चीनमा महिलाले दुईभन्दा बढी श्रीमान राख्न पाउने प्रस्ताव!

बेइजिङ्ग, ३० जेठ / चीनमा महिलाले दुई वा दुईभन्दा बढी अर्थात बहुपति राख्न पाउने प्रस्ताव आएको छ। विश्वविद्यालयका प्रोफेसर तथा अर्थशास्त्रीले चीनमा देखिएको लैंगिक असमानता घटाउन बहुपतिको प्रस्ताव गरेका हुन्।
चीनले एक सन्तान नीतिमा परिवर्तन ल्याउँदै थप बच्चा जन्माउन दम्पतीहरुलाई विगत तीन वर्षदेखि प्रोत्साहन गरिरहेको छ। दुई बच्चा जन्माउनेलाई कर छुटदेखि आवाससम्म आरक्षण पनि दिएको छ। गर्भपतन र सम्बन्ध विच्छेदमा पनि कडाई गरेको छ। सम्बन्ध विच्छेदका लागि कडा प्रावधान राखिएको छ। तैपनि चिनियाँ अधिकारी लैंगिक असमानता नियन्त्रणमा सफल हुन सकेका छैनन्।
चीनमा जन्मदर कम छ। महिलाको तुलनामा पुरुषको संख्या बढी छ। यो असमानतालाई अन्त्य गर्न सांघाईको फुदान विश्वविद्यालयका एक प्राध्यापक एवं अर्थशास्त्री येव क्वांग एनजीले महिलालाई बहु पति राख्ने अनुमति दिनुपर्ने सुझाव दिएका छन्। बहु पति हुँदा बच्चाहरु धेरै जन्मिने उनको सुझाव छ।
लैंगिक असमानताका कारण चीनको अवस्था खराब हुँदै गइरहेको छ। समस्या समाधान नभए सन् २०५० सम्म ३ करोड पुरुष अविवाहित रहने प्रक्षेपण गरिएको छ। संकटका बीच चिनियाँ अर्थशास्त्री क्वांगले अधिकारीहरुलाई क्रान्तिकारी परिवर्तनका लागि सुझाव दिएका हुन्। उनले सरकारले महिलालाई दुई वा दुईभन्दा बढी श्रीमान राख्ने अधिकार दिनु आवश्यक रहेकोमा जोड दिएका छन्।
केही समयका लागि महिलालाई दुई वा दुईभन्दा बढी पति राख्ने अधिकार दिँदा सामाजिक समस्याको समाधान हुनसक्ने उनको भनाई छ। ‘यो सुझाव कार्यान्वयन गरे देशमा बढिरहेको अविवाहित पुरुषको संख्याले पत्नी र खुसी पाउन सक्नेछ,’ उनले भनेका छन्।
प्रोफेसर क्वांगले बढ्दो प्रतिस्पर्धाका कारण अविवाहित पुरुषका लागि आउने समयमा योग्य दुलही खोज्न कठिन हुने खतरासमेत औल्याएका छन्। महिलाहरुको संख्या कम भएको अवस्थामा उनले आधा उमेरका अविवाहित पुरुषका लागि दुलहीको मन जित्न युवाहरुसँग प्रतियोगिता गर्नुपर्ने अवस्था आउनेतर्फ ध्यानाकर्षण गराएका छन्।
‘यदि पुरुषको स्वाभाविक, जैविक र मनोवैज्ञानिक आवश्यकता उचित ढंगले पूरा भएन भने यसको खराब असर निश्चित रूपमा उनीहरुको खुसीमा पर्नेछ,’ उनले भनेका छन्।
चिनियाँ अर्थशास्त्रीले यो संकट समाधानका लागि दुई सुझाव दिएका छन्। पहिलो भनेको वेश्यावृत्तिलाई कानूनी रूप दिने। दोस्रो भनेको बहुविवाह प्रथालाई अनुमति दिने। यस्तो व्यवस्थाले महिलालाई कानूनी रुपमा दुई वा त्यो भन्दा बढी पति राख्ने हक मिल्नेछ। चिनियाँ कानुनअनुसार अहिले एक विहेको मात्रै अनुमति छ।
अर्थशास्त्री क्वांगले तिब्बतमा पहिलेदेखि यो प्रथा चलिआएको स्मरण गर्दै चीनमा धेरै मानिसहरु पत्नी नहुनुभन्दा पत्नीलाई बाँड्नु नै उपयुक्त हुने पक्षमा रहेको दावीसमेत गरेका छन्।एजेन्सीबाट