को हुन् स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा.जागेश्वर गौतम, मन्त्रालयलाई उनको आवश्यकता किन ?

काठमाडौं ,जेष्ठ २६/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी प्रा.डा.जागेश्वर गौतमले पाउनुभएको छ । यसअघि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक रहनुभएका उहाँलाई प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।

अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयको प्रवक्तालाई जनताले पनि विशेष चासोका रुपमा हेर्ने गर्छन् कारण कोरोना अपडेट कार्यक्रम । नेपालमा ७६ दिनदेखि कोरोना अपडेट कार्यक्रम चलिरहेको छ जसबाट नागरिकले सही र आधिकारिक सूचना पाउने अपेक्षा राख्दछन् । २ लाख भन्दा बढीको लाइक रहेको स्वास्थ्य मन्त्रालयको फेसबुक पेज र नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत एकैपटक लाखौंले प्रत्यक्ष हेर्ने गर्दछन् ।

सामन्य समयमा प्रवक्तालाई आम नागरिकले नचिने पनि अहिले सबैभन्दा धेरै चासोको व्यक्ति स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेको छ । त्यसैले पनि आम जनमानसमा प्रवक्ता परिवर्तनको विषयमा चासो लाग्नु स्वभाविक हो।

आजदेखि स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष प्रसारण कार्यक्रम प्रा.डा जागेश्वर गौतमले सञ्चालन गर्नुभएको छ । स्वरमा केही मधुरो देखिने भएकाले शुरुमा केही उहाँ प्रति नकरात्मक धारणा पनि सामाजिक सञ्जालमा देखिएको छ । हक्की स्वभाव, प्रस्टवक्ता र आफूलाई कुराले भन्दा कामले चिनाउन सफल रहेकाे गौतमका सहकर्मीहरुनै बताउँछन् । अधिकांश समय दूरदराजमा गरिब जनताको स्वास्थ्य सेवामा सर्मपण गर्नुभएका गौतम आफ्नो कर्मयोगी स्वभावका कारण धेरै बिरामीका प्रिय हुनुहुन्छ ।

उहाँ गाउँ-गाउँमा बिरामीको घरदैलोसम्म पुगेर जनचेतना फलाउँदै हिड्नु भयो, जतिबेला नेपालमा पाठेघर खस्ने समस्या उच्च थियो । पाठेघर खस्नाको कारण, यसबाट बच्ने उपाय तथा उपचारका सम्बन्धमा सम्झाउदै हिड्नुभयो । अहिले नेपालमा पाठेघर खस्ने समस्या न्यून छ । गोरखामा उहाँले एक वर्षमा ५०० महिलाको शल्यक्रिया गर्नुभयो जहाँका महिलाहरुमा पाठेघर खस्ने समस्या अधिक थियो । पहाडमा मात्रै २० हजार ५ सय भन्दा बढी महिलाको स्त्रीरोग सम्बन्धी शल्यक्रिया गर्नुभएका उहाँले अहिलेसम्म २८ हजार भन्दा बढी शल्यक्रिया गरिसक्नुभयो र यो क्रम जारी छ । उहाँ यसअघिका मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका गुरु हुनुहुन्छ ।

उहाँले देवकोटालाई सर्जरी विषय पढाउनु भएको थियो । उहाँले देवकोटालाई मात्रै होइन वर्षौदेखि सयौं डाक्टरलाई अध्यापन गराउदै आउनुभएको छ । गौतम बिगत ६ वर्षदेखि प्राध्यापक हुनुहुन्छ, आफ्नो ज्ञान, सीप तथा क्षमता नयाँ पुस्तालाई हस्तान्तरण गर्न उहाँ निरन्तर लागिपर्नुभएको छ ।

आफ्नो सेवाको अधिकांश समय दुर्गम र पहाडी जिल्लामा आफूलाई समर्पित गर्नुभएका गौतमलाई गरिबका डाक्टर भनेर पनि चिनिन्छ । भरतपुर अस्पतालमा १४ वर्ष बिताउनुभएका गौतमले सो अस्पतालको मुहार फेर्नुभयो । भरतपुरलाई देशकै दोस्रो ठूलो मेडिकल हबको रुपमा स्थापित गर्न उहाँको ठूलो भूमिका रहेको छ । चितवन मेडिकल कलेजको संस्थापक अध्यक्ष भई चितवनमा मेडिकल शिक्षाको सुरुवात पनि गौतमले नै गर्नुभयो । सय बेडको भरतपुर अस्पताललाई ६ सय बेडको बनाउनुका साथै छुट्टै मातृशिशु भवन पनि बनाउनुभयो ।

भरतपुरमात्रै होइन जागेश्वर गौतम जहाँ पुग्नुभएको छ त्यहाँको रुप बद्लिएको छ । थापाथलीस्थित प्रसुती अस्पतालमा पनि उल्लेख्य सुधार गर्नुभयो ।

सेवाग्राहीले पानी किन्न नपर्ने व्यवस्था गर्नुभयो भने बिरामी कुरुवाका लागि बस्ने व्यवस्था मिलाउनुभयो । अस्पतालमा तातो चिसो पानीको निशुल्क व्यवस्था गरिएपछि, सेवाग्राहीको पानीमा हुने वार्षिक खर्च ३० देखि ४० लाख रुपियाँ जोगिएको छ । फोहोर व्यवस्थापन हुन नसक्दा बेलाबखत अस्पताल परिसर नै दुर्गन्धित हुने गरेको अस्पताल अहिले फोहोर बेच्ने भएको छ ।

अस्पतालमा सेवा सुविधा र भौतिक संरचनाको स्तरन्नोति भएपछि विरामीको चाप दोब्बरले बढेको छ । वर्तमान कोरोनाको महामारीको समयमा यस अस्पतालमा कुनै पनि सेवा रोकिएका छैनन् ।

काठमाडौंमा स्त्रीरोगमा पहिलोपटक ल्याप्रोस्कोपीक विधिबाट सर्जरीको सुरुवात गौतमले नै गर्नुभयो । प्रसुती अस्पताल ल्याप्रोस्कोपी सेवा सुरु गर्ने पहिलो सरकारी अस्पताल हो ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीको सल्लाहकार भई कार्य गर्नुभएका गौतम मन्त्रालयको काम कार्बाहीबारे अनुभवी हुनुहुन्छ । स्वास्थ्य बीमा कार्यक्रम, इएचएस क्लिनिक सेवाको सुरुवात र महिला बालबालिका तथा जेष्ठ नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचार गर्ने लगायतका कार्यक्रम सुरुवात गर्न उहाँको प्रत्यक्ष भूमिका रहेको छ ।

यसअघि मन्त्रालयमा रहँदा प्रभावकारी काम गरी स्वास्थ्य सम्बन्धी नीति निर्माणमा खेलेको महत्वपूर्ण भूमिकालाई नजिकबाट नियाँलेका कर्मचारीहरुले संकटको समयमा गौतमको आगमनले मन्त्रालयको काम कार्बाही अझ प्रभावकारी हुने विश्वास लिएका छन् ।हेल्थपाटीबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी