कोभिड नियन्त्रणका लागि सबै पक्षको सहयोग आबश्यक छ–प्रजिअ रेग्मी

पर्वत जेठ २७ / पर्वतका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कोभिड १९ को संक्रमण नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
पर्वतका पत्रकार संग आज भएको भेटघाटमा प्रमुख जिल्ला अधिकारी रेग्मीले कोरोना नियन्त्रणको विषय गम्भीर विषय रहेको बताउँदै सबैको सहकार्य भएमा समाजमा फैलिन बाट जोगिने बताउनुभयो ।
पर्वतमा भारतबाट फर्किनेहरुको संख्या बढ्दै गएको र चुनौती हरु थपिँदै गएको बेला सबैले सचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । लापरवाही गर्दा यसले भयावह स्थिती निम्ताउने भएकाले नियन्त्रणमा अहिले भैरहेको प्रयासलाई निरन्तरता रुपमा सञ्चालन गर्न आवश्यक रहेको प्रजिअ रेग्मीले बताउनुभयो । कोरोना नियन्त्रण जिल्ला समितिका निर्णय र कार्ययोजनालाई सबै पक्षले अवलम्वन गर्नु नै अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

क्वारेण्टाईनको क्षमता बढाउने र अइसोलेसन थप्ने प्रक्रिया शुरु भएको बताउँदै रेग्मीले समाजमा कोरोना फैलिन नदिन स्थानीय सरकारको भूमिका थप महत्वपूर्ण हुने बताउनुभयो । जिल्लाको शान्ती सुरक्षा, विकास निर्माण लगायतका विषयमा पनि जिल्ला प्रसासन कार्यालय गम्भीर रुपमा लागिरहेको उहाँले बताउनुभयो ।

यस्तै नवआगन्तुक जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले नेपाल प्रहरीको पहिलो कर्तब्य कानुन कार्यान्वयन गर्ने भएकाले अपराध नियन्त्रण र अनुसन्धान गर्ने कार्यमा कसै संग सम्झौता नगरि काम गर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्ने बिषय संगै अहिले फैलिएको कोभिड १९ को माहामारीमा सुरक्षाका हिसाबले गर्नुपर्ने सबै कार्य गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा स्वागत गर्दै सहकार्य र सहअस्तित्वको भावनालाई ख्याल गर्दै काम गर्न सुझाव दिनुभएको थियो । पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, पुर्व अध्यक्षहरु दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, गण्डकी प्रदेशका महासचिब गणेश पौडेल लगायत उपस्थित सबै पत्रकारले आफ्नो सुझाब राख्नुभएको थियो । पत्रकारहरुले प्रजिअ र प्रनाउ लाई सूचना लेनदेनमा सहजीकरण गर्न पनि अनुरोध गरेका छन् ।