कालीगण्डकीमाथि बन्जी गर्दाको त्यो क्षण…(तस्बिरहरू)

-तिलक थापा

करिब दश/बाह्र वर्ष अगाडि भोटेकोशीको खोंचमाथिबाट डोरीको सहारामा पन्छीजस्तै खुला आकाशमा चिच्याउँदै तलतिर वेग मारेको अत्यासलाग्दो दृश्य हेरेपछि मनमा केही डरसँगै साहसिक अनुभव लिने हुटहुटीले डेरा जमाएर बसेको थियो।

त्यसपछि  यसको बारेमा कौतुहलता मेट्न पत्रपत्रिका, अनलाइन,युट्युवमा यससम्बन्धी मनोरञ्‍जनात्मक खेललाई पछ्याउँदै गइरहें।

समय परिस्थितिको कारण भोटेकोशीमाथि बन्जी जम्प हान्‍ने चाहना जुरेको थिएन। जब कुश्मा-बलेवा जोड्ने कालीगण्डकी माथिको पुलबाट विश्वकै दोस्रो अग्लो बन्जी जम्पिङ(२२८ मिटर उचाइ) को सफल परीक्षण भयो, त्यसपछि लाग्यो त्यो डर मिश्रित सपना पूरा हुने पक्‍का भयो।

भनिन्छ नि डर र साहसमा नै जीवनको मजा छ। विश्वकै साहसिक खेल भनेर मानिने बन्जी खेल्ने चाहना कसलाई हुँदैन र! तर यसमा डरलाई जित्ने साहस चाहिन्छ। त्यो डरलाई जितेर सिकन्दरले संसार जितेझैं स्वर्गीय अनुभव लिएको सुनौलो दिन थियो,

२०७७ साल कात्तिक २६ गते। 

त्यो दिन बिहानै बागलुङबाट पूर्वनिर्धारित योजनाअनुसार साथीसँग मोटरसाइकलमा आधा घण्टाको बाटो तय गर्यौं। 

जाडो मौसम भए पनि मानसपटलमा बन्जीको काल्पनिक चित्रले शरीर गर्मी भएको थियो। जम्पिङ समय बिहानी सिफ्टमा साढे सात बजेको लिएको हँदा हतार गरेर त्यहाँ पुग्यौं। तर हामीभन्दा अगाडि तेह्र जना जम्पर्स क्यूमा खडा भइसकेका थिए। 

अनि केही ढिलो हुने भएकोले समय कटाउन रिसोर्टमा चिया लिन बस्यौं। 

तातो चिया लिँदै भोटेकोशीमा जम्पिङ अनुभव लिएको एक जना सरसँग केही कौतूहलता मेटाउन बन्जी हान्ने शैली, अपनाउनुपर्ने सावधानी, त्यतिखेर के होला, कस्तो होला भनेर झिनामसिना मनमा उब्जिएका सबै कुराहरू कोट्याइरहें। 

उहाँले मलाई उत्साह जगाउने तवरले सहजै जवाफ दिनुभो,‍’यसमा नडराउने कोही मान्छे हुँदैन तर डरमा नै बन्जीको मजा छ।’ 

मनको कुनामा अलिकति डरले ठाउँ ओगटे पनि त्यसलाई अनुहारमा रिफ्लेक्ट हुने अनुमति दिएन। 

भित्रैबाट मनलाई ढाडस दिँदै जम्पिङ स्पटतिर लागें। 

मसँग अर्को एक जना सर हुनुहुन्थ्यो। उहाँले क्‍यानन स्वीङ पनि गरिसक्नु भएकोले उहाँपछि मैले हान्‍ने निधो गरें।

जब जम्पिङ स्पटमा प्रवेश गर्‍यौं, त्यहाँ युद्ध लड्नुभन्दा अगाडि सिपाहीहरूलाई ब्रिफिङ दिएजसरी बन्जी क्रूको सदस्यहरूले जम्पर्सहरूलाई  काउन्सेलिङ गर्दै थिए भने बन्जी मास्टरले अगाडिका जम्पर्सलाई हौसला दिँदै डोर्‍याएर जम्प हान्ने डिलमा पुर्‍याउँदै थियो, तल कालीनदीको खोंचमा गहिरो चिच्याहट पनि सँगसँगै प्रतिध्वनित भएको सुनिन्थ्यो। क्रूका टिमसँग आफ्नो जिज्ञासा राख्दाराख्दै हाम्रो पालो आएको पनि ख्यालै भएन।

खुट्टा र कम्मरमा हार्नेस फिट गरेपछि यस्तो लाग्यो कि अब म ‘गर कि मर’ को स्थितिमा छु। 

त्यतिखेर हामफाल्ने बाहेक मसँग अरू केही विकल्प थिएन र सोचिनँ पनि। जसरी भएनि हाम फाल्नुपर्छ भन्‍ने मात्र दृढ निश्‍चयी थिएँ।

बन्जी मास्टरले हौसला दिँदा अझ साहस बढेर आयो। त्यसपछि शरीरमा बन्जीको लामो डोरी फिट भयो र खुट्टामा लक गरियो। पछाडिबाट बेष्‍ट अफ लकवाला मीठो आवाज आइराखेको थियो, मेरोतर्फबाट पनि आत्मविश्वास प्रकट गरी टोपल्न पछाडि फर्केर हात हल्लाइदिएँ। 

मास्टरको निर्देशनअनुसार गहिरो सास तानेर सब ठिक छ भन्ने संकेत गरिसकेपछि हाम्फाल्ने प्लेटफर्म (फलामको पाता) तिर पाइलालाई पछाडिबाट मास्टरको सहायतामा विस्तारै अगाडि बढाएँ। 

जब पाताको टुप्पामा आधा गोडा बाहिर र आधाभित्र गरेर उभिएँ, मुटुले ठाउँ छोडेर हजारको गतिमा धड्किन थाल्यो। 

फेरि सम्हालिएर लामो सास तानें र हातलाई पूरा तन्काई आकाशतिर हेरें। अनि मास्टरले थ्रि टु वान गो भनेपछि एकै झड्कामा बाज जसरी हात फैलाई डाइभ हानेर तल झरेको पत्तै भएन। 

जब तल पुगेर स्प्रिङ्गवाला डोरीले झड्का दिएर बाउन्स भयो, अनि बल्ल थाहा भो म डोरीमा झुण्डिएको छु। 

तल आफ्नै गतिमा बगिरहेको नदी, उत्तरतिर धौलागिरी हिमाल अनि वारिपारि हरियाली जङ्गल। वाह ! बन्जीको असली मजा। 

डरको चरमउत्कर्ष पार गरेपछिको क्‍या स्वर्गीय जिन्दगी! ठूलो सपना पूरा भएको क्षण हामफालेर निक्लिँदा संसार जितेको महशुस गरें। तपाईं पनि डरलाई जितेर साहसी बन्‍ने होइन त!सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’