परिवार नौ दिन देखि जसको किरियामा बसेको थियो , उनै ज्युँदो फर्केपछि…..

गुल्मी, २८ असार । किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका–५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् । उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका छन् ।

बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी हराएपछि आफन्तजले खोजी गरेका थिए । उनीहरूले वडा कार्यालय र प्रहरीलाई पनि हराएको जानकारी दिएका थिए ।

१९ असारमा रुरु गाउँपालिकाको बम्घा र रिमुवानजिक बडिगाड नदीमा एक पुरुषको शव भेटिएको थियो । शरीरमा लुगा नभएकाले पहिचान गर्न सकिएको थिएन । श्यामशरण हराएकाले प्रहरीले उनको परिवारलाई खबर गर्‍यो ।

शवसँग उनका धेरै कुरा मिलेका परिवार र आफन्तजनले स्वीकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘उनी जस्तै थिए, त्यसैले परिवार र सिंगो गाउँलेले नै श्यामशरण नै भनेका हुन्,’ पाण्डेयले भने ।

परिवार र गाउँलेले स्वीकारेपछि प्रहरीले पनि मुचुल्का उठायो । त्यही दिन प्राथमिक स्वास्थ्य केन्द्र, खैरेनीमा शवको पोस्टमार्टम गरियो । २० असारमा परिवार र छिमेकीले रुद्रवेणी घाटमा दाहसंस्कार पनि गरे र काजकिरियामा बसे ।

किरिया बसेको नवौँ दिन शनिबार बिहान ८ बजेतिर पाल्पाको रैनादेवी गाउँपालिका–१ अर्चलेमा श्यामशरण जीवित फेलापरेको भन्ने फोन आउँदा भने परिवारजन मात्रै होइन, गाउँले पनि झस्किए ।

सबैभन्दा पहिले अर्चलेबाट रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई खबर आएको थियो । ‘खबर पाएको केहीबेरमै अर्चले पुगेर मान्छे जीवित देख्दा अचम्म लाग्यो,’ वडाध्यक्ष ज्ञवालीले भने । त्यसपछि आफन्त र प्रहरीलाई खबर गरेर शनिबार साँझ परिवारलाई बुझाएको वडाध्यक्ष ज्ञवालीले बताए ।

रुरु गाउँपालिका–१ रिडीबाट पत्रकार चुरामणि तिमल्सेनासहित स्थानीय बासिन्दा श्यामशरणलाई लिएर बुटवल पुगेका थिए । ‘शनिबार साँझ ६ बजेतिर उनको घर पुग्दा मान्छेको भिडभाड थियो । श्यामशरणलाई देख्ने बित्तिककै त्यहाँ भएका मान्छे मात्रै होइन, परिवारजन पनि झस्किए,’ तिमल्सेनाले भने । उनलाई बुझाएको फोटो खिच्न खोजे पनि परिवारजनले नमानेको उनले बताए ।

किरिया गरिरहेका श्यामशरण जीवित घर फर्किएपछि अचम्म लागेको उनका आफन्त विष्णु भण्डारीले सुनाए । ‘सानोबुबा जीवित आएकाले अचम्मित भएका छौँ । अर्कैको दाहसंस्कार गरिएकाले तनावमा पनि छौँ,’ उनले भने ।

परिवारजनले हचुवाका भरमा शव स्वीकार गरेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी केदारराज पन्तले बताए । ‘परिवारले जीवित भेटेकाले पुनः जाहेरी माग्छौँ । त्यसपछि मात्रै दाहसंस्कार गरिएका व्यक्तिको खोजी गर्छौँ,’ डिएसपी पन्तले भने । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’