गठबन्धनका दलले पुरुष उमेदवार उठाए, महिला दावेदार कांग्रेस नेतृ केसी भन्छिन- दुई रात रोएर बसे

पर्वत/ पर्वतमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलिय गठबन्धनले अधिकाँश पदमा पुरुषलाई उमेदवार बनाएपछि महिला नेतृहरु असन्तुष्ट देखिएका छन । स्थानिय तहमा प्रमुख तथा उपप्रमुखमा दावेदार रहेका महिला नेतृ देखि महिला कार्यकर्ता तथा समर्थकहरुले समेत असन्तुष्टि जनाउदै सामाजिक सञ्जाल मार्फत दुखेसो पोखेका छन ।
नेपाली कांग्रेस पर्वतकी नेतृ मिना केसीले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै जनताको सेवा गर्ने हुटहुटीबाट बञ्चित हुनुपर्दा दुई रात रोएको बताएकी छन ।
नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिकी सदस्य समेत रहेकी केसीले मोदी गाउँ पालिकामा अध्यक्षको दाबेदार थिइन । अध्यक्ष पद गठबन्धनबाट माओबादी केन्द्रलाई दिएपछि उपाध्यक्षमा पनि दाबी गरेकी थिइन । ‘ स्थानीय तहको निर्वाचनको क्रममा मैले मैले मोदी गापाको अध्यक्षमा दाबी गरेको र गठबन्धन भए उपाध्यक्षमा भए पनि उठ्ने ईच्छा जाहेर गरि एकपटक पार्टी नेतृत्वलाई अनुरोध गरेको थिए’ केसीले लेखेकी छन ‘ दुर्भाग्यवश मैले जनताको सेवा गर्ने हुटहुटीबाट बञ्चित हुनुपर्यो र दुई रात रोएर बसे ।’
शसस्त्र द्वन्द्वका क्रममा तत्कालिन बिद्रोही नेकपा माओबादीले कपाल मुण्डन गरेर नेतृ केसीलाई दुब्र्यबहार गरेका थिए । ्केसी २०७४ को स्थानिय निर्वाचनमा उपाध्यक्ष पदमा उमेदवार बनेर पराजित भएकी थिइन । यसपटक नेपाली कांग्रेसले मोदी गापामा उपाध्यक्षमा रामबहादुर प्रसाई(जीवन)लाई उमेदवार बनाएको छ भने माओबादी केन्द्रका केन्द्रिय सदस्य गुप्तबहादुर ठकुरी अध्यक्षका उमेदवार छन । नेकपा(एमाले)ले गण्डकी प्रदेश सचिबालय सदस्य हिरादेबी शर्मालाई अध्यक्ष र जिल्ला उपसचिब बिमल लामिछानेलाई उपाध्यक्ष पदमा उमेदवार बनाएको छ । मोदी गाउँपालिका एमालेको सबैभन्दा बलियो जनाधार भएको स्थानिय तह मानिन्छ ।
यस्तो छ नेतृ केसीले फेसबुकमा लेखेको लामो स्टाटस

मेरो गम्भीर अपिल तथा सादर अनुरोध !!!

पार्टी राजनीतिमा लाग्दा मैले आम नेता कार्यकर्ताहरुको मद्दतले समय समयमा विभिन्न पदीय भूमिकाहरु प्राप्त गरिरहेछु। हो, एउटा पार्टीमा समय समयमा माथिदेखि तलसम्म विभिन्न विचार समूह- उपसमूहहरु देखा परिरहन्छन। मैले सहकार्यका हिसाबले मुद्दाका आधारमा कुनै समूहमा आबद्दता वा हेरफेर गरे/भएता पनि समूहहरु भित्रको अस्वस्थ प्रतिस्पर्धालाई न्यून गर्न मूलतः मध्यमार्गी भूमिका निर्बाह गर्नमा नै समय र क्षमता लगाए । जो सबैलाई बिदितै छ।
मेरो राजनैतिक सिद्धान्त मेरो प्यारो पार्टीले विकास गरेको लोकतन्त्रिक समाजवाद प्रति विश्वास राख्दै सो अनुसार राजनैतिक र सामाजिक व्यवहार गर्दै आएको छु । व्यक्तिगतरुपले मैले सकेसम्म मेरो स्वाभिमान , ईमान्दारिता र निष्ठालाई बचाउने कोशिश गरिरहेछु। अनेक रहर त थिए होलान् तर जीवनलाई झन् झन् सरल बनाउदै गएकी छु ।
तर सङघर्ष ,निष्ठा,ईमान्दारिता र सरलताको मूल्यांकन भै रहन्छ भन्ने सोच सदैब राख्नु सत्य रहेनछ । कि ईतिहासका गणेश प्रवृत्ति जस्तो ठूला नेताको वरपर हिड्न सक्नुपर्‍यो कि आफ्ना बारेमा दरो गरि बोलीदिने कोही नेता हुनुपर्यो, कि आदर्शलाई तिलाञ्जली दिनु पर्यो कि आर्थिक हिसाबले बलियो हुनुपर्यो ।
हालै स्थानीय तहको निर्वाचनको क्रममा मैले मैले मोदी गापाको अध्यक्षमा दाबी गरेको र गठबन्धन भए उपाध्यक्षमा भए पनि उठ्ने ईच्छा जाहेर गरि एकपटक पार्टी नेतृत्वलाई अनुरोध गरेको थिए। दुर्भाग्यवश मैले जनताको सेवा गर्ने हुटहुटीबाट बञ्चित हुनुपर्यो र दुई रात रोएर बसे ।
२०७४ सालमा पार्टीले मलाई उपाध्यक्ष पदमा लड्नको लागि दिएको अवसरका लागि धन्यवाद दिदै सो समयमा पराजित हुन पुगेको विविध कारणहरुको पनि सम्झना गरिरहेकी छु । तर पनि त्यतिबेला आम मोदीबासीको माया पाएकोमा पुन: धन्यवाद दिन चाहान्छु।
समीक्षा गरिरहे, आफ्ना कमजोरीको पनि आत्म समीक्षा गरे । जिल्ला भित्रका अन्य योग्य साथीहरु र मूलतः महिला साथीहरूको पनि अवस्था पनि मनन गरे । अन्य पार्टीका ईमान्दारहरुको पनि अबस्था हेरे।
राजनीतिमा धैर्यता र त्याग चाहिन्छ भन्छन्। मलाई पार्टी , मेरो निष्ठा, समयले पुनः परीक्षा लिएको छ । म उत्रिण हुन चाहान्छु। म मेरो पार्टी भित्रका कमजोरी, नेताका कमजोरीहरु र मेरै कमजोरी बारे उपयुुक्त समयमा उचित तरिकाले राख्ने नै छु ।
म प्रति शुभेच्क्षा, सद्भाव राख्ने तथा सुझाब दिने तमाम शुभचिन्तक र ईमान्दार नेता कार्यकर्ता प्रति हार्दिक आभार व्यक्त गर्दछु।
तर अहिले मेरो/ हाम्रो मूल ध्यान विश्वकै राजनीति ईतिहासमा सर्वाधिक चर्चित, नेपालकै राजनैतिक ईतिहासमा पटकपटक आएका सकटका दिनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र हाल मूलुकको अभिभावक दलकोरुपमा रहेको मेरो पार्टीले लिएको/ गरेको निर्णय बमोजिम नै आफ्ना उम्मेदवारहरुलाई विजयी बनाएर मोदी गापाको बिकास निर्माणको जिम्मा लिने वातावरण बनाउने अवसरका लागि लाग्नेछु ।
आम मोदीवासीहरु र
आम जिल्लाबासीहरुलाई पनि यहि अपिल गर्दछु।
जय नेपाल!

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल