उपचार तथा हेरचाह पद्धतिलाई व्यवस्थित बनाउन प्रशासन र जनप्रतिनिधिलाई ध्यानाकर्षण

पर्वत, २७ जेठ /विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोभिड १९ को उच्च जोखिमलाई कम गर्न र भारतसहित तेश्रो मुलुकबाट पर्वत भित्रिने नागरिकको उपचार तथा हेरचाह पद्धतिलाई व्यवस्थित बनाउन कुश्माका युवाहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले सोमवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई भेटेर कोरोना उपचार पद्दतिलाई व्यवस्थित र प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।
तर आफूहरूले सकरात्मक रूपमा दिएको सुझावलाई सामाजिक सञ्जालमा नकरात्मक ढंगले टिका टिप्पणी गरिएको भन्दै मंगलबार एक विज्ञप्ती प्रकाशित गरी अफवाहको पछि नलाग्न र महामारीविरूद्ध संयम र एकजुट भएर महामारीको सामना गर्न सबै जिल्लाबासीमा अनुरोध समेत गरेका छन् । ‘बाहिरबाट पर्वत आएका नागरिकहरूलाई सदरमुकामका विभिन्न क्वारेन्टाइनमा राख्ने सन्दर्भमा उचित व्यवस्थापनको अभावमा संक्रमण बढ्न सक्ने भन्दै आफूहरुले दिएको सुझावलाई अतिरञ्जित गरेर सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’- विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरु बाहिर बजारमा निस्कने गरेको, सामान किन्न पसल जाने गरेको जानकारीमा आएकोले उनीहरूको लापरवाहीका कारण हुनसक्ने संभावित जोखिमबाट समुदायलाई जोगाउन क्वारेन्टाइनको रेखदेख प्रभावकारी बनाउन र छिटोभन्दा छिटो पिसिआर विधिबाट संक्रमण हो वा होइन पहिचान गरि उपचार पद्दतिमा सुधार गर्न आग्रह गरिएको उल्लेख गरिएको छ ।