पर्यटन व्यवसाय चौपट-करोडौंको लगानीमा कोरोना कहर बाधक

पर्वत / करिब ९ करोड रुपैयाँको लगानीमा नमुना होटल बनाएको दाबी गरेका कुश्माका ओम श्रेष्ठले व्यवसाय बन्द गरेको डेढ वर्ष भयो । ३० करोड रुपैयाँ लगानी गरेर बन्जी र रिसोर्ट सञ्चालन गरेको ‘द क्लिफ’ कम्पनीका ६१ कर्मचारी यतिबेला कामविहीन बनेका छन् ।

पछिल्ला केही वर्षयता अग्ला र लामा झोलुंगे पुल, कालीगण्डकीमा र्‍याफ्टिङलगायतले आन्तरिक पर्यटनको ‘हब’ बनेको सदरमुकाम कुश्मा बजार २०७७ चैतयता ठप्पजस्तै बनेको छ । कोरोना संक्रमण रोक्न गरिएको निषेधाज्ञाका कारण यहाँ सबैभन्दा बढी प्रभावित बनेको पर्यटन व्यवसाय हो । पर्यटनमा विशेषगरी युवाले होटल, बन्जी, रिसोर्ट, यान्त्रिक पुल, जलयात्रा र जिपलाइनमा लगानी गरेका छन् । पछिल्लो दशकमा पर्यटन व्यवसायमा निजी क्षेत्रको मात्रै करिब डेढ अर्ब रुपैयाँ लगानी पुगेको छ ।

करोडौं लगानी गरेका व्यवसायीले पूर्वाधार निर्माण सकेर उत्पादन लिने समयमा सुरु लकडाउनका कारण चौपट भएको छ । ‘२०७७ को पहिलो दिन उद्घाटन गर्ने योजना थियो,’ द क्लिफका सञ्चालक राजु कार्कीले भने, ‘चैतमै लकडाउन भएपछि ६ महिनासम्म सञ्चालनै गर्न पाइएन ।’ लकडाउन खुकुलिएपछि स्वास्थ्य मापदण्ड अपनाएर सुरुआत गरेको व्यवसाय केही महिना सञ्चालन नहुँदै पुनः रोक्नुपरेको छ ।

सिन्धुपाल्चोकका कार्कीसहितका केही युवाले ५ वर्ष लगाएर संरचना निर्माण गरेको ‘द क्लिफ’ ले बन्जी, स्विङलगायत आधा दर्जन बढी चर्चित पर्यटकीय पूर्वाधार निर्माण गरेका छन् । गत कात्तिकयता ६ महिना चलेको व्यवसायमा मासिक ६० लाख रुपैयाँको कारोबार भएकोमा वैशाखयता ठप्प हुँदा बैंकको ब्याज, कर्मचारी खर्चसमेत गरी मासिक ८० लाख रुपैयाँ नोक्सान भएको क्लिफले जनाएको छ । ‘समय परिवर्तनशील छ भनेर यो लकडाउनमा पनि हामीले अरू संरचना थपिरहेका छौं,’ सञ्चालक कार्कीले भने, ‘पर्यटन गतिविधि चलायमान गराउन सरकारले केही संरक्षण गरिदिए हुन्थ्यो ।’ क्लिफले स्काई चियर, कपल पिङ, स्काई प्याडललगायत संरचना निर्माण गरेको छ । लकडाउन छिटै खुल्ने आसमा ६१ कर्मचारीमध्ये कसैलाई नहटाइएको सञ्चालक नेत्र पराजुलीले बताए ।

‘यस क्षेत्रमा होटल व्यवसायमा केही नयाँपन दिउँ भनेर युरोपियन मोडेल भित्र्याएँ,’ अत्याधुनिक प्रविधि जडित होटल सञ्चालनमा ल्याएका ओम श्रेष्ठले भने, ‘सबै सकेर २ महिना पनि राम्रोसँग व्यवसाय सुरु नहुँदै लकडाउन भइदियो ।’ श्रेष्ठले व्यवसाय सञ्चालन हुँदा मासिक ३५ लाख रुपैयाँसम्मको कारोबार भएको बताए । अहिले उनलाई होटलको संरचना बनाउँदा लिएको ऋणको ब्याज, किस्ता तिर्न समस्या परेको छ ।कान्तिपुर दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’