कुश्मा, अब १० वर्षपछि फेरि ‘बन्जी जम्प’ गर्न आउनेछु


-कृष्णप्रसाद पौडेल

४ वर्ष अघि भोटेकोशीमा र्‍याफ्टिङका लागि सुकुटे पुग्दा भोटेकोशीमा बन्जी खेल्ने इच्छा जागेको थियो। त्यतिबेलासम्म यो मेरा लागि बारीका कान्लामा केटाकेटीमा हाम फाल्दै हिँडेको अनुभवभन्दा फरक ढंगले हेरेको थिइनँ।

बन्जी मेरा लागि रबर जस्तै तन्किने डोरीले बलियो गरी बाँधेर हाम फाल्नु भन्ने बुझाइ थियो। तर त्यो दिन सँगै सिटमा बसेका सन्जिव भाइले यो एक हिसाबले तन्किने डोरीको सहायताले हाम फाल्ने र सँगै पिङ खेल्ने भन्ने थाहा पाएको थिएँ।

यो कुराले मेरो मनको कुनामा सुषुप्त बसेको बाल्यकालको बारीका पाटामा हाम फालेको र दशैँ ताका पिङ खेलेको अनुभव एकैचोटि पूरा हुने कुराले पुलकित भयो। सँगै बन्जी खेल्ने रहर ह्वात्तै बढ्यो।

भोलिपल्ट सुकुटेबाट र्‍याफ्टिङको सामूहिक तालिम लिएर उर्लदो भोटेकोशीमा कावा खाँदै गर्दा मेरा मनमा भने बन्जी नै बल्झेको थियो।

र्‍याफ्टिङको अन्त्यमा भोटेकोशीको भेलमै अग्लो ढुंगाबाट फाल हाल्ने अवसर मिल्यो। यो मौका किन चुकाउँथे र? अन्य केही साथीसँगै हाम फालेँ। केटाकेटीमा हाम फालेका बारीका पाटा सम्झँदै निकै रमाइलो महशुस भयो।

त्यस यता धेरै पटक बन्जी खेल्न जाने कुरा गरियो तर समय र साथ मिलाउन सकिएन। गत वर्ष कुश्मामा झोलुंगे पुल बनेको र वैशाखदेखि बन्जी खेल सुरु हुने सुनेको थिएँ। यो मेरा लागि झनै उत्साहित कुरा थियो।

म दुई दशक अगाडि करिब दुई वर्ष दर्जनो पटक यहीबाट गण्डकी किनार झरेर कुश्मीसेरा जाने गर्थेँ। हरेक पटक यो बाटो ओरालो र उकालो गर्दा यसमा झोलुंगे पुल भए बलेवा हुँदै कुश्मीसेरा सजिलै जाने कल्पना गर्थेँ। मेरो यो सपना पनि साकार भएकोमा एकपटक यो पुलबाट बलेवा टेक्ने रहर पनि थियो।

कुश्मामा बन्जी खेल सुरु भएको थाहा पाउनासाथ मैले छोरीहरुलाई म बन्जी खेल्न जाने रहर सुनाएँ। सुरुमा त मेरो कुरा पत्याएनन् तर दुई/तीन पटक भनेपछि भने उनीहरुले हुन्छ भनेर मुन्टो हल्लाए।

यो मेरो उनीहरुका आमा भावनाजीलाई सहमत गराउने उपयुक्त तरिका थियो। म उहाँलाई सहमत नगराई यो खेल खेल्ने पक्षमा थिइनँ। उहाँले रहर छ भने गरे हुन्छ भनेसँगै मेरो बन्जी खेल्ने यात्राले मन भित्रैबाट उडान भर्यो।

यो सहमतिसँगै साथीहरुसँग यो वर्षको नयाँ वर्षको उत्सव त्यही मनाउने प्रस्ताव गरेँ। बिमति हुनपर्ने खास कारण थिएन किनकि गत तीन वर्षदेखि हामी नयाँ वर्ष सँगै मनाउने गरेका छौँ। सबै सहमत भयौँ।

सँगै भावना समेत जाने कुरा भयो। चैत्रको ३१ गते बिहानै हामी ७ जना कुश्मा जान पोखरा तर्फ लाग्यौँ। बाटोमा मैले बन्जी खेल्ने कुरा उठाएँ। सबैले हेरम् मात्र भने म भने पाएसम्म खेल्नेमा पक्का नै थिएँ।

साँझ ‘द क्लिफ’को वेबसाइट हेरेर फोन गरेँ। उताबाट कति जना हो? मिलाउन सकिन्छ, मेसेजमा इमेल र नाम लेख्नुहोस् भने। मेरो पर्खिने धैर्यता थिएन। मैले आफ्नै कोठामा आराम गर्न पुगेका शारदा र सिन्ड्रेलालाई टेलिफोनबाटै सोधेर म, शारदा र सिन्ड्रेलाको नाम लेखाएँ।

साँझ कुरा गर्दा सानु र जिवन पनि बन्जी खेल्ने भए। सबैले उतै गएर हेर्ने र निधो गर्ने कुरा गरे। म एक्लैको केही चलेन। त्यतिकै भयो। भोलिपल्ट फेरि बन्जीको फोनमा कल गरेँ। उनले ई-सेवाबाट चाडो पैसा बुझाउनु होस्, नत्र पाउने गाह्रो छ भनी सुनाए। मलाई हतार भयो र सबै साथीलाई सोधेर जनही ७००० पैसा तिर्ने सहमत भइयो।

यसका लागि ई-सेवाको खाता चाहियो। खाता भएकासँग पर्याप्त पैसा छैन। पैसा सार्न इन्टरनेट छैन। हतार-हतार काठमाडौँमा साथीहरु गुहार्यौं। अमृत, सुरेश, सुजाता सबैकका घरमा इन्टरनेट गएको थियो।

झन्डै आश मार्न लागेका थियौँ, चौथो पटक शारदाले पैसा बुझाउने बन्दोबस्त मिलायो। अब भने मेरो रहर पुग्नेमा ढुक्क भएँ। यो गरिसक्दा लुम्ले कटिसकेको थियो। अब एक घण्टामै पुगिने र बन्जी खेल्ने कुराले सबै रोमान्चित थियौँ।

कुश्मा पुग्नासाथ बन्जीको खोजीमा लाग्यौँ। पुल तरेर पारि जानु पर्ने र बन्जी नखेल्नेलाई ५०० लाग्ने रहेछ। सरोज पारि जाने भयो, भावना जी भने वारि नै बस्ने कुरा गर्नु भयो। उहाँलाई पुलबाट तल हेर्न डर लाग्ने भएकाले पुल नतर्ने हुनुभयो। मैले पनि यो थाहा पाएको भएकोले कर गरिनँ।

हामी ६ जना पुल तर्यौं र सुरु भयो हाम्रो बन्जी खेल्ने पर्खाई। पुल तरेर पारी पुगेर नाम दर्ताको लागि कुरा गर्यौं, आफ्नो विवरण र सहमति पत्रमा हस्ताक्षर गरेर बन्जीको गन्जी लगाएर फोटा खिच्यौँ।

मैले दर्ता गर्दा कर्मचारीले मेरो उमेर, स्वास्थ्यका बारेमा चाख दिएर सोधेँ। बन्जीका कर्मचारीले हाम्रो पालो २ बजेतिर आउने कुरा गरे। पर्खिनुको विकल्प थिएन।

२:१५ तिर पालो आयो। पाँचै जना बन्जी खेल्ने ठाँउतिर लाग्यौँ। भित्र तयारी गर्ने ठाउँमा १२ जना जति अन्य खेलाडी थिए। सबैका अनुहार हेरेँ, फरक फरक थिए। कोही त निकै हतास नै थिए।

अलि डर भगाउन नै होला केही गफगाफमै थिए भने कोही चुपचाप देखिन्थे। बन्जीका तालिमे र प्राविधिकहरु नियम सिकाउने, ढाडस दिने र बन्जीका लागि खेलाडी तयार गर्नमा व्यस्त थिए। त्यो कक्षमा बस्दा यो खेल रमाइलोका लागि उत्साही खेल हो भन्ने अनुभूति भैरह्यो।

हाम्रो समूहका ४ जनाको पालो छिट्टै आयो। बन्जीमा तौल समूह अनुसार पालो राख्न पर्ने भएकोले त्यसो भएको थाहा पायौँ। सबैभन्दा पहिला हाम्रो समूहबाट सिन्ड्रेलाको पालो आयो। त्यसपछि मेरो अनि सानु र शारदाको।

जिवन भाइको पालो अरु ३/४ जनापछि थियो। बन्जी खेल्ने सबैको भिडिओ अन्तर्वार्ता लिए। कस्तो लाग्दैछ? किन आएको डर त लागेको छैन? सबैलाई सोध्ने प्रश्नको सार यही थियो।

त्यसपछि डोरी बाध्ने र बन्जीको समयमा के-के गर्ने भन्ने जानकारी र अभ्यास गराएँ। यो सबै गर्दा तालिमेहरु खलाडीको मनोदशा हेरेर कुरा गरेको सुनिन्थ्यो। सिन्ड्रेलाको पालो आइसकेको थियो। सबैले उत्साहित बनाउन हात हल्लायौँ र सफलताको कामना गर्यौं। छेउसम्म पुगेर खुसीसाथ बन्जी गरेको देख्यौँ र एकछिन पछि रमाउँदै फर्कियो।

यसपछिको पालो मेरो थियो। म पनि त्यसैगरी छेउसम्म पुगेँ। १,२… भन्दै गर्दा उड्न खुट्टा उचालेँ र दुवै हात फैलाएर हाम फालेँ। म सकेसम्म सबै थाहा पाउन सचेत हुने कोसिसमै थिएँ तर हाम फालेपछिको पहिलो झड्कापछि मात्र सबै देखेँ।

मलाई नदीतिर फर्केर पिङ खेलेको अनुभूति भयो। विस्तारै खुट्टाको साङ्लो खोल्ने डोरी तानेँ, यसले मेरो नदीतिर घोप्टो परेको शरीर आकाश तिर फर्कियो। खुट्टा र हात फैलाएर हावामा कावा खाँदै रोमान्चित भएँ।

एकछिनमा माथि जान स्टेशनबाट डोरी पठाए र ताँतीमा सिकाएको तरिकाले डोरी अल्झाएँ, जाँचे र विस्तारै माथि तानिँदै आएँ। माथि आउँदा सबैले ताली बजाउँदै स्वागत र बधाइ दिए।

म एकछिन सुस्ताएँ, दिनभरिको थकान र बन्जी खेलको रमाइलोसँगै मिसियो। भिडिओ बनाउने भाइले क्यामरा तेर्साए। मैले रमाइलो भएको कुरा भनेसँगै यस्तो प्रकृति पर्यटनका लागि असल खानेकुरा खाना पर्छ भन्दै विष रहित खाना खान अनुरोध गरेँ र बिदा भएँ।

पुल तरेर फर्किँदा अब दश वर्षपछि फेरि बन्जी खेल्न आउने सम्झिँदै फर्किएँ।सेतोपाटीबाट 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग