कञ्चनपुरमा रिपोर्ट नआउदै क्वारेन्टिनबाट घर पठाइएका ११ जनामा संक्रमण पुष्टि

काठमाडौं, जेठ ३२/ कञ्चनपुरको लालझाँडी गाउँपालिकामा नमूना संकलन पछि रिपोर्ट नआउदै घर पठाइएका मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतबाट फर्किएर लालझाँडी गाउँपालिका–४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ११ जनालाई जेठ ३० गते घर पठाइएको हो।
ती ११ जनामा नै शनिवार कोरोना संक्रमण पुष्टि भएको छ।
शनिवार कञ्चनपुरमा २१ जनामा कोरोना संक्रमित थपिएका थिए। तीमध्ये १४ जना मात्रै लालझाँडी गाउँपालिकाका छन्।
स्वाब संकलन पछि ११ जनालाई घर पठाइएको लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले स्विकारे।
‘हामीहरु भागेर जान्छौँ, यहाँ राखेर के गर्नु हुन्छ। भन्दै द्धन्द्ध नै गर्नु आउनु भयो त्यसैले वडाध्यक्ष, सुरक्षाकर्मीहरुहरुको सहमतिमा सेल्फ क्वारेन्टिनमा बस्ने गरी छाडिएको हो। अहिले उहाँहरुलाई फेरी क्वारेन्टिनमा ल्याउने तयारी भइरहेको छ।’ उनले नेपालखबरसंग भने।
पीसीआर रिपोर्ट आउनमा ढिलाई हुँदा समेत समस्या भएको उनले बताए।
‘७-८ दिन अगाडि नमूना संकलन गरी पठाइएको थियो, रिपोर्ट आउन ढिला भयो, त्यसमा उहाँहरु आक्रोश पोख्न थाले।’
अध्यक्ष बडायकले भने। जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको लापरबाहीले स्वाब संकलन पछि रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइए पछि कोरोना समुदायस्तरमा फैलिने खतरा बढेको छ। लालझाँडी गाउँपालिका–४ को स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्वारेन्टिन व्यवस्थित नहुँदा क्वारेन्टिनभित्र भित्रै कोरोना संक्रमण फैलिन थालेको हो। लालझाँडी गाउँपालिकाका १४ जना संक्रमितलाई अस्पताल राख्ने तयारी भइरहेको छ।
‘आइसोलेसनमा राख्नका लागि समन्वय गर्दै छौँ, अहिलेसम्म अस्पताल लगिएको छैन्। घर पठाइएका ११ जना संक्रमितलाइ पनि ल्याउने तयारी छ।’
अध्यक्ष बडायकले भने। उनका अनुसार तीन संक्रमितलाई भने स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको छ। उनीहरुको अवस्था सामान्य रहेको छ। संक्रमितलाई राख्न आइसोलेसन कक्ष नहुदा झनै समस्या थपिएको छ।
स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण
लालझाँडी गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ।
शंकरपुर स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्टका रुपमा कार्यरत ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
अहिले उनी होम आइसोलेसनमा छन्। लालझाँडी गाउँपालिकामा शनिवार थपिएका १४ संक्रमित मध्ये ती पनि एक हुन्।
यो संगै कञ्चनपुरमा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। यस अघि पुर्नवास नगरपालिकाका दुई स्वास्थ्यकर्मीमा संक्रमण देखा परेको थियो।
उनीहरुको अहिले उपचार भइरहेको छ। सुदूरपश्चिममा कोरोना सक्रमितको संख्या २५२ पुगेको छ। ती मध्ये २६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।