रहेछ, यसले विमान कतिबेला आउँछ भनेर कुरिरहेको छ,’ उनले भने ‘राज्यले यति ठूलो लगानी गरेको छ, अब यहाँ जहाज चलाउनै पर्छ, यदि चलेन भने लगानीको प्रतिफल शून्य हुन्छ।’

बागलुङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष चक्र बहादुर खत्रीले विमान सञ्चालनको विकल्प नभएको बताए। उनले अहिलेसम्म ठूलो लगानी भइसकेको भन्दै अब जहाज सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए। अध्यक्ष खत्रीले विमान सञ्चालनपछि यस क्षेत्रको मुहार फेरिने समेत बताए। उनले कालिगण्डकी करिडोर पनि अब छिट्टैनै कालोपत्रे हुने र बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने सडक सहज बन्ने भन्दै यात्रुको कमी नहुने बताए।

‘ठूलो समस्या धावनमार्ग कच्ची हुँदा थियो, अब अहिले कालोपत्रे भएर चटक्क परेको छ, यहाँसम्म पुग्ने समस्या सडकको हो, कालिगण्डकी कोरिडोरको पनि छिट्टैनै कालोपत्रे हुने छ,’ उनले भने, ‘अब पहिलेको जस्ता समस्याहरु छैनन्, केही स–साना समस्याहरु छन्, ती सबै विस्तारै समाधान हुनेछन्, विमान सञ्चालनमा अब ढिलाई गर्नु हुँदैन।’

अध्यक्ष खत्रीले विगतमा धेरै चुनौतिका बाबजुत विमान सञ्चालन भएको भन्दै अब त्यस किसिमका समस्याहरु कम हुँदै गएको र यस क्षेत्रका आम नागरिकले विमान सञ्चालनको प्रतीक्षा गरिरहेको बताए। उनले विमान सञ्चालनपछि बागलुङका पर्यटकीय क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने र स्थानीयले रोजगारको अवसर पाउने बताए।

बागलुङ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले विगतमा भाडादर अस्वभाविक हुँदा नियमित सञ्चालन हुन नसकेको भन्दै अब भाडा समायोजन गर्ने र नियमित विमान सञ्चालनमा लाग्नुपर्नेमा जोड दिए। उनले विमान सञ्चालन हुन नसक्ने समस्या मध्ये भाडा नै बढी भएको भन्दै सबै पक्षले यसको समस्या समाधान गरे नियमित विमान सञ्चालन गर्नुपर्ने बताए।

‘यस अगाडि विमान नियमित सञ्चालन नहुनुमा धेरै कारणहरु छन्, त्यस मध्ये भाडादर बढी हुनु पनि एक हो, भाडादर सुहाउँदो हुनुपर्छ, यस बारेमा सर्वसाधारणको गुनासो धेरै नै थियो,’ अध्यक्ष पौडेलले भने, ‘धावनमार्ग पनि निकै राम्रो भएको छ, अब भाडा समायोजन गरौँ, सबै निकायलाई घच्घच्याऔँ र नियमित उडान सुरु गरौँ।’

२६ वर्षदेखि बन्द अवस्थाकाे विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो। धावनमार्ग कच्ची, यात्रु संख्या कम हुँदा धेरै समय सञ्चालन हुन सकेको थिएन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’