परिचय बदलिएको कुश्मा

तस्बीर सामाजिक सञ्जाल

ढुङ्गाको छपनी बिछ्याएको सानो अनि साँघुरो घोरेटो बाटो । बाटैभरि खच्चडका मलमूत्रको ह्वास्स गन्ध । बजार छिर्ने बित्तिकै टङ्ल्याङ्–टुङ्लुङ् तिनै खच्चडका घण्टीको आवाज । हतार–हतार व्यापारी र हस्याङ्–फस्याङ् भरिया । यो मेरो सहरको पुरानो परिचय हो ।

यति मात्र पनि कहाँ हो र ? सडकको पहुँच नपुग्दाको त्यो समय थुप्रै खच्चडका पिठ्युँमा भारी बोकाइदिने र सयौं खाली डोका र बोराहरू भरेर दूरदराजका गाउँको भोक मेटाइदिने सानो थलो समेत हो यो भूगोल । त्यसो त नून–तेल बोकेर पुतलीबजारदेखि सेतीदोभान–कार्कीनेटा हुँदै बागलुङ–म्याग्दी र मुस्ताङसम्म जाने–आउने बटुवाको पसिना पुछ्ने र भारी बिसाउने चौपारी र बिसौनी पनि हो यो ।

हाल ‘कुश्मा’ नामबाट परिचित यो भूगोललाई मेरो हजुरबुवा उमेरका बुढापाकाहरू ‘कुमुपुर’ भन्न रुचाउँछन् । उनीहरूका अनुसार, सयौं वर्ष पहिला यहाँ कुशैकुशको बगैंचा थियो । जसका कारण यो भूगोललाई ‘कुशुमपुर’ नामले पुकारिन्थ्यो । पछि सोही नाम अपभ्रंश हुँदै कुश्मा रहन गएको जनविश्वास छ ।

प्रसिद्ध कालीगण्डकी नदी र ऊर्जा नदीको रूपमा सुपरिचित मोदीखोलाको काखमा अवस्थित यो सानो बजार फरक भौगोलिक विशेषता बोकेको जिल्ला सदरमुकाम समेत हो । दुई ठूला नदीले बनाएको प्राकृतिक खोचका कारण घण्टौं तल झरेर पसिनाले निथ्रुक्क भिज्दै कुश्मा चढ्नुपर्ने यहाँको अर्को परिचय थियो । तर समयक्रम सँगै अब ती सबै बाध्यता र परिचय बदलिएका छन् अर्थात् मेरो सहरले समयसँगै आफ्नो पहिचान/परिचय बदलेको छ, साख बदलेको छ ।

सानो उमेर, हातमा तेलको ग्यालिन, पिठ्युँमा केही किलो सरसामानको भारी । कुश्मादेखि झरेर झाप्रेबगर हुँदै पारिपट्टिको चौपारीमा विश्राम लिएको त्यो क्षण घरीघरी याद आउँछ । केही बुढापाकाहरू चौपारीको शीतल ताप्दै आफ्नै लयमा गफिंदै गर्दा मेरो कानमा परेका ती शब्द आज पनि उत्तिकै प्रिय लाग्छन्, किनकि त्यतिबेलादेखि नै कुश्माले आफ्नो परिचय बदलेको हो भन्ने मेरो ठम्याइ छ । मैले कल्पनासम्म पनि नगरेका ती कुराहरू वृद्ध बुवाहरूको मुखबाट त्यतिबेला सुनिरहेको थिएँ । उनीहरू भन्दै थिए– ‘ज्ञादीदेखि कुश्मासम्म सीधै आकाशे पुल बन्दैछ !’

म ट्वाल्ल परें … । आश्चर्य मिश्रित मेरा आँखा एकाएक आकाशतिर मडारिए । तल मोदीको किनारबाट माथि हेर्दा दुईतिर फराकिला भीमकाय पहरा र आकाश बाहेक केही देखिनँ मैले । त्यो बेला वारि पहाडबाट पारि पुल बन्ने कुरा सुन्दा मात्र पनि आङ सिरिङ्ग हुन्थ्यो । एकछिन कल्पनामा रमाएँ, म के सुन्दैछु, मन खुसीले गद्गद् भयो, सपना…, विपना… मन उलटपुलट भयो ।

स्थानीय सामाजिक व्यक्तित्व सूर्यप्रकाश पौडेलले ज्ञादीको वारि ढिकबाट कुश्माको पारि ढिकसम्म लामो र अग्लो आकाशे पुल बन्न सम्भव छ भनेर पहिलो पटक भनेको कुरा त्यसदिन थाहा पाएको थिएँ मैले । यी वृद्ध बुवाहरूको कुराले क्षणभरमै मेरो सबै थकान मेटाइदियो । घण्टौं झरेर बगरको पुलबाट तर्नुपर्ने बाध्यता हट्ने भयो भनेर मन चङ्गा भयो ।

गह्रुङ्गो तेलको ग्यालिन र पिठ्युँको भारी मलाई हलुका लाग्न थाल्यो । फुरुङ्ग हुँदै उकालो उक्लें । मनोलाप गर्दै घर पुगें । बाटो कसरी काटें, पत्तै भएन । बाटोमा सुनेको कुरा सबै अरूलाई सुनाएँ । कतिले पत्याए, कतिले ‘हावागफ’ भनेर उडाए ।

हो, त्यतिबेला सूर्यप्रकाश पौडेलले उठान गरेका यी विषयहरू सुन्दा धेरैले यो ‘पागल’ कुरा पनि भन्ने गर्दथे । तर उनले विदेशमा रहेका क्रममा देखे–भोगेको अनुभव र आफूसँग भएको ज्ञानका आधारमा यो सम्भव भएको कुरा गरेका रहेछन् ।

अरूले मानुन् या नमानुन्, नाम लिउन् वा नलिउन्, साँच्चै मेरो सहरले आफ्नो परिचय बदल्ने खुड्किलो त्यही विन्दुबाट सुरुवात गरेको थियो । तत्कालीन समयमा कुश्मा–ज्ञादी जोड्ने गरी निर्माण भएको त्यो पुल हेर्न थुप्रै भीड लाग्ने गर्दथ्यो । संघीयता कार्यान्वयनमा आएपछि ओझेलमा परेको पर्वत सदरमुकाम कुश्मा अहिले यिनै मानव निर्मित पुल तथा साहसिक संरचनाहरूकै कारण थप गुल्जार बनेको हो । अहिले कुश्मामा मात्र लामा र अग्ला सातवटा पुल रहेका छन् भन्दा धेरैले पत्याउन मुस्किल पर्छ । तर यो सत्य हो ।

२०६७ सालमा नेपालकै अग्लो पुलको नामबाट कुश्मा–ज्ञादी झोलुंगे पुलले प्रख्याति कमाएपछि कुश्मा पर्यटकीय नगरीको रूपमा आफ्नो परिचय बनाउन थालेको हो । यो पुल बनेपछि कुश्मामा अरू पुलहरू क्रमशः थपिंदै गए र पर्यटकीय सम्भावनाहरू उजागर हुँदै गए । एकपछि अर्को गर्दै कुश्माले अग्ला पुल र साहसिक संरचनाको इतिहास रच्दै गयो ।

२०७० मा कुश्मा–कैया, २०७३ मा कुश्मा–मुडिकुवा, २०७४ मा कुश्मा–खरेहा–अधिकारीफाँट पुल निर्माण भए । त्यसैगरी पछिल्लो समय कुश्माको अदुवाबारीबाट बागलुङको बाङ्गेचौर जोड्ने गरी अर्को ‘कालीगण्डकी गोल्डेन ब्रिज’ निर्माण भएको छ । यो विश्वकै अग्लो दावी गरिएको छ । यसले अझ थुप्रै पर्यटकलाई आकर्षित गर्दै गएको छ ।

यतिले मात्र यहाँको परिचय थपिने क्रम रोकिएन । पर्वत उद्योग वाणिज्य संघको पहल र स्थानीय सामाजिक व्यक्तित्व होमनारायण श्रेष्ठको नेतृत्वमा २०६९ मा कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण भयो । यो यहाँको साख बढाउने अर्को पहलकदमी थियो । पहिलोपटक नेपाली प्राविधिकहरूको सीप, दक्षताबाट निर्मित यो केवलकार मोडेलको पुलले अझ थप पर्यटकलाई आर्षित गर्‍यो ।

कुश्माबाट बलेवा एयरपोर्ट जाने–आउने लामो पुल निर्माणका लागि हौसिएका कुश्मेलीहरूलाई त्यतिबेलाको प्रविधिले साथ नदिएपछि केवलकार मोडलको यान्त्रिक पुल बनाउन यहाँका सर्वसाधारण एकमत भएका थिए । यही यान्त्रिक पुल मानिस र सामान ढुवानी गर्ने साधन मात्र नभई यहाँ आउने पर्यटकहरूको रोजाइको साधन समेत बन्न पुग्यो । निजी क्षेत्रबाट पाँच सय बढी सर्वसाधारणले विश्वास गरेर प्रत्यक्ष लगानी गरेको यो यान्त्रिक पुल नेपालमा पहिलो दावी गरिएको छ ।

त्यसैगरी कुश्माको मध्य छेउबाट यहाँको गरिमा बढ्ने गरी पुनः परिचय थपियो । कालीगण्डकी नदीमाथि कुश्मा–नेपाने जोड्ने गरी ५२० मिटर लम्बाइ र २२८ मिटर उचाइ रहेको अर्को साहसिक (ह्याङ्गिङ) पुल निर्माण भएको छ । युवा व्यवसायी राजु कार्कीको अगुवाइमा निर्माण भएको सो पुलका कारण अहिले कुश्मामा आउने पर्यटकमा उल्लेख्य वृद्धि भएको छ ।

साहसिक पर्यटनमा लामो समय अनुभव बटुलेका राजु कार्की साँच्चै आफ्नो थातथलो छोडेर कुश्माको परिचय बदल्न आएका एउटा दर्बिलो खम्बा हुन् । उनले थुप्रै भूगोल चियाए, नियाले तर कुश्मामा भरपुर सम्भावना देखे । कैयन् पटक निराश भएर घर फर्केका उनले निरन्तरको प्रयास पछि कुश्माको कहालीलाग्दो बाँदर लड्ने भीरमा देखेको स्वर्णिम सपना अन्ततः साकार पारेका छन् । उनको सपनालाई यहाँका थुप्रै युवाले साथ दिए ।

 

सुरुका दिनमा थुप्रै हण्डर खाएका उनी आज कुश्माको अनुहार बदल्ने युवा व्यवसायीको रूपमा चिनिन्छन् । अहिले उनी मात्र होइन उनीसँगै थुप्रै युवा कुश्मेली माटोमा साहसिक पर्यटनको सम्भावना खोजी गरिरहेका छन् ।

‘पर्वत’ अनकन्टार बुझ्नेहरू पनि आज पर्वत कुश्माको विकास र यहाँको सुगमताले थप मोहित हुने गरेका छन् । चाह्यो भने नेपाली माटोमै केही गर्न सकिन्छ भन्ने सन्देश यहाँका युवा व्यवसायीहरूले दिन सफल भएका छन् ।

आधा दर्जन बढी अग्ला र लामा पुल, नेपाली मोडेलको केवलकार, साततले गुप्तेश्वर गुफा, दुई मुखभएको अल्पेश्वर गुफा, दुर्लभ कालीगण्डकीको शिला र यहाँको र्‍याफ्टिङ, धार्मिक ग्रन्थमा वर्णित मोदीवेणी दिव्यधाम, सहस्रधारा र पार्वती गुफा, निर्माणाधीन विश्वकै अग्लो शिव–पार्वतीको मूर्ति, ऐतिहासिक दुर्लुङकोट, बाटुलेचौर लगायत यहाँका धार्मिक एवं दर्शनीय स्थलहरूले बदल्दै लगेको कुश्मालाई विश्वकै अग्लो स्वीङ, विश्वकै दोस्रो अग्लो बञ्जी, विश्वकै लामो र अग्लो स्काई साइक्लिङ, विश्वकै पहिलो अग्लो स्काई क्याफेले झनै बदलेको छ, उघारेको छ ।

पछिल्लो पटक अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी धर्मपत्नीले एमसीसी टेबलिङ गर्ने बिहान यहाँस्थित विश्वकै अग्लो स्काई क्याफेमा बसेर गरेको ‘बिहानीखाजा’ समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कुश्माको परिचय थप उँचो बनाउने क्रम रोकिएको छैन । थप वृद्धि हुँदै गएको छ । यहाँका स्थानीय युवा व्यवसायीको पहलमा विश्वकै दोस्रो अग्लो सुपरम्यान शैलीको जीपलाइन समेत संचालनमा आएको छ । यसले कुश्मामा थप र नयाँ स्वाद दिइरहेको छ । विदेश गएर आएका युवादेखि कुश्मामै भविष्य देखेर लगानी बढाउने युवाहरूको कमी छैन यहाँ । सरकारी पक्ष अपेक्षाकृत उदासीन देखिए तापनि निजी क्षेत्रको उच्च मनोबलले कुश्माको आकर्षण बढाउँदै लगेको हो ।

डरलाग्दो तारेभीरमा आज ठूला–ठूला संरचना निर्माण भइरहेका छन्, डोरीमा झुण्डिंदै बाँदरले मान्छे गिज्याउने तिनै भीरहरूमा साहसिक गेमहरू संचालन भइरहेका छन् । झिलिमिली हेर्न दीपावली कुर्नु पर्दैन यहाँ । पुलमा रातभर आँखा नझिक्याई बल्ने धिपधिपे बत्तीहरूले पर्यटकको मन थप लोभ्याउँछन् ।

 

चचहुई गर्न दशैं कुर्नु पर्दैन यहाँ । हरेक दिन निष्फिक्रीसँग लट्ठामा हुँइकिएका हुन्छन् मानिसहरू । फरक–फरक प्रकारका पीङहरूबाट यहाँ आउने पर्यटकहरूले मनोरञ्जन लिइरहेका हुन्छन् । पर्यटक लक्षित गरेर सुविधासम्पन्न स्वीमिङ पुल सहितको होटलहरू निर्माण भइरहेका छन् । स्थानीय पर्वतको अर्गानिक स्वाददेखि, थकाली भान्सा, कोरियन र जापानिज खानाका स्वादहरू यहाँ रोजी–रोजी लिन पाइन्छ । अन्य थुप्रै सवालमा मत विभाजन भए पनि कुश्माको परिचय उँचो बनाउने विषयमा यहाँका व्यवसायी सधैं एकमत देखिन्छन् ।

संघीयताले थिलथिलो पारेको घाउ यिनै मानवनिर्मित सम्पदाहरूका कारण ‘खाटा’ बसेको अनुभव भएको छ । दिनकै सयौं गाडी यिनै संरचनामा रमाउन कुश्मा आउने जाने गर्दछन् भने यहाँका होटल व्यवसाय यिनै पर्यटकका कारण भरिभराउ देखिन्छन् । हिजो नून, तेल थाप्न खच्चड लाइन लाग्ने कुश्मामा आज सहजढंगले गाडी राख्ने ठाउँको अभाव हुँदै गएको छ ।

फराकिलो सडक सुविधासँगै पोखरादेखि कुश्मासम्म एकघण्टामै आउन सकिन्छ । माटोको सहर भनेर चिनिएको पर्यटकीय गन्तव्य मुस्ताङ जानेदेखि, बागलुङ कालिका र पञ्चकोट दर्शन गर्न आउनेको समेत रोजाइमा पर्ने गरेको छ कुश्माबजार । सहज र सीधा सडकको पहुँच भएका कारण पोखरा आउने पर्यटकहरूको पहिलो गन्तव्य कुश्मा नै हुने गर्दछ । दुर्लुङकोट, भैरवस्थानबाट देखिने मनोरम दृश्यदेखि, चित्रेको होमस्टेको स्वाद चाख्नेहरूसम्मले कुश्माको अर्गानिक स्वाद नचाखी फर्कन मन गर्दैनन् ।

साँच्चै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि र कोरोना कहर स्वाट्टै घटेपछि कुश्माले पर्यटक धान्न धौ–धौ हुने देखिन्छ । यहाँका मनोरम डाँडापाखा, स्वच्छ वातावरण, अर्गानिक स्वाद, स्थानीय होमस्टे तथा सालैजो र मारुनीमा नाच्नुको मज्जाले पर्यटकलाई थप रोमाञ्चित बनाउनेछ । त्यसका अतिरिक्त स्थानीय मोदी र कालीको सुसेली सँगै यहाँको ओझिलो आतिथ्यताले पर्यटकको बसाइ अझ लम्ब्याउनेछ ।

 

पोखरा आएका पर्यटकहरू कुश्मासम्म आउन जसरी सडक पहुँच सहज छ, त्यसैगरी हामीले स्थानीयस्तरका सडकहरू समेत थप स्तरोन्नति गर्नुपर्नेछ । पर्यटन मैत्री सडक, पार्क, पार्किङ सुविधा र पर्यटकीय स्थलहरूमा सार्वजनिक शौचालय निर्माणमा ध्यान दिन जरुरी छ । बजारभित्र रहेका गुजुमुज्ज तार व्यवस्थापनदेखि, भद्दा विज्ञापनहरूको व्यवस्थापनमा आजैदेखि जुट्नुपर्नेछ ।

साहसिकदेखि धार्मिक पर्यटनसम्मका विकास र विस्तारका मोडेलमा थप हातेमालो गर्नुपर्नेछ ।
प्रस्तावित कालीगण्डकी जलाशययुक्त आयोजना, हेम्जा–(नयाँपुल) डिमुवा सुरुङ मार्ग, कालीगण्डकी करिडोर निर्माण र कोरला नाका संचालनमा नेतृत्व तहबाट पहलकदमी एवम् खबरदारी जरूरी छ ।

सम्भावित कुश्मा–भैरवस्थान केवलकार, कुश्मा–दुर्लुङकोट केवलकार, कुश्मा–बलेवा एवं कुश्मा ज्ञादी सीधा मोटरेवल पुलका लागि निजी तथा सरकारीस्तरबाट कोसिस गर्नुपर्ने देखिन्छ । पार्वतीधाम सँगै यहाँका पर्यटकीय क्षेत्र जोडिने गरी एउटा पर्यटक पथ निर्माण आवश्यक देखिन्छ । पर्यटकहरूको बसाइ लम्ब्याउन र यहाँ आएका पर्यटकहरूलाई कुश्मा आसपास रहेका ऐतिहासिक, मनोरञ्जनात्मक, धार्मिक एवं पर्यटकीय क्षेत्रमा पुग्न सहजताका लागि चुस्त सूचना प्रणाली स्थापना गर्न र सोही अनुसार प्रचारप्रसार गर्न आवश्यक छ ।

प्राकृतिक रूपमै धनी कुश्मा, धार्मिक सम्पदाका हिसाबले समेत सम्पन्न छ । यसका अतिरिक्त सानो भूगोलमा मानव निर्मित साहसिक र मनोरञ्जनात्मक संरचना हाम्रो अर्को परिचय बनेको छ । अबका दिनमा हामी समुन्नत, सुखी र समृद्ध बन्ने आधार पर्यटन नै हो । अतः हामीसँग भएको अथाह अवसरलाई बेलैमा चिनौं, सही सदुपयोग गरौं ।

हामीसँग भएका सम्पदा, अवसर र तथ्यको बेलैमा पहिचान गर्न सकेनौं भने हामी थुप्रै वर्ष पछि पर्नेछौं । अतः आफूसँग भएका सबै सम्भावनाको बोध गर्दै हामी अतिथिमैत्री बनौं, हाम्रा संरचनाहरू सोही अनुसार निर्माण गरौं । परिचय र पहिचान फराकिलो बनाउँदै गएको कुश्माको बदलिएको साख अझ उँचो बनाउन हरसम्भव कोसिस गरौं ।राजु पौडेलले अनलाईनखबरका लागि लेखेको सामाग्री साभार गरेका हौ । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना