यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

चितवन, १० मंसिर । एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट र्‍यालीसहित नारायणी किनारमा बनाइएको कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायत स्थानबाट निस्किएका र्‍यालीहरू एकसाथ कार्यक्रमस्थलमा प्रवेश गर्ने तयारी भएको छ ।

मूल व्यवस्थापन समितिका सहसंयोजक पाण्डेले सुरक्षा व्यवस्थालगायत तयारी पनि सम्पन्न भएको बताए । सुरक्षाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संख्यासमेत बढाइएको छ । जिल्ला प्रहरी र केन्द्रबाट एआइजी सहकुल थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिनेछ । गण्डकी र बागमती प्रदेशका डिआइजीहरू सुरक्षा व्यवस्थाका लागि चितवनमा नै खटिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि एआइजीकै नेतृत्वमा सुरक्षा अधिकारीहरू चितवनमा खटिएको केन्द्रीय महाधिवेशन व्यवस्थापन समिति सहसंयोजक पाण्डेले बताए ।

महाधिवेशनका लागि आउने सवारीसाधनको सहजताका लागि अन्य ठूला गाडीलाई ५ बजेसम्म रोक्ने व्यवस्था गरिएको छ । त्यसको समन्वय गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरिएको छ । चितवन पुगेका सहभागीका सवारीसाधन पार्किङका लागि १३ वटा स्थानमा व्यवस्था गरिएको छ । ठाउँ–ठाउँमा गाडी बिग्रिएको खण्डमा व्यवस्थापन गर्न क्रेनको व्यवस्थासमेत गरिएको छ । सहभागीको स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर दमकल, एम्बुलेन्सको व्यवस्था गरिएको छ । नजिकै नदी भएकाले हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर उद्धारका लागि मोटरबोटहरू तयारी हालतमा राखिएका छन् ।

अतिथि को–को आउँदैछन् ?
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य सातवटा पार्टीका प्रमुख नेताहरू आउने निश्चित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यक्रममा सभागी हुने छैनन् । उनले पार्टीका अरू नै नेतालाई पठाउने भने पनि को आउने भन्ने निश्चित भएको छैन । त्यसबाहेक जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् ।

योगेश भट्टराई, सचिव, एमाले

पार्टीका सदस्यबाट उठाइएको आन्तरिक लेबी र सहयोगका आधारमा रकम खर्च गरेर महाधिवेशन गर्न लागेका छौँ । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

त्यस्तै, भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न १५ देशका विदेशी अतिथि महाधिवेशनमा शुभकामना दिनका लागि आइपुगेका छन् । अन्य २५ देशबाट शुभकामना सन्देश आइपुगेको एमालेले जनाएको छ । विदेशी अतिथिले खुलासत्रमा आसनग्रहण मात्र गर्ने र बन्दसत्र सुरु भएपछि ११ मंसिर बिहान शुभकामना दिने कार्यसूची बनाइएको छ । कोभिडका कारण चिनियाँहरूले विदेश भ्रमण नगरेकाले चिनियाँ कम्युनिस्ट पार्टीले भने भिडियो सन्देश पठाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

सौराहामा बन्दसत्र
नारायणी नदी किनारमा शुक्रबार उद्घाटनसत्र सम्पन्न भएपछि दोस्रो दिन शनिबारदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सहभागी हुने प्रतिनिधि, पर्यवेक्षक, अतिथिलगायतको खाना र आवासको सम्पूर्ण खर्च पार्टीले नै बेहोर्ने भएको छ । त्यसका लागि एमालेले साढे सात करोड खर्च हुने अनुमान गरेको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले कसैसँग पनि चन्दा नमागेर पार्टीका सदस्यबाट उठाइएको आन्तरिक लेबी र सहयोगका आधारमा उक्त रकम खर्च गरेर महाधिवेशन गर्न लागेको बताए । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् ।
प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुने भट्टराईको भनाइ छ । शुक्रबार साँझ नै प्रतिनिधिको परिचयपत्र वितरण गरेर शनिबार बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुनेछ । त्यसका लागि ११ सदस्यीय अध्यक्षमण्डल र माइन्युट कमिटी समेत पार्टी स्थायी कमिटीले बनाइसकेको छ ।

बन्दसत्रलाई पार्टी अध्यक्षसँगै विदेशी पाहुनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ । शनिबार साँझ ६ बजेसम्म उम्मेदवारी दाबी, फिर्तालगायत सम्पूर्ण प्रक्रिया सकेर उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिएको छ । आइतबार बिहान ८ बजेबाट विद्युतीय मतदान मेसिनबाट मतदान हुनेछ । त्यसका लागि सयवटा विद्युतीय मतदान मेसिन ल्याइएको छ । भट्टराईका अनुसार आइतबार साँझसम्म मतपरिणमा सार्वजनिक गर्ने र सोमबार बिहान महाधिवेशनको सम्पूर्ण परिणामबारे चितवन घोषणा सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।

७२ कलाकार एकैपटक नाच्न मिल्ने मञ्च

अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको व्यवस्थापनमा संलग्न एमाले नेता विनोद श्रेष्ठको भनाइ छ ।

विशाल मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ । साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ ।

महाधिवेशनका लागि एमालेले चितवनका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ भने सडकका दुवै किनारमा ब्यानर र झन्डाहरूले सजाएको छ । चितवनमा मात्र ५० ठाउँमा स्वागतद्वार बनाइएका छन् । उद्घाटनस्थल नजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ ।

नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया