गठबन्धनको सामना गर्न एमाले एक्लै काफी छ, आवश्यक परे भत्काइन्छ- पदम गिरी

 

काठमाडौं । स्थानीय तहको निर्वाचन हुने कि नहुने भन्ने विषयको अन्यौलता कायम रहेका बेला सत्ता गठबन्धनले शनिबार बैठक बसेर आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नका लागि प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको छ । यसमा सत्तागठबन्धनले कानुनी जटिलता देखाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकारलाई बाध्य पार्नेगरी आन्दोलनको घोषणा गर्नै लागेको बेला गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्नका लागि प्रधानमन्त्रीमार्फत सुझाव दिने निर्णय गरेको छ ।

यस्तै सत्ता गठबन्धनकै शनिबारकै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनमा पाँचदलीय गठबन्धन तालमेल गरेर एमालेको विरुद्धमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता गरेको सत्ता गठबन्धनकै नेता माधवकुमार नेपालले खुलासा गरिसकेका छन् ।

सत्ता गठबन्धनको सामना गर्ने कि भत्काउने ?

एमालेभित्र वहस चलिरहेका बेला एमालेका युवा नेता, पार्टीका केन्द्रीय सदस्य एवम पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम गिरीसँग गरिएको कुराकानी 

– तपाईंको पार्टी आन्दोलनको तयारीमा थियो । सत्तागठबन्धनले जेठभित्र चुनाव घोषणा गर्ने भनेपछि एउटा माग तपाईंहरूको पूरा भयो होइन त ?

संविधानको कार्यान्वयन गर्नका लागि प्रतिपक्षको हैसियतले सरकारलाई समयमै निर्वाचनमा जानका लागि दबाब सृजना गर्नुपर्ने दायित्व हाम्रो थियो । यसका लागि हामी तयारी अवस्थामा थियौ । यसमा सत्तारुढ गठबन्धनले एउटा नाटक मञ्चन गर्‍यो । संवैधानिक व्यवस्थाअनुसार वैशाखमा निर्वाचनमा अनिवार्य जानुपर्थ्यो । निर्वाचन आयोगले पनि ताकेता गरेको थियो । सबैतिरबाट दबाब आयो । राष्ट्रपतिले पनि दबाब दिनुभयो । सबैको दबाब थेग्न नसक्ने अवस्था आएपछि घस्रिदै-घस्रिदै निर्वाचनमा जाने अवस्थामा आइपुगेको हो ।

– यदि गठबन्धनले भनेजसरी नै जेठभित्रै निर्वाचन भयो भने असोज २ गते निर्वाचित जनप्रतिनिधिले अगाडि नै निर्वाचन गरियो भनेर अदालत गए भने अर्को समस्या आउने अवस्था पनि देखिन्छ । त्यसो भएको हुनाले अलिअलि कानून संशोधन गरेर असोज महिनाभित्र चुनाव गर्नेगरी पनि त जान सक्छ नि सरकार होइन र ? यसमा के भन्नुहुन्छ ?

एउटा कुरा के हो भने संविधानमा निर्वाचित पदाधिकारीको पदावधि ५ वर्ष हुनेछ भन्ने व्यवस्था गरिएको छ । अर्को कुरा निर्वाचनसम्बन्धी ऐनमा के व्यवस्था छ भने जनप्रतिनिधिको पदावधी सकिनुभन्दा दुई महिना अघि निर्वाचन घोषणा गर्नुपर्ने व्यवस्था छ । यदि यो संविधानसँग बाझिएको छ भने त अदालतमा मुद्दा जानुपर्‍यो । अनि अदालतले ऐन संविधानसँग बाझियो अर्को ऐन बना भन्नुपर्‍यो नि त । यसमा अहिलेसम्म कहि कतै भनेको सुन्नुभएको छ ? छैन नि । त्यसैले अहिलेको गठबन्धन सरकारले लाज छोप्नका लागि मात्र जेठभित्र चुनाव गर्छु भन्ने पक्षमा आएको हो ।

– भनेपछि गठबन्धनले जेठभित्र निर्वाचन गर्छु भनेपछि अब तपाईंहरू सडकमा, कि जाने ?

हामी निर्वाचनमा जानका लागि एकदमै लालयित छौ ।

– तपाईंले भनेअनुसार त जेठ ५ गतेभित्र भइसक्नुपर्यो नि । कि जेठ महिनाभित्र गरे पनि तपाईंहरूको आपत्ति भएन होइन त ?

एउटा कुरा त उहाँले निर्वाचन घोषणामा नै एकदमै विलम्ब गर्नुभयो । अर्को कुरा जेठ महिना भनेर जनताका बीचमा आफ्नो एजेण्डा स्थापित गर्न खोजेको देखिएको छ । अब गठबन्धन निर्वाचनबाट भाग्न सक्दैनन् भाग्न पनि हामी दिने अवस्थामा छैनौं ।

– पाँच दलले तीनवटै तहको चुनावसम्म गठबन्धनबीच तालमेल गर्ने समझदारी गरिसकेको अवस्था छ । यस्तो अवस्थामा पनि तपाईंहरू चुनाव-चुनाव किन भनिरहनुभएको छ ? तपाईंहरूलाई त अहिले कमजोर भएको अवस्थामा निर्वाचन नहुनु नै फाइदा हुन्थ्यो नि ?

एउटा कुरा के हो भने हामी लोकतन्त्रमा विस्वास गर्नेले निर्वाचनमा जादाँ फाइदा हुन्छ वा घाटा हुन्छ भनेर जाने होइन । लोकतन्त्रको रक्षाका लागि, राजनीतिक स्थायित्वका लागि, संविधानको कार्यान्वयनका लागि संवैधानिक व्यवस्था अनुसार निर्वाचनमा जानुपर्छ । अर्को कुरा आज गठबन्धन तोडिनु हुँदैन भनेर यहाँ किन कोलाहल मच्चिरहेको छ भने अहिले पनि नेपाली जनताको बीचमा नेकपा एमाले नै लोकप्रिय छ । जनताको मुद्दा, राष्ट्रको मुद्दा र जनजिविकाको मुद्दा नेकपा एमालेले बोकेको छ । देशमा सुशासन र समृद्धि कायम गर्ने मुद्दा एमालेले बोकेको छ । त्यो एमालेको मुद्दाको अगाडि मुद्दाहिनहरूले जुनसुकै चुनावी नारा लिएर गए पनि उनीहरुले जनताको मन र मत जित्न सक्नेवाला छैनन् ।

– प्रतिगमनकारी, संविधानको धज्जी उडाउने, संसद विघटन गर्ने पार्टी कसरी निर्वाचनमा गएर जितेर आउँछ भनेर गठबन्धन पार्टीले पनि त मुद्दा उठाउदैँ आएका छन् नि ?

ए भनेपछि संविधानले यो समयमा निर्वाचन गर भनेको ठाउँबाट भाग्न खोज्नेहरू लोकतन्त्रका पक्षधर हुने संविधानको रक्षा गरेको ठहरिने, जसले जनताको जनादेश लिएर मुलुकलाई राजनीतिक निकास दिँ भनेको छ उ लोकतन्त्रविरोधी हुन्छ ? उहाँहरूले भनेको कुरा जनताले स्वीकारेको अवस्था छैन ।

जनताले राम्रोसँग बुझिसकेका छन् । एउटा कुरा के बुझ्नुपर्छ भने यो गठबन्धन कसका विरुद्धमा बनेको हो भने नेकपा एमालेका विरुद्धमा बनेको हो । यो देश बनाउनका लागि बनेको गठबन्धन होइन । यो राष्ट्रियताको रक्षाका लागि बनेको गठबन्धन होइन ।

– गठबन्धनले संविधानको रक्षा गर्नका लागि बनेको गठबन्धन भन्दै आएको छ नि त ?

म तपाईंलाई भनौं । यो गठबन्धनको हैसियत केपी ओली नेतृत्वको सरकारलाई ढलाएपछि यदि गठबन्धन सरकारसँग ताकत थियो भने नेपालको मिचिएको भूमिकाविरुद्ध बोल्ने आट गरेको खै ? जयसिंह धामीका विषयमा यो सरकार कहीँ कतै बोलेको छ ? कूटनीतिक मुद्दामा सरकारले मुख खोलको छ ? केपी ओलीको सरकार ढालेपछि के काम गरेको छ र ?

– सरकारले कूटनीतिक हिसाबले गर्दै आएको छ नि त ?

कुटनीतिक हिसाबले कुन मुद्दामा के गरेको छ र के बोलेको छ मलाई बताइदिनुस् न त । केपी ओली नेतृत्वको सरकार ढलाएपछि झन् हुन लागेका विकास निर्माणका काम पनि सबै रोकिएका छन् । नयाँ बजेट आएको ७ महिना बितिसकेको छ, १४ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न सकेको छैन । तरलताको अभाव सृजना भइरहेको छ । जताततै व्यापार घाटा छ ।

– अहिलेको सरकार आवश्यकताले भन्दा पनि व्यवस्था जोगाउनका लागि बाध्यताले बनेको सरकार हो भन्दै आउनुभएको छ । संविधान र व्यवस्था जोगाउनका लागि सरकार बनेकाले अरु सबै विषय गौण हुन्छन् नि त ?

अहिले नेपालको राष्ट्रियतामाथि धावा बोलिएको छ । अर्थतन्त्र सबै चौपट छ । गरिबी र बेरोजगारी बढ्दो छ । यस्ता सानातिना काम गर्न नसक्ने गठबन्धन सरकारले संविधानको रक्षा र व्यवस्थाको रक्षा गर्छुभन्दा कोही पत्याउँछ ?

केही पनि होइन, यो त काले-काले मिलेर खाउँ भाले भनेझैं लुटतन्त्र मच्चाउनका लागि निर्माण भएको गठबन्धन सरकार हो ।

तपाईंलाई म धेरै उदाहरण देखाउन र सुनाउन सक्छु । एउटामात्रै उदाहरणभन्दा पुनर्निर्माण प्राधिकरणले सबै खातापाता लगेर अर्थमन्त्रालयलाई बुझाइसकेको छ । निर्माण भएका भवन र विद्यालयले पैसा पाएका छैनन् । बन्दै गरेका काम अलपत्र छन् । बन्दै गरेको धरहरा अलपत्र छ । सारा पुनर्निर्माणको काम अलपत्र छ । आयोजनाका पैसा त्यतिकै रोकेर राखिएको छ ।

यसको एउटै कारण के हो भने यो सबै पैसालाई रकमान्तर गर्ने र बोराका बोरा पैसा लगेर कार्यकर्तालाई पठाउने र भष्ट्राचार यस्तो मौलाउने स्थिति बन्दै छ कि चुनावलाई प्रभावित पार्न सारा कार्यकर्तालाई पैसा दिने ढुकुटी रित्याउने यो उद्देश्यले गठबन्धन सरकार भनेको हो ।

– भनेपछि तपाईं र तपाईंको पार्टी डराइ सक्यो होइन त ?

हामी डराएको होइन, देश बर्वाद हुँदैछ, राष्ट्र लुटिँदैछ, अर्थतन्त्र खोक्रो बनाइँदैछ । अर्थतन्त्र टाट पल्टाइदिएपछि देश त बर्वाद हुने भइहाल्यो नि ।

– एकातिर पाँच दलीय गठबन्धन बलियो भएर तीनवटै तहका निर्वाचनमा होमिँदै छ । अर्कोतिर केपी ओली नेतृत्वको सरकार टिकाउन नसकेको, पार्टी फुटाएको, संविधान मिचेको, संसद विघटन गरको जुन आरोप छ नि यसको सामना गर्न कत्तिको सहज छ ?

एउटा कुरा के हो भने हाम्रा विरुद्धमा केही भ्रम सृजना गर्ने काम पाँचदलीय गठबन्धनले गरेको छ । समयक्रमअनुसार ती सबै भ्रममात्र रहेछन् भन्ने कुरा जनताका बीचमा प्रष्ट हुँदै गएको छ र बिस्तारै भइरहेको पनि छ । यतिसम्म कि संसद विघटन र निर्वाचन घोषणाको गर्दा जुन केपी ओली वा नेकपा एमाले संघीयताविरोधी हो भनेर जुन हाम्रो विरुद्धमा नाराबाजी गरियो नि । त्यो त भ्रम सावित भइसकेको छ ।

अस्ति प्रचण्डले स्थानीय तहको निर्वाचन सारेर अर्ली निर्वाचन गरौं भनेर बोल्नुभयो । पार्टीभित्रको दबाबलाई थेग्न नसकेर आज शेरबहादुर देउवाले चुनाव गर्न तयार हुनुभएको छ । प्रचण्ड र माधव नेपालले त अर्ली संसदीय निर्वाचन गरौं बरु स्थानीय तहको निर्वाचन सारौं भन्नुभएको होइन त ?

तपाईंहरूले पनि समाचार लेखेकै त हो नि । केपी ओलीले यो संसदले काम गरेन, निर्वाचन गरौं भन्दा प्रतिगामी हुने तर, प्रचण्ड र माधव नेपालले अर्ली निर्वाचन गरौं भन्दा त्यो अग्रगामी हुने । यस्तो दुनियामा कहीँ हुन्छ ? अनि यो कुरा हामी जनताको बीचमा लिएर जान सक्दैनौ र ? एउटा कुरा ।

अर्को कुरा कम्युनिष्टको दुईतिहाइको सरकारको थियो । पछि विभाजित भए । पतनको बाटोमा नै गए । अब त्यसपछि जनताको जुन जनमत थियो त्यसलाई जोगाइ राख्नका लागि स्वाभाविक रूपमा जनताको जनादेश प्राप्त गर्नका लागि पार्टी नेतृत्वको हैसियतले केपी शर्मा ओलीले त्यो निर्णय गर्नु एकदमै स्वभाविक थियो ।

तर, आज के भएको छ भने केपी ओलीका विरुद्धमा देशी-विदेशी सबै शक्ति घेराबन्दी गर्न खोज्दै छन् । अनि अहिलको गठबन्धन पनि अप्राकृतिक खालको गठबन्धन बनेको छ । एकथरी आफूलाई कम्युनिष्ट भन्ने नेकपा माओवादी केन्द्रको नेतृत्व गरिरहेका प्रचण्ड र नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहनुभएका माधव नेपालले पनि आफूलाई कम्युनिष्ट नै भनिरहनुभएको छ । उहाँहरूको झण्डा पनि कम्युनिष्टकै देखिन्छ । तर, कांग्रेससँग गठबन्धन गरेर कम्युनिष्ट पार्टीका विरुद्धमा लागिरेहका छन् ।

– प्रचण्डले त नेकपा एमालेभन्दा त कांग्रेस नै वामपन्थी हो भनिसक्नुभएको छ नि ?

हो, त्यही हो विचारमा आएको बिचलन भनेको । अब प्रचण्डसँग माधव नेपालसँग केही पनि बाँकी छैन । उहाँहरूले कुनै दिन हाम्रो चुनाव चिन्ह रुख हो भन्नुभयो भने पनि अनौंठो नमाने हुन्छ ।

– उहाँहरूसँग सबै चिज छ नि । संघीय सरकारको नेतृत्व छ । प्रदेश सरकारको नेतृत्व छ । गठबन्धनमा पाँचवटा दल सँगै छन् । त्यसैले आज उहाँहरूसँग सबै चिज छ । तपाईंहरूले पो सबै चिज गुमाउनुभयो होइन र ?

होइन मलाई के गजब लाग्छ भने, हिजो हामी पनि कांग्रेसको नेतृत्वमा सरकारमा गएको होइन र । पछि फेरि हामी कम्युनिष्ट एक भएर निर्वाचनमा गएर फेरि सरकारको नेतृत्व पनि गरेकै त हो नि । आज त्यही कांग्रेसको नेतृत्वमा सरकार छ ।

प्रदेश सरकार पनि कांग्रेसकै र कतिपय गठबन्धन अन्य दलको नेतृत्वमा पनि प्रदेश सरकार छ । त्यसले के फरक पार्छ र ? उनीहरूले जनताको एजेण्डा बोकेको भए, देशको एजेण्डा बोकेको भए, राष्ट्रको एजेण्डा बोकेको भए, स्वाधिनताको एजेण्डा बोकेको भए, सुशासन र विकासको एजेण्डा बोकेको भए स्वभाविकरूपमा नेकपा एमालेले त्यसलाई चुनौतीका रूपमा लिन्थ्यो । र, जनताको बीचमा जान एकदमै अफ्ठ्यारो पनि हुन्थ्यो । जुन एमालेले बनाएको समृद्धिको विरासत र विकास छ त्यसलाई भत्काउनका लागि पो आएको हो नि गठबन्धन त । सीधा जनताले बुझेका छन् नि ।

– अहिले एजेण्डा कसले पो हेर्छ र ? चुनाव भनेको त गणितीय हिसाव किताव होइन र ? गठबन्धनका साना पार्टी र कांग्रेस पार्टी एकातिर छ । तपाईंहरूको पार्टी फुटेर पनि टुक्रिसकेको छ । यो त तपाईंहरुलाई ठूलै चुनौती होइन र ?

यसमा के हुन्छ भने संसदमा सांसद खरिद-बिक्री भए । यसले अंकगणितीय हिसाबले फरक पार्छ र त्यसले प्रत्यक्ष रूपमा प्रभावित हुन्छ । प्रदेशमा पनि सांसद खरिदबिक्रीमा पर्नुभयो । एउटा सूर्य चिन्ह लिएर चुनाव जित्ने पछि गएर पद पैसाका लागि अर्को पार्टीमा प्रवेश गर्ने यस्ता खालका हर्कत भए । तर, जनताको स्तरमा भने त्यो समस्या हुँदैन ।

जनता सार्वभौम छन् । जनताले आफ्नो राष्ट्रको भविष्य सोचेर आफ्नो अभिमत स्वतन्त्र ढंगबाट प्रयोग गर्ने हो । उनीहरू कसैको पद र पैसाको प्रलोभनमा पनि पर्ने छैनन् । त्यसैले जनताले आफ्नो मत स्वतन्त्र ढंगबाट आफ्नो मतको प्रयोग गर्ने स्थित बन्छ । र, फेरि पनि नेकपा एमालेको पक्षमा, सूर्यको पक्षमा व्यापक जनमत यस्तो उभार आउनेवाला छ । कोही पनि देशभक्त मान्छे यो माटोलाई एकचोटी समातेर एकचोटी सोच्यो भनेदेखि साच्चै नेकपा एमालेलाई मत हालिएर भने राष्ट्रप्रति मेरो घात हुन्छ मेरो आउने सन्ततीप्रति मैले घात गरेको ठहर्छ भनेर त्यो सोचेर त्यो संकल्पका साथ यो निर्वाचनमा जनता होमिनेछन् ।

– छुट्टाछुट्टै लड्दा पनि नेकपा एमालेलाई नेपाली कांग्रेस भारी हुन्थ्यो भने अहिले त दुई वामपन्थी पार्टी र अर्को समाजवादी पार्टी त घोषितरूपमा नै गठबन्धन सरकारमा छन् । एक सयदेखि दुई सय मतान्तरले हारजित हुने ठाउँमा यत्रा पार्टीबीच गठबन्धन हुुँदा त्यसै नेकपा एमाले पराजित हुने देखिहालियो नि ?

मैले गणितीय कुरा नै गरेको हो । स्थानीय तहको निर्वाचनमा अहिले गरेको गणितको हिसाब काम लाग्दैन । भरतपुरमा जुन कांग्रेस र माओवादीको बीचमा एलाइन्स भएर चुनाव गरियो नि । जसरी बत्ती निभाएर, मत पत्र च्यातेर भोट काउन्टिङ भयो नि अब त्यस्तो कुनै पनि हालतमा सम्भावना छैन । त्यो हेरेर एमाले पनि बस्दैन । अर्को कुरा त्यहाँ गठबन्धन गर्दा सानो एउटा पार्टीलाई नेतृत्व दिँदा नेपाली कांग्रेसले गलत गर्‍यो भन्ने निष्कर्षमा कांग्रेसका कार्यकर्ता छन् । माओवादीको चुनाव चिन्हमा कांग्रेसका कार्यकर्ता भोट हालेर आफ्नो राजनीतिक स्वाभिमान गुमाउने पक्षमा छैनन् ।

– त्यो त तपाईंहरूको चाहनाको कुरा भयो । पार्टीले केन्द्रबाट गठबन्धन गरिसकेपछि नेता कार्यकर्ताले नस्वीकार्ने भन्ने त हुदैँ हुँदैन न नि त ?

कार्यकर्ताले भन्दैन । त्यो गठबन्धन केका लागि भनेर । यो कारणले हामीले गठबन्धन गर्‍यौं भन्नुपर्यो नि । एमाले हराउनका लागि हो गठबन्धन गरेको भन्दै चुनाव जितेर फर्किन्छन् भनेर त विस्वास गर्न सकिँदैन नि ।

– एक्लिएको एमालेलाई भोट दिनुभन्दा त बलियो गठबन्धनलाई भोट दिन्छौ भन्ने मनोविज्ञान पनि जनतामा छाउला नि त ?

म तपाईंलाई भनौं, नेपाली कांग्रेसले दिने सिटभन्दा दुई-चार सिट नेकपा एमालेले दियो भने त्यो नेकपा एस भन्ने पार्टी पनि हामीसँग गठबन्धन गर्न आउँछ र त्यो नेकपा माओवादी केन्द्र भन्ने पार्टी पनि आउँछ । त्यसमा कुनै ठूलो कुरा नमान्नुस । होइन, एक सिटमात्र कांग्रेसले दिएभन्दा बढी एमालेले दिए पुग्छ ।

तर, नेकपा एमालेले त्यो मूल्यको राजनीति गर्ने कि नगर्ने भन्ने मुख्य कुरा हो । त्यो बुझाइका आधारमा गठबन्धन गरेर अघि बढ्ने हो भने नेकपा एमाले फेरि पनि समस्यामा पर्छ । त्यतातिर हामीले सोचेका पनि छैनौं ।

– भनेपछि प्रचण्ड र माधव नेपालसँग यहाँहरूको चुनावी गठबन्धन नहुने नै हो त ?

अब माथिबाट घोषणा गरेर प्रचण्ड र माधव नेपालसँग एकता भएर जाने अवस्था त मैले देखेको छैन । तर, स्थानीय तहमा आवश्यकता अनुसार हुन सक्छ । त्यो हुँदैन भन्न सक्दैन । तर, माथिबाट भने त्यस्तो खालको गठबन्धन हुने मैले कुनै पनि गुञ्जायस नै देखेको छैन ।

– माथिबाट हेर्दा तपाईंहरूको गठबन्धन कुन दलसँग हुने सम्भावना बढी छ त त्यसो भए ?

होइन, अहिले एमालेले आफ्नै ताकतलाई विस्वास गर्नुपर्छ । नेकपा एमालेले आफ्नो ताकत भित्रैबाट चिन्नुपर्छ । एक्लै बहुमत पुर्‍याउने हैसियत एमालेसँग छ । त्यसरी अघि बढ्नुपर्छ ।

– बहुमत त हिजो एमालेको सबैभन्दा धेरै क्रेज भएको बेलामा पनि आउन सकेन । ठूलो दल मात्र बनेको हो । गठबन्धन बनाएरै जाने हो भने पनि त एमालेलाई चुनौती छ नि ?

मैले चुनौती छैन भनेको छैन । तर, यति कुरा भन्छु कि एमालेले हिजो केपी ओली नेतृत्वमा दुईपटक बनेको सरकारले गरेका काम लिएर जान सक्ने हो भने । र, नेकपा एमालेका विरुद्धमा जुन खालका षड्यन्त्र भएका थिए, ती विषयबस्तुलाई उदांगो पार्नेगरी जनताका माझमा जान सक्ने हो भने जनताको अपार समर्थन नेकपा एमालेलाई हुन्छ ।

– गठबन्धनसँग चुनाव लड्न नेकपा एमालेलाई कत्तिको चुनौती छ, नढाटेरै भन्ने हो भने ?

होइन म चुनौती नै छैन भनेर भन्दैन र भनेको पनि छैन । नेपाली कांग्रेस आफैंमा एउटा बलियो पार्टी हो । तर, जनताका एजेण्डा उठाउनमा नेपाली कांग्रेस धेरैपटक चुकेको छ । यतिमात्र नभएर नेपाली कांग्रेस सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी पनि हो । त्यसमा अरु सानातिना पार्टी मिसिँदा झन बलियो त हुन्छ नै । तर, एमालेले गरेका काम र गतिविधिले र नेकपा एमालेका विरुद्धमा गठबन्धन दल र सरकारले गरेका षड्यन्त्र जनताका बीचमा पर्दाफास गर्ने हो भने अहिले मैले उठाएका विषय राम्रोसँग लिएर जाने हो भने पहिलेको स्थानमा एमाले पुग्छ ।

– अहिले नेकपा एमाले गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मानसिकरूपमा तयारी गरिरहेको छ कि, गठबन्धन टुटाउने रणनीतिमा लागेको हो ? कुन प्राथमिकता हो तपाईंहरूको ?

नेकपा एमाले यी दुवै पक्षलाई संगै लिएर अघि बढ्न खोजिरहेको छ । नेकपा एमालेले आफ्नो सामर्थ्यलाई बलियो बनाएर जनताको बीचमा जानुपर्छ । अझै घनीभूतरूपमा आफ्ना मुद्दा एमालेले जनताका माझमा स्पष्ट पार्नुपर्छ । त्योसँगै नेकपा एमालेले चुनावी मैदानमा आफ्ना एजेण्डा बोकेर एक्लै जाने तयारी गर्नुपर्छ । त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्नुपर्छ ।

दोस्रो जुन यो अप्राकृतिक गठबन्धन छ नि । यसको आयु धेरै लामो छैन । सकेसम्म त यो निर्वाचनसम्म पनि पुग्दैन । यदि निर्वाचनसम्म पुगिहालेछ भने पनि निर्वाचन जितिसकेपछि गठबन्धनका नेता कार्यकर्ता आ-आफ्नो स्वार्थतिर फर्किएर हिड्नेवाला छन् । यसले देशलाई राजनीतिक स्थिायित्व दिनेवाला पनि छैन । यसले लोकतन्त्रलाई कमजोर बनाउँछ ।

फेरि राजनीतिक मोलमोलाइ र हिसाबकिताब सुरू हुन्छ । फेरि राजनीतिमा अरु खालका विकृति निम्तिन्छ । त्यसै कारणले पनि यो अप्राकृतिक खालको गठबन्धनलाई सकेसम्म भत्काउने काम गर्नुपर्छ । र, अलिकति सुहाउँदो-बुझाउँदो हिसाबले अलिकति विचार मान्यता मिल्नेहरू ल कम्तीमा पनि एक ठाउँमा बसौं स्थानीय तहमा समभदारी गरेर चुनावमा जाउँ भन्ने कुरा सबैका लागि हितकर नै हुन्छ । त्यसैले यस ढंगले पनि सोच्नुपर्छ ।

– यसको मतलब तपाईंहरू माथि जे-जे भए पनि स्थानीय तहको अवस्था हेरेर माओवादी र एससँग पनि गठबन्धन गर्ने तयारीमा हुनुहुन्छ ?

कुनै अमुक पार्टी भन्ने भन्दा पनि हाम्रो स्थानीय तहमा आवश्यकता अनुसार सँगै जान सकिन्छ । स्वभाविक हिसाबले कतिपय सन्दर्भमा कतिपय ठाउँमा सहकार्य गरेर अघि बढ्दा त्यति फरक पर्दैन र बढ्न सक्नुपनि पर्छ ।

– संयोगले तपाईं एमालेको नेतामात्र नभएर प्रतिनिधिसभाको सदस्य पनि हुनुहुन्छ । तपाईंहरूले एकातिर चुनाव पनि हुनुपर्छ भन्ने अर्कोतर्फ कानुन निर्माण तथा संशोधन गर्ने संसद चल्न पनि नदिने । अब संसद अवरोधलाई निरन्तरता नै दिने कि चल्न दिने ?

यसो मान्छेलाई के लागेको छ भने एमालेले लामो समयसम्म संसद अवरुद्ध गरेर बेठीक गर्‍यो कि भन्ने पनि लागेको छ । तर, यस पछाडि ठूलो अर्थ छ । संसदको सभामुखले एउटा अमुक पार्टीलाई विभाजन गर्नका लागि प्रतिनिधि सभाको नियमावली उल्लंघन गर्दै राजनीतिक दलसम्बन्धी ऐनलाई पनि लत्याएर नेकपा एमालेलाई फुटाउनतिर लाग्नुभयो नि त्यो एकदमै अक्षम्य गल्ती गर्नुभएको छ ।

नेकपा एमालेले कारबाही गरेका सांसदको सूचना टाँस गर्ने जस्तो सानो काम पनि सभामुखले गर्नुभएन । सूचना टाँस्ने कुरामा उहाँले आनाकानी गर्ने तर एमाले विभाजन गर्नका लागि अरु निकायसँग सेटिङ गर्ने र एमाले फुटाउने जुन हर्कत गर्नुभयो त्यो पदमा बसेर । त्यो एकदमै निन्दनीय कुरा हो । उहाँले त्यो गल्ती जुन ठाउँबाट गर्नुभएको छ त्यो ठाउँबाट नसच्याउने अनि गैर सांसदलाई संसदभित्र राखेर संसद चलाउने कुरा कुनै पनि हिसाबले मान्य हुँदैन ।

– गैरसांसद भनेर भन्ने तपाईंले भन्ने हो र, त्यो त अदालतले पो भन्नुपर्ने हो नि होइन र ?

अहिले त तपाईंले देखिरहनुभएको छ नि त्यही प्रक्रिया हो । सभामुखले नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कारबाही गरेको सूचना २४ घण्टा बित्न नपाउँदै टास गर्ने, सरित गिरीलाई २४ घण्टा बित्न नपाउदैँ कारवाही गर्ने सभामुखले तर नेकपा एमालेले पार्टीको अनुशासन तथा ह्विप उल्लंघन गरेका आफ्ना सांसदलाई कारबाही गरिसकेपछि पनि कारबाहीको सूचना टाँस नगर्ने काम जुन सभामुखले पुर्वाग्रही ढंगले गर्नुभयो त्यो गल्ती उहाँले नसच्याउने हो भने त्यो कुरा लुरुलुरु नेकपा एमालेले मानेर जाने हो भने साँचो अर्थमा के लोकतन्त्र बलियो हुन्छ त ?

– भनेपछि अब पनि यहाँहरूले संसद अवरुद्ध गर्ने कामलाई निरन्तरता नै दिने हो ? अनि तपाईंहरूको संसद अवरोध नेकपा एसको उपस्थिति भन्दा पनि सभामुखको कारण हो ?

हो सभामुखको कारणले हामीले संसद अवरुद्ध गर्दै आएको हो । अहिले हाम्रो नेकपा एस, नेकमा माओवादी वा नेपाली कांग्रेस अरु कुनै पार्टीका कारणले संसद अवरुद्ध गरिरहेको होइन । यो उहाँहरूसँगको विषय पनि होइन । सभामुखले आफ्नो पदीय मर्यादा कायम राख्न सक्नुभएन । पदिय हैसियतमा बस्न सक्नुभएन । तठस्थता कायम गर्न सक्नुभएन । त्यसले गर्दा यो जटिलता सृजना भएको हो । त्यसकारण यसको निकास पनि सभामुखले दिएर जानुपर्छ । होइन भने आज तपाईंहरूजस्तो मिडियाका साथीहरूले भन्नुपर्‍यो नि । सभामुखको पदमा बसेर यस्तो गैर जिम्मेवारीपूर्ण काम गर्न पाइन्छ ? सभामुखले आफ्नो भूमिका सच्याउनुपर्यो भनेर भन्ने हो कि एमालेले संसद खोल्नुपर्‍यो भनेर बारम्बार भन्ने हो । आज हामीले रोष्टम घेराउ गर्दा गर्दै पनि त सरकारले विधेयक पेस गरेकै छ । पास पनि गरेकै छ ।

– एमालेकै भीम रावललै प्रश्न पनि त त्यही छ नि । कि पूर्णरूपमा अवरुद्ध गर्नुपर्‍यो कि त चल्न दिनुपर्‍यो यसको औचित्य छैन भनेर ?

होइन, भीम रावलजस्ता मान्छे रोष्टममा आएर उफ्रिनुपर्‍यो नि त । किन पछाडिको बेन्चमा गएर बस्ने ? उहाँ अगाडि आउनु पर्दैँन ? । हामी त कराएकै छौं नि । हामीले रोष्टम घेराउ त गरेकै छौं नि ।

– होइन, उहाँको भनाइ त यो अवरोध नै जरुरी छैन भन्ने पो देखियो त ?

उहाँले त्यसको निकास के देख्नुभएको छ त ? के एमाले फुटाएको ठिक हो सभामुखले भन्ने ठान्नुभएको छ ? गैर कानुनी रुपले कानूनविपरीत गएर एमाले फुटाएको कुरा ठीक हो भन्न खोज्नुभएको हो उहाँले ? उहाँले भन्न खोजेको के हो त्यो स्पष्टरूपमा भन्नुपर्‍यो नि त ।

– तर, अन्तरिम निकास त चाहियो नि त होइन र ?

यसको निकास सभामुखले दिनुपर्‍यो ।

– सभामुखले त अब बनिसकेका सांसदलाई मैले कारबाही गरेँ त भन्न पाइएन नि ?

त्यसो भए सभामुखले आम ३ करोड जनताले सुन्नेगरी सभामुखले माफी माग्नुपर्‍यो । मैले गल्ती गरेँ भन्नुपर्‍यो । एमालेका विरुद्धमा मैले गठबन्धन दलको उक्साहटमा नेकपा एमालेलाई फुटाएकै हो । मबाट कमजोरी नै भयो । मबाट इतिहासमा एकपटक गल्ती भयो म माफी माग्छु भनेर भन्ने हो भने नेकपा एमालेले पुनर्विचार पनि गर्छ ।

– यो विषय त गठबन्धन दलले तपाईंहरूको विरुद्धमा निर्वाचनमा उठाउला नि एमालेले संसद चल्न दिएको होइन भनेर ?

अर्काको पार्टी फुटाउन कानूनको धज्जी उडाएर मनपरी गर्नेहरूले के विषय उठाएर जाने जनताको बीचमा । जाने हैसियत केही छ गठबन्धन भित्रका पार्टीहरूलाई ?नेपाल प्रेसबाट साभार 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’