राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना देखि संघीय साँसद र प्रदेशमन्त्री सम्म पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा

पर्वत, जेठ ३२ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद ले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ।
अध्यक्ष तिमिल्सिना संगै पर्वतबाट निर्वाचित प्रतिनिधीसभका सदस्य पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल लगायतले आइतबार दिउँसो स्थलगत अवलोकन गर्नुभएको हो । पहिरोमा परि आठ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन्।
अध्यक्ष तिमिल्सिना सहितको टोलीले घटनास्थतलको अवलोकन गर्नुका साथै मृतक परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्तवना व्यक्त गर्नुभएको थियो।

सो क्रममा अध्यक्ष तिमिल्सिनाले बेपत्ताको शिघ्र उद्दार, पीडितलाई राहत, पुनर्स्थापन तथा पहिरोबाट जोखिममा परेको वरपरको बस्तीको स्थानान्तरणमा तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीन तहका सरकारलाई आग्रह गर्नुभयो।
अध्यक्ष तिमिल्सिनाले पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि रातीदेखि खटिरहनुभएका पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

पर्वतका प्रतिनिधसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग,पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्साल लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरुको यस दुखमा साथ रहने बताउनुभएको थियो। प्रतिनिधीसभाको आइतबारकै बैठकमा बोल्दै साँसद पदम गिरीले उद्दार र राहतका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।