पर्वत जिल्ला खाद्यान्‍नमा पर्वत आत्मनिर्भर-बर्षेनी करोडौको चामल भने आयत

फाइल फोटो

पर्वत /खेतीयोग्य जमिनको एक तिहाइ क्षेत्रफलमा तीन खेती हुने तथ्यांकसहित पर्वतलाई खाद्यान्नमा आत्मनिर्भर जिल्ला दाबी गरिएको छ । कृषि ज्ञानकेन्द्रले गरेको विश्लेषणका आधारमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

केन्द्रले चालु वर्षको प्रगति सार्वजनिक गर्दै खाद्यान्नसहित तरकारी र फलफूलमा समेत जिल्ला आत्मनिर्भरोन्मुख रहेको दाबी गरिएको हो । केन्द्र प्रमुख मनिता थापाले धान, गहुँ, मकै र कोदो उत्पादनलाई आधार मान्दा पर्वतको जनसंख्यालाई पुगेर केही खाद्यान्न बचत हुने बताइन् । ‘हामीले सबै उत्पादनलाई जोडेर यहाँको खाद्यान्न मागसँग तुलना गरेका हौं,’ उनले भनिन्, ‘जनसंख्याका आधारमा पर्वतमा उत्पादन बचत हुने देखिएको छ ।’ जिल्लामा उत्पादन भएको ३६ सय ३० मेट्रिक टन खाद्यान्न बचत हुने उनले बताइन् । २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ४६ हजार ५ सय ९० छ ।

एक व्यक्तिले वर्षमा २ सय एक किलो खाद्यान्न, १ सय २६ किलो तरकारी र १ सय ४४ किलो फलफूल खपत गर्ने कृषि प्राविधिकको अनुमान छ । सोही अनुमानका आधारमा खाद्यान्नको माग वर्षमा २९ हजार ४ सय ६५ मेट्रिक टन, तरकारी १८ हजार ४ सय ७० र फलफूल २१ हजार १ सय ६५ मेट्रिक टन छ । जिल्लामा धान, मकै, कोदोलगायत खाद्यान्न ३३ हजार ९५ मेट्रिक टन उत्पादन हुन्छ । १४ हजार ३ सय मेट्रिक टन तरकारी र १२ हजार १ सय ६५ मेट्रिक टन फलफूल उत्पादन हुन्छ ।

पछिल्लो समय उत्पादनमा आधारित अनुदान, युवा लक्षित कार्यक्रम, अनुदानलगायत कार्यक्रमको प्रभावले खाद्यान्न, तरकारी र फलफूलको उत्पादन बर्सेनि बढिरहेको केन्द्र प्रमुख थापाको दाबी छ । चालु वर्ष मात्रै १ लाख ११ हजार ४ सय १० विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ ।

कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार साढे ८ हजार हेक्टरमा लगाइएको धान खेतबाट अन्दाजी ३० हजार टन धान उत्पादन हुन्छ । यो जिल्लाको जनसंख्याले वर्षभरिमा खपत गर्ने खाद्यान्नको करिब ४० प्रतिशत हिस्सा हो । बाँकी मकै, कोदो, गहुँलगायतका खाद्यान्नबाट आपूर्ति हुन्छ ।

जिल्लामा खेतीयोग्य जमिन २८ हजार हेक्टर छ । पछिल्लो पुस्ता भारतमा मात्रै भर पर्ने भएकाले तराईलगायत भारतबाट चामल आयात हुन भने छोडेको छैन । मकै, कोदो, गहुँलगायत खाद्यान्न मदिरालगायत गैरखाद्य पदार्थ उत्पादनमा खर्च हुने हुँदा चामल आयात गर्नुपरेको कृषि विज्ञको तर्क छ ।

गण्डकी प्रदेश कृषि निर्देशनालय प्रमुख वासुदेव रेग्मीले भने, ‘पर्वतलगायत सबैजसो पहाडी जिल्लामा कोदो र मकैलाई खाद्यान्न नै मान्दैनन् । भाते बानी परिसकेको छ ।’ जिल्ला कृषि कार्यालय पर्वतका प्रमुख रेग्मीले जंक फुडले खाद्यान्नमा परनिर्भरता बढाएको बताउँछन् ।कान्तिपुर दैनिकले समाचार छापेको छ । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’