बन्दीपुर केबुलकार निर्माणको काम अन्तिम चरणमा

तनहुँ । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दशैंअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।

बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करीब ९५ प्रतिशत पूरा भएको छ । भवन निर्माणसँगै केबुलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको छ ।

करीब डेढ तला क्विन टावर थप गर्नुपर्ने भएकाले मेकानिकल इक्युपमेन्ट बाहिरबाट ल्याउनु पर्ने हुँदा अझै केही समय लाग्ने देखिएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

केबुलकारको क्यापासिटी बढाउने गरी स्टालेसन गर्ने कार्य भइरहेको छ । उनले भने, ‘इक्युमेन्ट प्रोडक्ट स्वदेशमै उत्पादन भए पनि टेक्नोलोजी बाहिरबाट आउनुपर्ने भएकाले ढिलाइ हुने भएको हो ।’ गत वर्षको दशैंदेखि केबुलकार सञ्चालनमा ल्याउने प्रयास गरिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ हुन गएको उनले बताए ।

एक वर्षअघि नै सञ्चालनमा ल्याउनु पर्ने योजना हो तर ढिलो भइहाल्यो, त्यसैले गुणस्तर र आकर्षण किसिमको बनाऊ भनेर लागिएकाले पनि ढिलाइ हुन पुगेको हो । उनले भने, ‘अब जति सक्दो छिटो सञ्चालन गर्ने तयारीका साथ काम थालिएको छ ।’

शुरुमा तीन सयसम्म कामदार रहे पनि अहिले ५० देखि ६० जना कामदारले निरन्तर काम गरिरहेका छन् । फिनिसिङका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले पुनः जनशक्ति वृद्धि गरिनेछ ।

बन्दीपुर केबुलकार परियोजनाले पन्ध्र तले क्विन टावरको दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण गरेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त चारतारे होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ । होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बंगला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेसनमा निर्माण हुने क्विन टावरको लागत भने रू. ८० करोड रहेको छ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सो समेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० जनाले एकै पटकमा वारपार गर्न सक्नेछन् ।

केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । बैंकिङ पार्टनरका रूपमा नेपाल एसबिआई बैंक र एनएमबि बैंक लिमिटेड रहेका छन् । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रू. एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९–६१ रहेको छ ।

परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर वितरण गरेको बताइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया