पार्वतीको जन्मभूमि पाङबाट राजनितीमा यसरी उदाइन स्वस्थानी


पर्वत/सिताको जन्मभूमि जनकपुर जस्तै माता पार्वतीको जन्मभूमिको रुपमा बिश्वास गरिदै आएको ठाउँ हो पर्वतको कुस्मा नगरपालिका – १ पाङ । हिमालयपुत्री पार्वतीको जन्म भएको पाङलाई पवित्र भूमि र ज्योतिष बिद्याको केन्द्रको रुपमा पनि लिइन्छ । जनकपुर जसरी सिता जन्मभूमिको रुपमा प्रसिद्ध छ पार्वतीको जन्मभूमि पाङ भने सधै ओझेलमा छ ।
धार्मिक र पर्यटकीय संभावना बोकेको पाङ जसरी ओझेलमा परेको छ, पर्वतको राजनितीमा पनि पछाडी पारिदै आएको छ । पर्वतमा सबैभन्दा बढी मतदाता रहेको पाङबाट उठेको नेतृत्वले जिल्ला र कुस्मा नगरमा नेतृत्व गर्ने अवसर कमै पाएका छन । अहिले सम्म अरुलाई मत दिएर जिताउँदै आएको त्यही पाङमा बुहारीको रुपमा भित्रनुभएकी स्वस्थानी रिजाल भने अहिले कुस्मा नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ । ओझेलमा परेको पाङबाट कुस्मा नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि स्वस्थानीको चर्चा चुलिन थालेको छ । ‘माता पार्वतीको जन्मभूमिबाट उदाउँदै गरेकी नेतृ’ को रुपमा गाउँलेले भब्य स्वागत र सम्मान पनि गरेका छन । पाङका जनताले दिनभर मात्रै होइन राती १० बजे सम्म नै बाजागाजा र अबिरजात्रा सहित रिजाललाई गाउँ परिक्रमा गएर खुसी साटेका हुन ।
नेकपा(एमाले)को तर्फबाट गठबन्धनका उमेदवारलाई पराजित गर्दै स्वस्थानी रिजाल उपमेयर पदमा निर्वाचित हुनुभएको हो । गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका रामचन्द्र जोशी ७ सय ९८ मतान्तरले बिजयी हुँदा एमालेकी रिजालले गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओबादी केन्द्रका शंकर गिरीलाई ८ सय १० मतान्तरले पराजित गर्न सफल हुनुभयो । नेकपा(एमाले) कुस्मा नगर कमिटीकी उपसचिब रिजाल सहित एमालेले नगरसभामा बहुमत सदस्य जितेको छ । ‘पाङबाट पहिलो पटक कुस्मा नगरको नेतृत्वमा पुग्ने अवसर प्राप्त भएको छ ।’ एमाले कुस्मा नगरपालिका १ का वडा कमिटी अध्यक्ष केदारप्रसाद पौड्यालले भन्नुभयो ‘हामी यस अघि सम्म सबैका लागि भोट ब्यांक थियौ, यस पटक आफैले नेतृत्व गर्ने अवसर पाएका छौ।’


स्थानिय पाङ धैरेनी माबिको दुई बर्ष अघि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चुनिएपछि स्वस्थानी रिजाल सामाजिक र शैक्षिक सुधारको अभियानमा जोडिनु भएको थियो । छोटो समयमा नै आफ्नो नेतृत्वमा बिद्यालयमा भौतिक र शैक्षिक सुधार गरेर बिद्यालयलाई नमुना बनाउन सफल भए संगै उहाँ राजनैतिक रुपमा पनि क्रियाशिल हुन थाल्नुभएको थियो । बिद्यालयमा बालबालिकाले मात्रै होइन सिंगो गाउँमा नै उहाँलाई ‘स्वस्थानी आमा’ को रुपमा बालबालिकाले पुर्काछन । रिजालको बिजय जुलुसमा सबैभन्दा बढी खुसी हुनेमा बिद्यार्थी नै बढी देखिन्थे । ‘स्वस्थानी आमा’ को बिजय जुलुसमा आएका कक्षा १२ पढ्ने बिद्यार्थी देखि गाउँमा भेटिएका साना बालबालिकामा पनि उहाँ उपमेयर चुनिएपछि बिद्यालयमा पाउँदै आएको आमाको न्यानो मायाबाट बञ्चित हुनुपर्ने हो कि भन्ने बढी चिन्ता देखिन्थ्यो । फुर्सदको सबै समय बिद्यालयमा गएर पढाउने, सबैलाई आफ्नै सन्तान जस्तो माया गर्ने रिजालले बालबालिका देखि अभिभावक सम्म मन छिट्टै जित्न सक्नु भएको थियो । उहाँले अहिले उपमेयर हुँदा पनि आफुँलाई बिद्यालयमै र समाजमै बसेर सेवा गर्न बढी खुसी लाग्ने गरेको बताउनुभयो । ‘मलाई बिद्यालयमा पुगेर बालबालिका संग रमाउँदा र समाजमा सुधारका लागि खट्दा नै बढी आनन्द आउँछ।’ उहाँले भन्नुभयो ‘समाज र शिक्षामा सुधार गर्नका लागि पनि नेतृत्वमा नपुगे सम्म सभंव रहेन्छ भनेर राजनिती तर्फ पनि आकर्षित भएँ।’


बिद्यार्थी छदै अनेरास्वबियुबाट राजनिती शुरु गर्नुभएकी रिजालले पर्वत काठमाण्डौ सम्पर्क मञ्च मार्फत काम गर्नुभएको थियो । एमालेको कुस्मा नगरकमिटीका उपसचिब बनेपछि नै उहाँलाई पार्टी कार्यकर्ताले कुस्माको भावी उपमेयर पदको उमेदवारको रुपमा चर्चा गर्न थालिसकेका थिए । पार्टीले उमेदवार बनाएपछि उहाँले कांग्रेसको बलियो आधार क्षेत्र रहेको पाङ लगायतका क्षेत्रबाट गठबन्धनका उमेदवार भन्दा आफुँलाई बलियो मत सहित अघि बढाएका कारण जीत सहज भएको थियो । लोकप्रिय मतका साथ उपमेयर चुनिएपछि उहाँले ठुला पुर्वाधारका योजना संगै महिला हिंसा न्युनीकरण, आमा सुरक्षा कार्यक्रम तथा बिद्यालयको आधारभूत तह देखि नै शैक्षिक सुधारका योजनाहरु अघि बढाउने योजना बनाउनुभएको छ । न्यायिक समितिलाई क्रियाशिल बनाउँदै टोलटोलमा मेलमिलाप समिति बनाउने, सुत्केरी र दुर्गम क्षेत्रका बासिन्दालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’