विकटको व्‍यथा : एस्काभेटरको बकेटबाट तारेर ट्याक्टरमा लगियो मुस्ताङमा खोप

पर्वत /प्रायः वर्खामा हेलिकोप्टर र हिउँदमा सडक मार्ग हुँदै विकट ठाउँमा अत्यावश्यक सामग्रीहरू पुर्‍याउने गरिन्छ। यतिबेला देशभर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम चलिरहेको छ।

तोकिएकै समयमा खोप केन्द्रमा खोप लगेर लक्षित समूहलाई दिनुपर्ने छ। तर, अत्यधिक वर्षाका कारण विकट जिल्लाका विकट ठाउँमा सडक मार्ग त कठिन छ नै मौसमको प्रतिकूलताका कारण आकाश मार्गको अवस्था पनि उस्तै छ।

यही परिवेशमा हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा समयमै नै खोप लैजान र नागरिकलाई दिनका लागि त्यहाँका कर्मचारीले गरेको मिहिनेतको प्रशंसा सबैले गर्नैपर्छ। बालबालिकाहरूलाई दिइने नियमित खोप र कोरोनाविरुद्धको खोप स्वास्थ्य कार्यालय जोमसोममा आइपुगेको खबर पाएपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तेन्जिङ नोर्बु करिब ४-५ दिन अगाडि गाउँपालिकाबाट एम्बुलेन्स लिएर सदरमुकाम जोमसोमतर्फ झरे।

बाटोमा वर्षामा मात्तिने र हिउँदमा सुक्ने पान्डा खोला पर्छ। कर्मचारीहरू झर्दै गरेको बेलामा खोला उर्लिएर आएको देखे। एम्बुलेन्स खोला तर्न नसक्ने भएपछि गाडीमा रहेका साथीहरूले एक अर्काको हात समात्दै लहरो बनाएर खोला तरे।

सदरमुकाम जानको लागि स्वास्थ्य कार्यालय गाडी बेलाएर सदरमुकाम पुगे। भोलिपल्ट स्वास्थ्यकै गाडीमा फर्किए तर पान्डा खोला नै उनीहरूको अवरोध बन्यो। चिस्यानमा राखिएको खोप समयमा नै लैजानु र गाउँमा पर्खिएर बसिरहेकाहरूलाई खोप दिनु उनीहरूको दायित्व थियो।

तर, खोला तर्ने उपाय नलागेपछि विकल्पको रूपमा एक्साभेटर प्रयोग गरियो। कर्मचारीहरू पालैपालो एक्साभेटरको बकेटमा बसेर खोला तरे। उनीहरू खोप बोकेर हिँड्दै थिए, त्यही बेलामा ट्रयाक्टर भेटियो। उनीहरूले नागरिकको लागि काम गरिरहेको र खाजा खानको लागि केही सहयोग गर्ने भनेपछि ट्रयाक्टरले केही दूरी माथिसम्म खोप लगिदियो। पछि भने नोर्बुको समूहले सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर गाडीमै राखेर खोपलाई गाउँपालिकामा लग्यो।

जोखिम मोलेर दुःखको साथमा नागरिकको लागि काम गर्न पाउँदा नोर्बु पनि खुसी छन्। जनता बचाउने अभियानमा आफूहरूले पाएको अलिकति दुःखले कुनै फरक नपर्ने उनको भनाइ छ। ‘जोमसोम झर्दा ५-६ जनाले एक अर्काको हात समातेर लहरो लगाएर उर्लिएको खोला तर्न सफल भइयो।

भोलिपल्ट फर्किँदा पनि खोलाको मात त उस्तै रहेछ। गाडी तर्न सकेन, एक्साभेटरले माटो उचाल्ने बकेटमा बस्यौँ, पालैपालो वारिबाट पारी पुगियो’ उनले भने, ‘खोप बोकेर हिँड्दै गर्दा ट्र्याक्टर फेला पारियो। त्यसैलाई खाजा खर्च दिउँला भनेर रिक्वेस्ट गरेपछि ट्र्याक्टरको डालामा बसेर खोप माथिसम्म लगियो। नागरिको स्वास्थ्यको लागि गरिएको यो दुःख त दुःख नै होइन।’

सामान्यतः वर्षा नहुने र भएमा पनि नगण्य मात्रामा हुने हिमालपारिको जिल्ला मुस्ताङमा समेत यस वर्ष भारी मात्रामा वर्षा भयो। उर्लिँदै आएका खोलाले कहीँ बाटो बगाए त कहीँ पहिरो चलाए। विकट तर पर्यटकीय ठाउँका रूपमा रहेको मुस्ताङका स्थानीय तहमा खोप लैजान नै कठिन भइरहेको बेलामा मिहिनेतका साथ जसोतसो खोप लैजाने काम चलिरहेको स्वास्थ्य कार्यालय मुस्ताङका सूचना अधिकृत सुभद्रा दुलालले बताइन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?