महाशिलामा ‘जिरो होम डेलिभरी’ का लागि ‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट’

पर्वत / जिल्लाको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीकी सन्तुमाया जोशीले आफ्नै वडामा रहेको वर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माइन् । गर्भवती अवस्थामा पनि उनले चार पटकसम्म स्वास्थ्य संस्थामा पुगेर गर्भावस्थाको बारेमा जानकारी लिइन् । त्यो सुनौला हजार दिनमा बच्चालाई दिनुपर्ने खोप र पोषण तथा परिवार नियोजन र जन्मान्तरको बारेमा उनी जानकार छिन् ।

सन्तुमायाले गर्भावस्था, पोषण, खोप, परिवार नियोजन, सुनौला हजार दिन लगायतको बारेमा जति ज्ञान पाएकी छिन महाशिला गाउँपालिकाका हरेक गर्भवती वा सुत्केरीले पनि उत्तिकै ज्ञान पाएका छन् । गर्भवती अवस्थामा हुन सक्ने जोखिम, आमा र बच्चाको स्वास्थ्य, पोषण आदिका बारेमा जानकारी दिने उद्देश्यले गाउँपालिकाले ‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट कार्यक्रम’ सुरु गरेपछि यो अभियान प्रभावकारी बनेको छ ।

गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैका अनुसार बच्चा जन्मिएको सातौँ दिनमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेवीका र नर्सहरूको टोली सुत्केरीको घरमा पुग्छ । सुत्केरीको माग अनुसार कुखुराको भाले, अण्डा, घ्यू लगायतका पोसिला खाद्यवस्तु दिने गरिन्छ । २०७६ सालबाट लागू भएको यो कार्यक्रम अन्तर्गत अहिलेसम्म करिब पाँच सय सुत्केरीलाई भेटिएको र उनीहरूका लागि करिब १० लाख खर्च भएको छ ।

‘भेटघाट कार्यक्रममा सुत्केरीको इच्छा अनुसार कुखुराको भाले, अण्डा, घ्यू दिन्छौँ । देख्दा सामान्य कुखुरा र अण्डा दियो जस्तो हुन्छ, तर यसले पारेको प्रभाव निकै राम्रो छ । यही कार्यक्रमले गर्भवती र सुत्केरीहरूको स्वास्थ्य प्रोटोकलको चार वटा सूचक पूरा भएका छन्’ उनले भने, ‘यो कार्यक्रमले ३५ दिनभित्रमा घटना दर्ता गर्न अनिवार्य भएको छ । नो होम डेलिभरीका कारण आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएको छ ।’

प्रवक्ता उचैले भनेका चार सूचकमा गर्भवती अवस्थामा नियमित स्वास्थ्य परीक्षण गरेको रिपोर्ट, बर्थिङ सेन्टरमा अनिवार्य बच्चा जन्माएको हुनुपर्ने, सुनौला हजार दिन र घटना दर्ता रहेका छन् । ‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट कार्यक्रम’ मा पर्नको लागि गर्भवती अवस्थामा चार पटक स्वास्थ्य परीक्षण गरेको रिपोर्ट र बर्थिङ सेन्टरमा बच्चा जन्मिएको हुनुपर्छ ।

कार्यक्रम लागू भएपछि गाउँपालिकामा ‘जिरो होम डेलिभरी’ को अवस्था आएको र यसले गर्भवती वा सुत्केरी अवस्थामा आमा र बच्चामा देखिने स्वास्थ्य समस्या पनि हल भएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए । गाउँमै भिडियो एक्स–रे सेवा सुरु भएपछि यो कार्यक्रम सफल पार्न झनै सजिलो भएको छ । ‘पहिले गाउँमा भिडियो एक्स–रे नहुँदा पोखरा वा कुश्मा जानुपर्ने बाध्यता थियो, अहिले २० लाखको लगानीमा गाउँमै त्यो सुविधा भएपछि गर्भवतीलाई बाहिर पठाउनु परेको छैन’ उनले भने, ‘संस्थागत सुत्केरी सेवा प्रवाह गरेका छौँ, प्रत्येक वडामा सेन्टर छन्। एउटा बच्चा पनि घरमा जन्मिएको छैन ।’

सुत्केरीलाई २४ घण्टासम्म बर्थिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी सुरक्षित अवस्था भए घरमा पठाइन्छ । सातौँ दिनमा भाले, अण्डा र घ्यू बोकेर जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली सुत्केरीको घरमै पुग्छ । उक्त दिनमा पनि आमा र बच्चाको स्वास्थ्य परीक्षण गरिन्छ । सबैको सामूहिक फोटो खिचेर गाउँपालिका नै फ्रेमिङ गरेर सुत्केरीको घरमा पछि पठाइदिन्छ । त्यसपछि ४५ औँ दिनमा महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य संस्थाबाट नर्सलाई सुत्केरीको घरमा पठाएर अस्थायी वा स्थायी बन्ध्याकरण र जन्मान्तरको बारेमा जानकारी दिइन्छ ।

‘४५ औँ दिनमा सुत्केरीको घरमा जाँदा दुई बच्चा भएको भए सुत्केरी सहित परिवारका सदस्यलाई राखेर स्थायी बन्ध्याकरणको बारेमा कुरा बुझाउँछौँ, अर्को बच्चा जन्माउने अवस्था भए अस्थायी बन्ध्याकरण, अस्थायी साधन र जन्मान्तरको बारेमा जानकारी दिने गरेका छौँ’ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफ नर्स सुरक्षा शर्मा भन्छिन्, ‘गर्भवतीको शरीरमा आइरनको अवस्था, स्वास्थ्य, पोषण, रगतको अवस्था, आर्थिक अवस्था सबैका बारेमा पनि जानकारीहरू राख्ने गरेका छौँ । पहिले ३० प्रतिशत जतिले मात्र गर्भ परीक्षण गर्ने गरेकोमा अहिले ९० प्रतिशत भन्दा माथि पुगेको छ ।’ गैर दलितहरूले विवाह दर्ता र जन्म दर्ता समयमा नै नगर्ने समस्या रहेको भए पनि यो कार्यक्रम लागू भएपछि व्यक्तिगत घटना दर्ता गर्ने क्रम बढेको छ ।

गाउँमा सदियौँदेखि सुत्केरीलाई छुनु हुँदैन र खाटमा सुताउनु पनि हुँदैन भन्ने परम्परा रहँदै आएकोमा यो कार्यक्रम लागू भएपछि त्यो कुराको समेत अन्त्य हुँदै गएको प्रवक्ता उचैको भनाई छ । ‘सुत्केरीलाई छुनु अपवित्र हो भनेर कसैले पनि नछुने, उसका कपडा पनि नछुने अवस्था थियो । सुत्केरी भएको बेलामा कसरी कपडा धुनु ?’ उनले भने, ‘जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सुत्केरीलाई छोएरै सामान दिन्छौँ, फोटो खिच्छौँ । त्यो फोटो सजाएर राख्न घरमा पठाउँछौँ । यसले विभेद अन्त्यमा सहयोग पुगेको छ ।’ बच्चाको न्वारन नगरेसम्म सुत्केरी खाटमा सुत्न हुँदैन भनी चिसो भुईँमा सुताउने गरिएको अवस्था आफूहरूले देख्दै आएको बताउँदै उनले सामाजिक विकृतिको पर्दा च्यात्ने काम पनि यो अभियानबाट भइरहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग