रुपन्देही हत्याकाण्ड : साहुलाई गलत कुरा लगाएपछि मदिरामा गाँजा मिसाएर खुवाइ लठ्याएर हत्या

रुपन्देही, २९ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा पाँच व्यक्तिको हत्याअघि नशालु वस्तु खुवाइएको खुलेको छ । प्रहरी अनुसन्धान र अभियुक्तको बयानले नशालु वस्तु खुवाएर लठ्ठपारी हत्या गरेको खुलेको हो ।
गंगादेवी गाई फर्ममा त्यही काम गर्ने तीन जना र गाउँका दुई युवाको सोमबार राति हत्या भएको थियो । मृतकमध्ये दुई श्रीमान–श्रीमती हुन् । फर्ममै काम गर्ने सुर्खेत लेकबेसी नगरपालिका घर भएका ३१ वर्षीया झसेन्द्रबहादुर सिंजालीले हत्या गरेको प्रहरीले जनाएको थियो । उनले मंगलबार नै हत्याको स्वीकार गरेका थिए । तर उनी आफै नशामा लठ्ठ भएका कारण प्रहरीले थप सोधपुछ गर्न सकेको थिएन ।
सिंजालीले आफ्नो गाली बेइज्यती गरेको रिसइबीमै हत्या गरेको स्वीकारेका छन् । हत्याअघि फर्ममा रहेका ८ जनामध्ये पाँच जनालाई मदिरामा गाँजा मिसाएर खुवाएको उनले बताए । गाँजा मिसिएको मदिरा खाएपछि लठ्ठिएका उनीहरुलाई फरुवाले हानेर हत्या गरेको बयानमा बताएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मदिराका बोतल बरामद गरेको थियो ।
आफूविरुद्ध पशु गमन गरेको भन्ने आरोप लगाएकोमा सिंजाली रुष्ट थिए । मुसहर दम्पत्तीसहित अन्यले पैसा ठग्ने गरेको भन्दै साहुसँग गलत कुरा लगाएको बयान सिंजालीले दिएका छन् ।
अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले दुई महिनादेखि श्रीमती हराएको तनावसहितका तीन कारणले हत्या गरेको बताए ।’ आफै तनावमा रहेको र रिसइबी साध्न हत्या गरेको देखिएको छ’ उनले भने ।
गाईफर्ममा दुई वर्षदेखि काम गर्दै आएका रुपन्देही सैनामैना नगरपालिका–५ दरखासीका ४० वर्षीया माधव मुसहर र उनकी श्रमीती ३७ वर्षीया जानकी मुसहरको मृत्यु भएको छ । फर्ममै काम गर्ने १६ वर्षीया रमेश भनिने पोखराज मुसहर, तिलोत्तमाकै दुई युवा १५ वर्षीया करण थारु र १६ वर्षीया आशिष चौधरीको हत्या भएको हो । करण र आशिष साथी पोखराजसँगै बस्न आएका थिए । सिंजालीले मुसहर दम्पत्तीसहित तीन युवा लक्षित गरेर हत्या योजना बुनेका थिए ।
मदिरा खाएर सुतेका उनीहरुमाथी शुरुमा लठ्ठी प्रहार गरेको उनले बयान दिएका छन् । लठ्ठी प्रहारबाट अचेत भएपछि फरुवाको बिँडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ । अन्नपूर्ण पोष्टबाट