पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना, कस्तो छ अन्य स्थानको अवस्था?
काठमाडौँ/नेपालको मौसममा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा सामान्यतया मौसम सफा छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहने छ। यस क्रममा पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेकाे छ।
जसमा भनिएकाे छ : देशको पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।