हामीले चाडपर्वमा सामुदायिक सुरक्षामा विशेष जोड दिएका छौँ

सामान्यता प्रहरी जुनसुकै समयमा पनि सक्रिय हुनुपर्छ । सामुदायमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारीमा रहेका प्रहरीलाई बढी दौडधुपको समय भनेको संकट परेको बेला वा चाडबाडको बेला हो । रमाईलोको नाममा गरिने मदिरा सेवनका कारण समाजमा झैझगडादेखि विभिन्न आपराधिक घट्नाहरु हुने गर्दछन् । जुवातास, चोरी लुटपाट लगायतका घट्ना हुने बेला पनि यहीं हो । यहीं परिवेशमा पर्वत जिल्लाको शान्ति सुरक्षाका लागि प्रहरीले कसरी तयारी गरिरहेको छ भन्ने विषयमा ढोरपाटनका पर्वत सहकर्मी संजय रेग्मीले जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
यो बेलामा विभिन्न सुरक्षा चुनौतीहरु बढ्ने जोखिम रहन्छ । पर्वत प्रहरीले यसको लागि कसरी तयारी गरेको छ ?
– हामीहरुले जिल्लाको समस्त अवस्थालाई नियालेर र विगतमा भए गरेका तथा अब पनि हुन सक्ने सम्भावित क्रियाकलापलाई मध्यनजर गरेर विभिन्न योजनाहरु तयार पारेका छौँ । हामीले पोशाकमा रहने प्रहरीसहित सादा पोशाकमा पनि प्रहरी परिचालन गर्ने गरी तालिका नै तयार पारेका छौँ । कसले कुन ठाउँमा निगरानी राख्ने हो र त्यो ठाउँमा हुन सक्ने सम्भावित कुराहरु के के हुन सक्छन् ? भनी पूर्वानुमान समेत गरेर खाका बनाएका छौँ । राजमार्गमा गरिने गस्ती, मोबाईल गस्ती, मोटरसाईकल गस्ती लगायतका योजनाहरु तयार पारेर कार्यान्वयन गरिसकेका छौँ ।
पर्वतको अवस्थालाई हेर्दा र बिगतलाई पढ्दा हुन सक्ने सम्भावित अपराधहरु के के हुन सक्छन् ?
– अपराधका हिसाबले त्यती धेरै जोखिमको अवस्था पर्वतमा छैन् । यसको अर्थ फेरि घटना हुँदैनन् भन्ने होईन् । हामीहरु हाई अलर्टमा बसेका छौँ । यहाँको अवस्थालाई हेर्दा जुवातास, चोरी, डकैती, लुटपाट, मदीरा सेवन गरेर हुने झगडा तथा रिसको आवेगमा अचानक हुने नराम्रा निर्णयहरु बढी देखिन्छन् । त्यस्ता खालका आपराधिक गिरोहको प्रभाव यहाँ देखिएको छैन् । त्यसैले समुदायिक सुरक्षामा हामीले बढी जोड दिएका छौँ । कोही नभएको मौकामा घर लुट्ने, बाटोमा एक्लै परे गहना लुट्ने, सवारीहरुले बढी यात्रु राखेर बढी भाडा असुल्ने समस्याका रुपमा आउन सक्छन् ।
प्रहरी जनशक्तिले बजार र गाउँ सबै ठाउँको निगरानी गर्न कसरी सम्भव छ ?
– हो प्रहरी दरबन्दी कम छ, तर यो बेलामा हाम्रो खटाईको तरिका फरक खालको हुन्छ । हामी थोरै समयमा धेरै काम गरेका हुन्छौँ । अघिपछिको भन्दा यो बेलामा हाम्रो सक्रियता झनै बढेको हुन्छ । बर्दी लगाएका प्रहरी टोलमा पुग्नु मात्रै सक्रियता होईन् । टोल वा गाउँको अवस्थाको बारेमा हामीले पूर्व जानकारी लिईसकेका हुन्छौँ । बजारको कुरा गर्दा कुस्माबजारमा अहिले २० ओटा सिसि क्यामेरा संचालनमा पनि आएका छन् । तिनीहरुको माध्यमबाट बजारको निगरानी गर्न हामीलाई सजिलो छ । ग्रामिण क्षेत्रका विभिन्न ठाउँमा प्रहरी यूनिटहरु रहेका छन् । त्यहाँ रहेका दरबन्दीबाट पालो अनुसार दैनिक रुपमा गस्तीको काम हुन्छ । कसैले पनि प्रहरीमा कुनै जानकारी दिएमा स्रोतको नाम गोप्य राखेर त्यस बिषयमा तुरुन्तै रेस्पोन्स भईहाल्छ । आम नागरिक बर्दी बिनाका प्रहरी हुनुहुन्छ । उहाँहरुले प्रहरीको रुपमा काम गर्नुहुन्छ । प्रहरी समुदाय साझेदारी कार्यक्रमले पनि यसलाई सघाएको छ ।
जुवा त लुकेर खेलिन्छ, अनि प्रहरीले कसरी देख्छ ?
– खुल्नेहरुलाई लुकेको जस्तो लागेको हो । अहिलेसम्म पक्राउ परेकाहरु पनि लुकेरै हो नी खेलेको त । तर हामीलाई सूचना आउँछ, हाम्रा गुप्तचरहरुले त्यस्तै खालको निगरानी गरिरहेका हुन्छन् । म भन्छु जुवातास खेल्दै नखेल्नुहोस् । कसैले गल्ती नै नगरे पक्राउ गर्नै पर्दैन । तर यदी खेल्नुभयो भने हामीलाई तपाईँकै परिवारका सदस्यले सूचना दिएका हुन्छन् र हामीले पक्राउ गर्ने छौँ । प्रहरी समुदाय साझेदारी कार्यक्रमले पनि आम नागरिकलाई प्रहरीसँग नजिक बनाएको छ । महिनामा कम्तीमा पनि २५ ओटा कार्यक्रमहरु गरेर हामी समुदायमा भिजेका छौँ । पहिले प्रहरीसँग डराएका कारण पनि सूचना आउँदैनथे होला । अब त्यस्तो हुँदैन ।
सर्वसाधारण नागरिक प्रहरीसँग डराए पनि केही पावरका आधारमा पार पाउने दाबीका साथ खेलीरहेका हुन्छन् नि ?
– हुन सक्छ । तर जुवातास खेलेको पाएमा जो भए पनि हामीले नियन्त्रणमा लिने छौँ । हामीले समातेपछि कसैको पनि केही लाग्ने छैन । नियम र कानुनमा जे जे भनिएको छ सोही अनुसार कारबाही हुने कुरामा सबै ढुक्क रहनुहोला । पक्राउ परेपछि नाम बाहिर आउँदा बेईज्जत भयो भनी पश्चाताप गर्नुभन्दा जुवातास खेल्ने कामै नगर्नुहोस् । हामीले अहिलोसम्म कसैको प्रभावमा परेर समात्ने र प्रभावमा परेर छाड्ने काम गरेका छैनौँ । कानुन भन्दा बाहिरका काम गर्ने सबै अपराधी हुन्, तिनीहरुलाई कानुनी दायरामा ल्याउनु हाम्रो कर्तब्य हो । हामी हाम्रो पेशाप्रति कर्तब्यपरायण छौँ ।
यो बेला ट्राफिक व्यवस्थापनको चुनौती निकै हुने गर्छ ? तपाईँहरुले तयारी कसरी गरिरहनुभएको छ ?
– यहाँ आवश्यक परेको अनुसार ट्राफिक प्रहरीको दरबन्दी छैन् । यही कारण जहाँ जहाँ ट्राफिक प्रहरीको उपस्थिति हुनुपर्ने हो त्यो ठाउँमा जनपथ प्रहरी पनि सँगसँगै हुनेछन् । यहाँको ट्राफिक प्रहरीले सक्रियताका साथ काम गरिरहेको छ । उहाँहरुले बजारदेखि ग्रामिण क्षेत्रमा आउजाउ गर्ने तथा अन्तर जिल्ला आउजाउ गर्ने सवारीहरुको पनि निगरानी गरिरहनुभएको छ । ट्राफिक प्रहरीको सक्रियतामा क्षमताभन्दा बढी यात्रु राख्ने, क्षतमा बस्ने, बढी भाडा असुली गर्ने लगातका क्रियाकलापमा प्रत्यक्ष र अप्रत्यक्ष अनुगमन भइरहेको हुन्छ । हामीले जिल्लाका चार ठाउँमा यात्रु सहायता कक्ष पनि निर्माण गरेका छौँ । यात्राका क्रममा सवारीका सञ्चालक वा यात्रुले कुनै पनि समस्या भोगेमा वा सामग्री हराएमा पनि ती सहायता कक्षमा रहेका प्रहरीलाई जानकारी गराएपछि तुरुन्तै रेस्पोन्स हुन्छ । कोरोनाका कारण गएका बर्षहरुमा जस्तो यसवर्ष सवारीमा त्यती धेरै चाप देखिएको छैन् । म त भन्छु यो बेलामा यात्रा गर्नु राम्रो पनि होइन् । जो जहाँ छौँ, त्यही ठाउँमा सुरक्षित तरिकाले दसैँ मनाउनु नै उत्तम हो, आयु बढाउने उपाय हो ।ढोरपाटन दैनिकबाट