चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा-चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं /चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले शुक्रबार कुनै पनि भेटघाटको कार्यक्रम गरेनन् । भ्रमणको दोस्रो दिन शनिबार बिहान ६ः३० बजे हाइकिङ जाने कार्यक्रम रहेको छ । उनको भ्रमणको क्रममा रुट पर्ने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली सुरक्षामा खटिनेछन् । हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटपछि वाङ सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । साथै भ्रमणको तेस्रो दिन आइतबार बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको छ । दुई नेतालाई भेटेपछि उनी त्यसै दिन स्वदेश फर्कनेछन् ।

नेपाल भ्रमणका क्रममा वाङले काठमाडौंबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्था’bout विस्तृतमा छलफल हुने भएको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बीआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ । त्यस्तै, नेपाल र चीनबीच केरुङ–काठमाडौं सीमापार रेलसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग कार्यान्वयनको विषय सो समझदारीपत्रले सम्बोधन गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पु¥याउने भएको छ । चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ । यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ । सो अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ ।

त्यस्तै, भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । यसैगरी, नेपालतर्फ आयातमा चिनियाँ कन्टेनरको संख्या सीमा हटाउन पनि नेपाल सरकारका तर्फबाट आग्रह गर्ने तयारी छ । नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने भएको छ । त्यस्तै, वाङले नेपालका विद्यार्थीलाई चीनमा चाँडै फर्काउन तयार रहेको घोषणा परराष्ट्रमन्त्री नारायण खड्कासँगको द्विपक्षीय छलफलका क्रममा गर्ने भएका छन् ।

रातामाटे—केरुङ विद्युतीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनेछ । सन् २०१९ मा रातामाटे—केरुङ विद्युतीय प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । दुई वर्षभित्र सम्भाव्यता अध्ययन पूरा गर्ने भनिए पनि नसकिएपछि पुनः नयाँ सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो ।

मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने सहमतिपत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्तै, ऊर्जासम्बन्धी परियोजनामा पनि भ्रमणका क्रममा हस्ताक्षर हुनेछ ।

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म कुनै प्रगति भएको छैन । नेपालले बीआरआईबाट ऋण होइन, अनुदान लिन चाहेको छ । नेपालले सुरुवातमा बीआरआईबाट फाइदा लिनका लागि ३५ वटा परियोजना अघि सारेको थियो तर चीनले त्यसलाई एक अंकमा घटाउन भनेपछि नेपालले नौवटा बनाएर पठाएको बताइएको थियो । आधिकारिक रूपमा भने नेपालले बीआरआईका लागि भनेर कुनै पनि परियोजना’bout निर्णय गरेको छैन ।राजधानी दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल