नवराजकी आमा भन्छिन्, ‘काफल खाएर आउँछु भन्ने शब्द नै अन्तिम भयो’

छोरा गुमाएका आमाहरू भन्छन्, ‘निर्दोष नफसुन्, दोषी’

जाजरकोट, २९ जेठ । गत १० जेठमा प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराज विक र उनका पाँचजना साथी कहिल्यै नफर्किने गरी ठूलीभेरीको छालसँगै बगे ।

उनीहरूसँगै परिवारको खुसी पनि बग्यो । कथित उपल्लो जातको युवतीसँग प्रेम गरेको भन्दै रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८, गैरीज्युलामा गाउँलेको आक्रमणपछि जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक (२१), सञ्जु विक (२२) र गणेश बुढामगर (१९), भेरी नगरपालिका–११ मटेलाका लोकेन्द्र सुनार (१८) र गोविन्द शाही (१७) तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार (२०) को शव भेरी नदीमा फेला पर्‍यो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाउँलेकै आक्रमणबाट ज्यान गएको देखिएको छ । प्रहरीको नियन्त्रणमा रहेका सोतीगाउँका २७ जनाले प्रेम सम्बन्धकै कारण रुकुम घटना भएको बयान दिएका छन् । तर, ज्यान गुमाउनेका परिवारमा भने ठूलो बज्रपात भएको छ । उनीहरूका पीडा फरक–फरक छन्न् ।

लक्ष्मीको जीवनमा एकपछि अर्को बज्रपात
खलंगामा मजदुरी गरेर फर्किदै गर्दा श्रीमान् लक्ष्य सुनारले सवारी दुर्घटनामा परी ज्यान गुमाए । एउटा छोरो मलेसियामा भिसाविनै भागीभागी बसिरहेको छ । भेरी नगरपालिका–११, मटेलाकी लक्ष्मी सुनारको जीवनमा परेका बज्रपातको शृंखला यतिमै सकिँदैनन् ।

बस्नलाई भेरी नदीको किनारमा ऐलानी जग्गामा सानो टहरो छ । बाबासँगै दुर्घटनामा परी आठ वर्षे छोरी पुनमको हात बांगो छ, टाउकोमा १५ टाँका लगाइएको छ । दुवै खुट्टा माथिसम्म पिल्सिएका छन् । पुनमलाई चैतमै परीक्षणका लागि काठमाडौं लैजानुपर्ने भए पनि लकडाउनले रोकिदियो ।

लकडाउनकै कारण सुर्खेत बसेर सुनचाँदीको काम सिकिरहेका लोकेन्द्र सुनार घर फर्किएका थिए । १० जेठको बिहान नवराजले सानीआमा लक्ष्मीको मोबाइलमा फोन गरे र लोकेन्द्रसँग कुराकानी गरे । लक्ष्मी भन्छिन्, ‘सधैँजसो कुरा गर्थे, उनीहरूले के कुरा गरे ? मलाई थाहा भएन ।

त्यस्तो घटना हुन्छ भनेर मलाई के थाहा ?’ बेलुकी ७ बजे अचानक दिदी उर्मिलाको फोन आएपछि थाहा भयो, उनीहरू सोती गएछन् र त्यहाँबाट बेपत्ता भएछन् । राति नवराजको लास भेटिएपछि लक्ष्मीलाई लाग्यो, मेरो छोरो कतै गएर बसेको होला । त्यसरात उनी लोकेन्द्रलाई पर्खिरहिन् । निद्रा परेन ।

भोलिपल्ट उनी सानी छोरीलाई लिएरै भए पनि खोजबिनमा लागिन् । तर, लोकेन्द्र भेटिएनन् । ११ जेठको साँझ साढे ५ बजे नवराजसँगै गएका टीकाराम नेपालीको शव भेटियो । त्यसपछि लक्ष्मीलाई लाग्यो, आफ्नो छोरालाई पनि त्यसै छाडेनन् । लक्ष्मी भन्छिन्, ‘मेरो छोरो राम्रो भेरी खेल्थ्यो, त्यसपछि पनि आउँला कि भन्ने लागिरह्यो ।’ लोकेन्द्र १४ जेठ दिउँसो साढे १ बजे भेरीमा बग्दै गर्दा भेटिए ।

भेरीको किनारमै उनको घर छ, उनी घरैअघिबाट बगेर झन्डै ३० किमि तल पुगेका रहेछन् । काम सिकेर छोराले कमाउला र घर खर्च चलाउन सहज होला भन्ने लक्ष्मीको आशा नामेट भयो । ‘विदेशमा बसेको छोरा न कमाउन सकेको छ, न घर फर्किन पाएको छ,’ उनी भन्छिन्, ‘यहाँ भएको अर्को छोरोलाई भेरीमा हालिदिए, अब यो सानीको उपचार कसरी गर्नू ? मैले कसको आसमा बाँच्नु ?’ आफ्नै दिदीको छोराले बुहारी लिन साथी लगेकाले उनलाई दोष लगाउने ठाउँ पनि नभएको उनी बताउँछिन् । तर, दलित भएकै कारण कुटीकुटी मारेर भेरीमा फाल्नेमाथि कारबाही हुनुपर्ने उनले बताइन् ।

छोराको बर्थ–डे मनाउन पाएनन् सञ्जुले

रानागाउँको सिरानमा रहेको नवराजको घरबाट दुई घरमुनि उनका साथी सञ्जु विकको घर छ । सोतीगाउँ पुग्ने नवराजको टोलीमा सबैभन्दा परिपक्व पनि उनै थिए । नवराजले प्रेमिकालाई भगाउन जाने कुरा उनलाई पहिल्यै थाहा थियो । त्यही दिन सञ्जुका पाँच वर्षे छोराको बर्थडे थियो ।
भाइका लागि बुहारी ल्याइदिने र बेलुका छोराको बर्थडे मनाउने उनको योजना थियो ।

तर, नवराजको बिहे गरिदिने सोचले भेरी तरेका सञ्जु पनि नवराजसँगै गए । उनको शव १५ जेठको दिउँसो ३ बजे कालेभीरमुनि भेटियो । उनको अनुहारमा धारिलो हतियारको चोट थियो । जिउभरि निलडाम थिए । त्यतिका दिनपछि लास भेटिँदा पनि उनको शरीरबाट रगत बगिरहेको थियो । आर्मीमा भर्ती हुने प्रयास गरिरहेका उनको मृत्युले श्रीमती २० वर्षीय सविना अझै बेहोस जस्तै छिन् ।

आमा सविता विक भन्छिन्, ‘बरु पुलिसले थुनिदिएको भए घरबारी राखेर भए पनि उकास्थेँ, तर मृत्यु नै दिएपछि त हामीले के गरेर चित्त बुझाउनु ? हामी त दलित पर्‍यौँ, दलितलाई कसले हेर्छ र ?’ सञ्जुका बाबु आर्मीबाट निवृत्त भएर बसेका छन् । सञ्जु सजिलै भेरी वारिपारी गर्थे । सानैमा पढाइ छाडे पनि उनी खेलकुद र मार्सलआर्टमा भने उत्कृष्ट थिए । आमा भन्छिन्, ‘मेरो छोरो विनाकारण मारियो, पक्राउ परेकाले परिवारलाई भेट्न पाउँछन्, तर हामीले कहाँ गएर भेट्नु ?

‘गैरदलितका लागि कसले बोलिदिन्छ ?’
रुकुम घटनामा दुई गैरदलित युवाको ज्यान गयो । १८ जनाको टोलीमा नवराजलाई नचिन्नेमा भेरी नगरपालिका–११ मटेलाका गोविन्द शाही पनि थिए । उनी नवराजका सानीआमाका छोरा लोकेन्द्रका साथी हुन् । लोकेन्द्रसँगै मटेलाबाट निस्किए, तर गन्तव्य थाहा थिएन ।

साथीसँग काफल खाने, घुम्ने र आउने भनेर हिँडेका उनलाई परिवारले ११ दिनसम्म पर्खिरह्यो । उनको शव सबैभन्दा अन्तिममा २० जेठ दिउँसो साढे ३ बजे भेरीमा मिसिने खोदाखोलाको छेउमा फेला प¥यो । उनकी आमा भीमकुमारी भन्छिन्, ‘ओठ च्यातिएको थियो, नाकमुख कुच्चिएको थियो, अरूको पहिले नै लास भए पनि भेटियो, हाम्रो त कसैले खोज्न पनि सघाएन ।’ भेरीमा बेपत्ता भए पनि प्रहरीले समेत शव खोज्न नसघाएको परिवारको गुनासो छ ।

गोविन्दको परिवार अझै शोकबाट मुक्त भइसकेको छैन । भीमकुमारी भन्छिन्, ‘घटनापछि देशैभरि दलितका लागि आन्दोलन छ, न्याय र अधिकार मागिरहेका छन्, मेरो छोरोको चाहिँ के दोष थियो र ? मेरो छोरोको त नाम पनि आउँदैन, कसैले सोध्दैन, हामीलाई कसले न्याय दिन्छ ?’ मटेलामा पनि दलित बस्ती छ ।

‘यो घटनामा अन्तर्जातीय प्रेम कारण होला, तर दलित मात्रै मारिएका छैनन्,’ उनकी फुपू यमुना शाही भन्छिन्, ‘अनि दलितलाई मात्रै न्याय मागेर आन्दोलन भइरहेको छ, अनि गैरदलितका लागि कसले बोलिदिन्छ ?’ भीमकुमारीका तीन छोरा छन् । गोविन्दका दाजु सन्देश आफै लागेर भाइ र अरूको शव भेरीमा भेटाएका हुन् ।

टीकाराम आमासँग भिडियोमा कुरा गर्न चाहन्थे

‘मेरी आमासँग भिडियो कल बनाइदेऊ न दिदी,’ छिमेकी दिदी दीपालाई जाजरकोटबाट सोतीगाउँ जानुअघि टीकाराम सुनारले फेसबुकमा लेखेका थिए । ‘आमा गिटी कुटेर आएपछि साँझ पक्का है,’ दीपाले आश्वासन दिइन् । तर, टीकाराम कहिल्यै नभेट्ने गरी गएका छन् । लकडाउनको फुर्सदमा मावली गाउँ जाजरकोट गएका रुकुमको चौरजहारी नगरपालिका–१ का उनी १६ जेठमा भेरी नदीको किनारमा फेला परे ।

टीकारामकी दुई वर्षीया छोरी र श्रीमती भावविह्वल अवस्थामा छन् । बाबु शोभे नेपाली भन्छन्, ‘हाम्रो जिन्दगी भनेको त्यही एउटा छोरो थियो । अब के नै बाँकी रह्यो र ?’ छोराको किरियाकर्म सकेर बसेका उनले भने, ‘मेरो किरिया त्यही छोराले गर्ने आशा थियो, तर मैले नै छोराको किरिया गर्नुपर्‍यो ।’

शोभे नेपाली सन्तानका लागि ६ वर्ष मलेसियामा रगत र पसिना बगाएर गत कात्तिकमा घर फर्किएका थिए । टीकारामकी एक बहिनी छिन् । उनी दाइको शव भेरीमा भेटिएको खबर सुनेदेखि बेहोसीमै बर्बराइरहेकी छिन् । दाइसँगको अन्तिम कुराकानीको शब्दले उनलाई पोलिरहेको छ । तीन वर्षअघि एसइई सकेका टीकारामले आर्थिक अवस्था कमजोर भएकै कारण त्योभन्दा माथि पढ्न सकेनन् ।

बुढेसकालको सहारा गुम्यो, आशाको जरै उखेलियो
नवराजका मिल्ने साथी थिए गणेश बुढामगर । नवराजसँगै हिँड्थे, खान्थे, खेल्थे । उनलाई नवराजको प्रेम सम्बन्धका बारेमा पनि थाहा थियो । आमाबुबासँग गाउँबाट खलंगा आएर डेरामा बसेका उनी कक्षा १० मा पढ्थे ।

बिहान आमा राधिकाले खाना बनाउँथिन् । बेलुका उनी बनाउँथे ।
आमाबुबा नै मिस्त्री काम गर्ने भएकाले अधिक समय उनी नवराज र साथीहरूसँगै बिताउँथे । नवराजकी प्रेमिकालाई भगाउन गएका उनी आफै भेरीमा बगे । रानागाउँमा दुई कोठा छन् उनीहरूका । महिनाको १५ सय रुपैयाँ भाडा तिर्नुपर्छ ।

त्यस दिन पनि राधिका बिहानै खाना बनाएर काममा हिँडेकी थिइन् । गणेशका बाबु पदमबहादुर दिउँसो खोलातिर नुहाउन गए । लकडाउन भएपछि सधैँ त्यतै वरपर हुने गणेश त्यो दिन दिनभर घरमा थिएनन् । अपराह्न ४ बजे आमा राधिकाले खसीको मासु लगेर खाना बनाउन भनेर फोन गर्दा उनले आफू साथीसँग भएको बताएका थिए ।

राधिका भन्छिन्, ‘मैले फोन गर्दा साथीसँग खेल्न गएको छु, बेलुका खाना आफैँ बनाउनु, ढिला हुन्छ भनेको थियो, त्यसपछि फेरि कुरै भएन । ऊ सधैँलाई हामीबाट टाढा गयो ।’ १० जेठको साँझ गाउँलेको कुटाइमा परेका गणेशको शव १२ जेठ बेलुका ४ बजे फेरामा भेटियो ।

२३ जेठमा नयाँ पत्रिकाकर्मी पुग्दासम्म पनि राधिकाका आँसु थामिएका थिएनन् । गणेशको अनुहारमा चोट लागेको थियो । उनीहरू त्यही छोरालाई पढाउँदै दुःखसुख खाएर खलंगा बसेको ११ वर्ष बितेको छ । ‘छोराले पढेर सानोतिनो जागिर खाला, बुढेसकालको सहारा बन्ला भन्ने आशा थियो, आशाको जरै उखेलियो,’ उनी भन्छिन् ।

साथीको लहैलहैमा लागेर हिँड्दा छोराले ज्यान गुमाएको उनी बताउँछिन् । भन्छिन्, ‘मेरो छोराको केही दोष थिएन, उनीहरूले कुटीकुटी मारे, निर्दोष नफसुन्, दोषीलाई मृत्युदण्ड दिइयोस् ।’ छोरो मरेपछि मगर दम्पतीले डेरामा बसेर काजकिरिया पनि गर्न पाएनन् । माथि डाँडामा रहेको खानेपानीको भवनमा बसेर किरिया गरे । काजकिरिया सकेपछि उनीहरू छोराकै कोठामा बसेका छन् । छोरो मरेपछि उनीहरूले कामको लय समात्न सकेका छैनन् ।

नवराजकी आमा भन्छिन्, ‘काफल खाएर आउँछु भन्ने शब्द नै अन्तिम भयो’
१० जेठमा नवराज विकको हाउभाउ छुट्टै थियो । उनी खुसी देखिन्थे । प्रायः भान्साको काम नगर्ने उनले त्यो दिन आफैँले खाना बनाए । कोठा र घरवरिपरि सरसफाइ गरे । बिहानै कपाल काटे र नुहाइधुवाइ पनि गरे ।

‘टाढै जान लागेको छस् कि बाबु,’ आमा उर्मिलाले सोधिन् । उनले ‘सरसफाइ गर्न पनि नहुने भनेर’ हाँसेर टारे । ‘खाना खाएर हामी आफ्नो काममा लाग्यौँ, दिनभर उसका चप्पल कोठाबाहिरै थिए, त्यहीँ होला भन्ठान्यौँ, फोन गर्दा ‘काफल खाएर आउँछु’ भनेको थियो ।’

नवराजले आमासँग गरेको त्यही कुराकानी अन्तिम बन्यो । काफल खान जान्छु भनेर प्रेमिकालाई भगाएर ल्याउन भेरीपारि गएका उनी घर फर्किएनन् । राति ११स्४५ बजे भेरीमा उनको लास भेटियो । उर्मिलाको काख खोसियो । कथित उपल्लो जातको युवतीसँग प्रेम गरेकै कारण जाजरकोटको भेरी नगरपालिका–४, खलंगा रानागाउँका नवराजको घर उजाडिएको छ ।

खलंगाकै त्रिभुवन माविबाट कक्षा–१२ उत्तीर्ण नवराज भलिबल, फुटबल र एथ्लेटिक्सका राम्रा खेलाडी थिए । विद्यालय तहदेखि नै यहाँ सञ्चालन हुने खेलकुदमा उनी सक्रिय हुन्थे । खेलकुदमा सहभागी भएर उनले ल्याएका प्रमाणपत्र र मेडल अब उनको याद बनेका छन् । आमा उर्मिला भन्छिन्, ‘दलित भएकै कारण उनीहरूले मारे, त्यतिले पनि नपुगेपछि मेरो छोरामाथि गाँजा र ट्याब्लेट खान्थ्यो भनेर आरोप लगाएका छन् ।’

रुकुम गएका नवराज बेलुकीसम्म पनि घर नफर्किएपछि परिवार खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । त्यसैवेला धल्ला पुलनजिकै एउटा लास भेटिएको खबर आयो । आधा रातमा नवराज र उनका साथीहरूलाई खोज्न आफन्त र छिमेकी भेरी किनार पुगे । राति करिब १ बजे शवको पहिचान भयो ।

दिउँसो १ बजे मुुचुल्का गरेर जाजरकोट अस्पताल ल्याइयो । बाबु मुनलाल भन्छन्, ‘लास ढुंगामा अड्किएको थियो, पुलिसले निकाल्न दिएन, त्यसपछि भोलि यहाँबाट बगाए कसले जिम्मा लिने ? भनेपछि डोरीले बाँधेर राखियो ।’ भेरीमा पौडी खेलेर वारपार गर्ने नवराजको लास भेटिएको खबरले गाउँमा रुवाबासी मच्चियो ।

बेपत्ता भएका अरू पाँच साथीका परिवार पनि आत्तिए । उनीहरूको पनि सोधीखोजी सुरु भयो । मुनलाल भन्छन्, ‘केटी आफैँ यहाँ आएर बसेको थाहा पाएपछि मैले खलंगा बस्ने उनका ठुलोबुबालाई सम्झाउन भनेको थिएँ, तर त्यसवेला उनले ‘माथिल्लो जातको घरको सम्धी बन्ने रहर नगर्नु’ भनेका थिए ।’

सम्पत्तिको नाममा मुनलाल विकको बजारछेउमा घरबाहेक केही छैन । थोरै भएको जग्गा पनि बाटोले खाइदियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण नवराजले पढाइ छाडेर जागिर खाने विचार गरेका थिए । नेपाल प्रहरीको जवान पदमा लिखित पास गरे । तर, कोरोना महामारीका कारण मौखिक परीक्षा रोकिएको थियो ।

आमा उर्मिला घरछेउको स्कुलमा सहयोगीको काम गर्छिन् । मुनलाल मिस्त्री काम गर्थे । तर, अघिल्लो वर्ष लडेर ढाड भाँचिएपछि अहिले काम गर्न सक्दैनन् । आफ्ना हातपाउ रगडेर हुर्काएको छोराले जागिर खाएर सुख देला भनेर सोचेका मुनलालले उल्टै जवान छोराको काजकिरिया गर्नुपर्‍यो । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’