किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या ?

काठमाडौं, २५ असार । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुण्डिएको अवस्थामा पाइएको थियो । प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । उनको पोष्टमार्टम र थप अनुसन्धानपछि आत्महत्याको कारण खुल्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले घटनापछि जेनीका श्रीमान् मनबहादुरसँग पारिवारिक जानकारी लिएको छ । मानबहादुरले आफ्नो श्रीमती विगत एक वर्षदेखि मानसिक समस्यामा रहेको र आफूहरूले उनको उपचार समेत गर्दै आएको बताएका छन् । मानसिक समस्या देखिएपछि उनी केही समय विपासनामा बसेको र त्यसपछि साधुका रूपमा पशुपतिमा समेत गएर बस्न थालेको पनि उनका श्रीमानले प्रहरीलाई बताएका छन् ।
आफ्नी श्रीमतीले एक वर्ष अघिबाट मानसिक समस्याको औषधि सेवन गर्दै आएको र उनलाई खुशी राख्न आफूहरूले सक्दो प्रयास गर्दै आएको पनि श्रीमानले बताएका छन् । आफू कामले चाबहिल गएको बेला आत्महत्या गरेको खबर आएपछि घर फर्किएको उनले प्रहरीलाई बताएका छन् ।

जानकी कुँवरको नामले कला यात्रा सुरु गरेकी उनले केही टेली चलचित्र खेलेपछि नयाँ चलचित्र बज्रपातको छायांकनको क्रममा नाम परिवर्तन गरेर जेनी बनाएकी थिइन् । जेनीले बज्रपात र हलचल गरी दुई चलचित्रको निर्माण पनि गरेकी थिइन् । यी दुवै फिल्ममा उनी मुख्य भूमिकामा थिइन् । यस्तै उनले नायिकाका रूपमा ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।

उनी पछिल्लो समय धार्मिक गतिविधिमा पनि सक्रिय थिइन् । पशुपतिको वनकाली क्षेत्रमा रहेको कुँवरहरूको कुलायन मन्दिरमा गएर उनी साधुका रूपमा बेलाबेलामा पूजापाठमा समेत व्यस्त हुने गरेकी थिइन् । जसका कारण उनी युट्युबमा माताका रूपमा भाइरल समेत भएकी थिइन् ।

उनले योबीचमा सामाजिक कार्यसँगै योग र ध्यान सिकाउने कार्य पनि गर्दै आएकी थिइन् । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् । राजधानी दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ