जलजला गाउँपालिकामा शिक्षक र कर्मचारीहरुका लागि दैनिक दुई घण्टा अनलाईन मार्फत क्षमता अभिबृद्धि तालिम

पर्वत। पर्वतको जलजला गाउँपालिकामा शिक्षक र कर्मचारीहरुको कार्यक्षमतामा निखार ल्याउनका लागि दैनिक दुई घण्टे क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । सिकाई सहजीकरणका लागि शैक्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका लागि अनलाईन मार्फत दैनिक दुई घण्टे क्षमता अभिबृद्धि तालिम संचालन गरिएको हो ।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले शिक्षक नै भोलिको दक्ष जनशक्ति निर्माण गर्ने मूख्य बाहक भएकाले बालबालिकाको भविष्य निर्माणका लागि शिक्षक मुख्य जिम्मेवार रहेकाले गुणस्तरीय नतिजाका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।अध्यक्ष मल्लले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले शिक्षामा ठूलो लगानी गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिक्षाको विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरूलाई आग्रह गर्नुभएको थियो ।

जलजला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षाको विकासमा गाउँपालिकाले प्राविधिक उपकरणको उपलब्धता संगै क्षमता अभिबृद्धिमा लगानी गरेको बताउनुभयो । क्षेत्रीले शिक्षकलाई पेशाप्रति कर्तव्यनिष्ठ, अद्यावधिक र कार्यकुशल बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।

तालिममा जलजला गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका २ सय ५० जना शिक्षक कर्मचारी सहभागि हुनुहुन्छ । तालिम शिक्षक कर्मचारीको पेशागत सीप क्षमता अभिबृद्धिका लागि अत्यन्तै प्रभावकारी भएकोले आफूहरु अत्यन्तै खुशी भएको तालिममा सहभागीहरु शिक्षकहरुले बताउनु भएको छ । सोमवार देखी शुरु भएको तालिम १७ गतेसम्म संचालन हुनेछ ।

जलजला गाउँपालिका–२ का वडा अध्यक्ष एवम् सामजिक विकास समितिका संयोजक गोविन्द खत्रीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा जलजला गाउँपालिका–८ नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसी, एनसीई नेपालका केन्द्रिय उपाध्यक्ष तथा अनलाईन तालिमका प्रशिक्षक राजेन्द्र पहाडी, नेपाल शिक्षक संघ जलजलाका अध्यक्ष भवानीशंकर पौडेल, कुश्मा नगरपालिका शिक्षा अधिकृत दिपक सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन जलजला गाउँपालिकाका अध्यक्ष नारायण मल्ल, एकिकृत अखिल नेपाल शिक्षक संगठन जलजला गाउँपालिकाका अध्यक्ष नारायण रेग्मी र नीजि तथा आवासीय विद्यालयहरुको संगठनका अध्यक्ष शेषराज रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा लेखा अधिकृत तेजुराम सुनार, अधिकृत प्रत्ताप शर्मा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिका सामजिक विकास अधिकृत लिलाधर सुवेदी र कार्यक्रमको संचालन शिक्षा अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो । कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनमा आईटी इन्जीनियर अनिल खत्रीले गर्नुभएको थियो । जलजला गाउँपालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’