संकटमा खटिने स्वास्थ्यकर्मीको साथमा छु : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं,२७ जेठ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातै प्रदेशमा कोरोना नियन्त्रणका लागि भइरहेको काम र कामगर्दा आइपरेका समस्याका विषयमा चासो लिनुभएको छ । कोराना भाइरस रोगको संक्रमण बढिरहेका बेला अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुखलाई फोन गरि त्यहाँका बस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ ।
उहाँले क्वारेन्टाइनको अवस्था,पीसीआर परीक्षण तथा संक्रमितहरुको उपचार,स्वास्थ्यमकर्मी र कोरोना विरुद्धको अभियानमा देखिएका समस्याका सम्बन्धमा स्वास्थ्य निर्देशनालयका प्रमुखसंग जानकारी लिनुभयो । तिमिल्सिनाले संघबाट हुन नसकेका नीतिगत विषयमा तीनै तहका सरकारसंग आफुले पहल गर्ने बचन दिनुभयो ।
उहाँले टेलिफोनमा स्वास्थ्य प्रमुखहरुसंग भन्नुभयो,अग्रपंक्तिमा तपाईहरु नै खटिरहनुभएको छ अहिले देश संकटमा छ यस घडीमा तपाईहरुले देखाउनुभएको प्रर्दशनको राज्यले उच्च मुल्यांकन गर्नेछ कत्तिपनि बिचलित नभई यस युद्धमा लाग्नुहोला तपाईहरुको समस्याको सम्बोधन गर्न म पहल गर्नेछु ।
उहाँले आफु सधै स्वास्थ्यकर्मीको साथमा रहेको बताउदै कोरानाको उपचार र रोकथाममा लाग्दा संक्रमित हुन पुगेका सबै स्वास्थ्यकर्मीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।
फोन संवादमा स्वास्थ्य प्रमुखहरुले पीसीआर मेशिन कम भएकाले संकलित स्वाबको नतिजा दिन ढिलाई भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँहरुले पीपीईको अभाव हुनुका साथै अनुमान गरिए भन्दा धेरै मानिसलाई क्वारेन्टाइनमा राख्न परेकाले व्यवस्थापनमा कठिनाई भइरहेको गुनासो गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष तिमिल्सिनाले क्वारेन्टाइन व्यवस्थापनका लागि तीनै तहका सरकारसंग समन्वय गरि व्यवस्थापन गर्न तथा मापदण्ड अनुसार घरमा नै क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई घरमा नै बस्न दिन सुझाव दिनुभएको थियो । उहाँले स्वास्थ्य सामग्रीको उपलब्धता र पीसीआर मेशिन थप गरि परीक्षणको क्षमता बढाउन आफुले हरसम्भव पहल गर्ने बताउनुभयो । हेल्थपाटीबाट