अमेरिकामा अन्धाधुन्ध गोली आक्रमण, १८ बालबालिकासहित २१ को मृत्यु
काठमाडौँ/अमेरिकाको टेक्सासमा मंगलबार एक किशोर हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। टेक्सासस्थित एक विद्यालयभित्र उक्त गोली आक्रमण भएको हो।
प्रहरीका अनुसार यो आक्रमण १८ वर्षीय सालभाडोर रामोस नामका किशोर एक्लैले गराएका हुन्।
समाचारमा उल्लेख गरिएअनुसार आक्रमणकारी आफ्नो गाडीमा चढेर आएका थिए र हाते बन्दुकसहित विद्यालयभित्र प्रवेश गरेका थिए।
त्यसपछि उनले अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए। अनुसन्धाताका अनुसार रामोसले घरबाट बाहिर निस्किनुभन्दा पहिला पनि आफ्नी हजुरआमाको हत्या गरेका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्।
यो घटनामा दुईजना प्रहरी पनि घाइते भएका छन् तर उनीहरुको चोट भने गम्भीर नरहेको प्रहरीले बताएको छ।
१० दिनअघि मात्र अमेरिकाको न्युयोर्कमा भएको गोली आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो। पछिल्लो समय अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणको घटना बढेको छ।