सुरू भयो सुपरम्यान शैलीमा विश्वकै दोस्रो पर्वतको जिपलाइन

पर्वत / सुपरम्यान शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको पर्वतको जिपलाइन शनिवारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोही दिनबाटै जिपलाइनलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी भए पनि प्राविधिक परीक्षणका काम पूरा नभएको तथा कम्पनीले नै निर्माण गरेको रिसोर्टको पनि सबै काम पूरा नभएका कारण औपचारिक सञ्चालन पछाडि धकेलिएको थियो। त्यसअगाडि गत कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि काम नसकिएका कारण समय धकेलिँदै पुससम्म आइपुगेको हो।

जिपलाइनमा पछिल्ला केही दिन यता हरेक दिन जसो धेरै जनाले परीक्षणका रूपमा यात्रा गरेपछि शनिवार औपचारिक खुला गरिएको हार्नेस जिपलाइन प्रालिका अध्यक्ष विदुर पौड्यालले बताए। उनका अनुसार शनिवारदेखि व्यावसायिक रूपमा खुला गर्ने तयारी भएपछि त्यस अगाडि नै गत बिहीबारदेखि इच्छुकहरूलाई टिकट बुकिङ खुला गरिएको थियो। जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको र सञ्चालनमा आएको केही दिनसम्म उद्घाटनको अवसरमा १० प्रतिशत छुट दिन लागिएको छ।

जिपलाइनका निर्देशक सुनिल बाँनियाका अनुसार कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ।

सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्नको लागि जिपलाइन महत्त्वपूर्ण हुने उनले बताए।

‘सुपरम्यान शैलीमा दुबईपछिको लामो जिपलाई यही नै भएका कारण धेरै पर्यटकहरु पर्वतमा आकर्षित हुने अपेक्षा हामीले गरेका छौँ। आउनेहरूलाई हार्नेसले निर्माण गरेको जिपलाइन र हाइड्रोलिक पिङले लोभ्याउने छ,’ बाँनिया भन्छन्, ‘बन्जी जम्प निर्माण भएसँगै साहसिक खेलका लागि पर्वतमा पर्यटकीय चहलपहल सुरु भएको थियो। अब जिपलाइनले फेरि नयाँ आकर्षण दिएको छ।’

कुश्मा नगरपालिकाका प्रमुख तथा जिपलाइनका एक जना लगानीकर्ता रामचन्द्र जोशीले पर्वत साहसिक खेलको जिल्लाका रूपमा विकास हुँदै जानुले पर्यटकीय गतिविधिहरू पनि बढ्दै गइरहेको बताए। जिपलाइन र बन्जी जम्पबाट करिब दुई मिनेट नजिकै रहेको मध्यपहाडी लोकमार्गबाट दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु आउजाउ गर्ने गरेको भए पनि उनीहरू पर्वतमा बास बस्ने वातावरण नभएको भए पनि अब भने उनीहरूलाई पनि अड्याउने आधारहरू तयार हुँदै गएको उनको भनाइ छ।

शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको छ। नदी नै क्रस गर्नुपर्ने भए पनि सामान्यतः एक ठाउँमा क्रस हुनेमा पर्वतको जिपलाइन कालीगण्डकी नदीलाई दुई ठाउँमा क्रस गर्छ।

पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म १४ सय ८० मिटरको दूरीमा जिपलाइन बनेको हो। निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। यो जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने छ। थाहाखबरबाट जीपलाईन उद्घाटन कार्यक्रममा नगरप्रमुख रामचन्द्र जोशी, प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा , हार्नेस प्रालिका अध्यक्ष बिदुर पौडेल लगायतले पनि बोल्नुभएको थियो । थाहाखबरबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया