सुत्केरीको रक्तस्राव रोक्ने औषधि ६१ जिल्लामा पुगेन, तर बजेट फ्रिज हुँदै

काठमाडौं, २६ जेठ । अढाई महिनादेखिको लकडाउनका कारण यसै पनि गर्भवती महिला र सुत्केरी आमाहरूले सहज स्वास्थ्य उपचार पाइरहेका छैनन् ।

सरकारको लापरबाहीका कारण यहीवेला सुत्केरी अवस्थामा हुने अत्यधिक रक्तस्राव रोक्न दिइने ‘मिसोप्रोस्टोल’ नामक औषधिको पनि देशभर चरम अभाव भएको छ । औषधि किन्न स्थानीय तहहरूलाई चालू वर्ष दिइएको बजेट अहिलेसम्म खर्च भएको छैन ।

नेपालमा मातृमृत्युको प्रमुख कारण सुत्केरी अवस्थामा हुने रक्तस्राव हो । यसको जोखिम कम गर्न ६१ जिल्लामा सरकारले महिला स्वयंसेविकामार्फत र १६ जिल्लामा वान हार्ट वल्र्डवाइड नामक गैरसरकारी संस्थाले ‘मिसोप्रोस्टोल’ चक्की वितरण गर्दै आएको थियो ।

तर, चालू आर्थिक वर्षमा स्थानीय तहहरूले खरिद नगर्दा पाँच महिनादेखि चरम अभाव भएको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । वान हार्टले वितरण गरिरहेका जिल्लामा भने सुत्केरीहरूले औषधि पाइरहेका छन् ।

डा. तिंकरीका अनुसार मिसोप्रोस्टोलको अभावका कारण कतिपय गर्भवती महिलाले ज्यान गुमाइसकेका छन् । ‘पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ । औषधि नभएपछि कतिपय महिलाको रक्तस्रावका कारण मृत्यु भएको छ । स्थानीय तहमा पैसा राखेर रक्तस्राव रोकिँदैन, रक्तस्रावबाट हुने मृत्युलाई कम गर्न अनिवार्य औषधि नै खानुपर्छ,’ उनले भने ।

सरकारको तथ्यांकअनुसार गत फागुनमा मात्रै १४ जना गर्भवतीको मृत्यु भएको छ जब कि यो संख्या ०७४ को फागुनमा तीन र ०७५ को फागुनमा पाँच थियो, अझ चैतमा ५३ सुत्केरी आमाको मृत्यु भएको छ । गत वर्ष चैतमा मातृमृत्यु शून्य थियो । हाल प्रति एक लाखमा ३९ आमाको मृत्यु हुने गरेको छ । सन् २०३० सम्ममा यसलाई घटाएर २२ मा झार्ने सरकारी लक्ष्य छ । मातृमृत्यु बढिरहेको विषयमा अध्ययन भइरहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुँदा महिलालाई अक्सिटोसिन इन्जेक्सन दिइने गरिन्छ । तर, घरमा सुत्केरी हुँदा रक्तस्राव रोक्न ‘मिसोप्रोस्टोल’ चलाइन्छ । चिकित्सकहरूका अनुसार सुत्केरी हुना साथ रक्तस्राव नहोस् भनेर मिसोप्रोस्टोल दिने गरिन्छ । यसले घरमा हुने सुत्केरीको मृत्युलाई रोक्छ ।

वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार मिसोप्रोस्टोल मातृ मृत्युदर घटाउने प्रमुख औषधि हो । महिलाले बच्चा पाइसकेपछि वा गर्भपतन भएपछि हुने अत्यधिक रक्तस्राव रोक्न, गर्भपतन गराउन तथा गर्भवती महिलालाई बेथा लगाउन पनि यो औषधि प्रयोग गरिन्छ । ‘विश्व स्वास्थ्य संगठनको अत्यावश्यक औषधिको सूचीमा पनि मिसोप्रोस्टोल राखिएको छ । मातृ मृत्युदर घटाउने यो प्रमुख औषधि हो,’ उनले भने ।

परिवार कल्याण महाशाखाका अनुसार प्रतिवर्ष करिब ६ लाख चक्की ‘मिसोप्रोस्टोल’ वितरण हुँदै आएको छ । ‘अहिले देशभरका स्वास्थ्य संस्थाहरूमा मिसोप्रोस्टोलको चरम अभाव छ,’ महाशाखा अन्तर्गतको आमा सुरक्षा कार्यक्रम हेर्दै आएकी डाक्टर पुन्या पौडेलले भनिन् । उनका अनुसार स्थानीय तहले गत वर्ष खरिद गर्न नसक्दा ‘मिसोप्रोस्टोल’ अभाव भएको हो । प्रदेश सरकारमार्फत स्थानीय तहमा गएको रकम अझै खर्च हुन सकेको छैन ।

चालू आर्थिक वर्ष ‘मिसोप्रोस्टोल’ खरिदका लागि स्थानीय तहहरूमा एक करोड ५७ लाख ४२ हजार रुपैयाँ गएको थियो । तर, कुनै पनि स्थानीय तहले खरिद गर्न सकेनन् । बजेट नै आर्थिक वर्षको अन्तितिर निकाशा भएकाले औषधि खरिद गर्न नसकिएको प्रदेश सरकारहरुको गुनासो छ ।

जसका कारण पछिल्लो पाँच महिनादेखि सुत्केरी आमाहरूले औषधि पाउन सकेका छैनन् । आगामी आर्थिक वर्ष ०७७–७८ मा भने स्वास्थ्य मन्त्रालय आफैँले ‘मिसोप्रोस्टोल’ खरिद गर्न ३६ लाख विनियोजन गरेको छ । डा. तिंकरीका अनुसार नेपालमा मिसोप्रोस्टोल उत्पादन गर्ने दुई कम्पनी छन्, तर उनीहरूले पनि कच्चा पदार्थको अभावले बनाउन नसकेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष प्रदेश १ अन्तर्गतका स्थानीय तहहरूमा २१ लाख ४५ हजार, प्रदेश २ मा २५ लाख ४७ हजार, बागमतीमा ३० लाख, गण्डकीमा १७ लाख ४० हजार, प्रदेश ५ मा ३४ लाख ६० हजार, कर्णालीमा १२ लाख ६२ हजार र सुदूरपश्चिम प्रदेशअन्तर्गतका स्थानीय तहहरूमा १५ लाख ८८ हजार बजेट गएको थियो ।

वान हार्ट वल्र्डवाइडका कार्यकारी निर्देशक सूर्य भट्टले महामारी आउन सक्छ भन्ने जानकारी पाएपछि १६ जिल्लाका लागि मिसोप्रोस्टोल खरिद गरिएको बताए । ‘मिसोप्रोस्टोल चक्की छैन, नयाँ आउँदैन भन्ने जानकारी पाएपछि हामीले नियमित काम गर्दै आएका जिल्लाहरूका लागि हेडअफिससँग कुरा गरेर तत्काल खरिद गरेका थियौँ,’ उनले भने । सरकारको आग्रहमा वान हार्टले १६ जिल्लामा मिसोप्रोस्टोल वितरण गर्न थालेको हो ।

वान हार्टले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, इलाम, ओखलढुंगा, तेह्रथुम, खोटाङ, उदयपुर, सोलुखुम्बु, धादिङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रे (६ पालिका मात्रै), नुवाकोट र दोलखा जिल्ला हेर्दै आएको छ । यी जिल्लामा वार्षिक करिब ९० हजार महिला गर्भवती हुने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरी भन्छन् : पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ, यही कारण कतिपय महिलाको ज्यान गएको छ

अहिले मिसोप्रोस्टोल सबैजसो जिल्लामा अभाव छ । यो रक्तस्राव रोक्न र गर्भपतनका लागि अति महत्वपूर्ण मानिन्छ । देश संघीय संरचनामा गएपछि चालू आर्थिक वर्ष अत्यावश्यक औषधि खरिद गर्न प्रदेश सरकारमार्फत स्थानीय तहहरूलाई बजेट गएको छ । तर, सबै ठाउँमा मिसोप्रोस्टोल नपाउने भएकाले उनीहरूले किन्न सकेनन् ।

पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ । औषधि नभएपछि कतिपय महिलाको रक्तस्रावका कारण मृत्यु भएको छ । स्थानीय तहमा पैसा राखेर रक्तस्राव रोकिँदैन, रक्तस्रावबाट हुने मृत्युलाई कम गर्न अनिवार्य औषधि नै खानुपर्छ । आगामी दिनमा मिसोप्रोस्टोलको अभाव हुन नदिन केन्द्र आफैले खरिद गर्ने तयारी गरेको छ, त्यसका लागि केही रकम छुट्याइएका छौँ ।

प्रदेश सरकारहरूलाई पाँच लाखसम्मको भए पनि किनेर वितरण गर्न भनिएको छ । तर, किन्न सक्छन् भन्ने विश्वास छैन । प्रदेश र पालिकालाई यसको महत्व थाहा नभएर पनि नकिनेको हुन सक्छ । मिसोप्रोस्टोल उत्पादन गर्ने नेपालमा दुई कम्पनी छन्, तर उनीहरूले पनि कच्चा पदार्थको अभावले बनाउन नसकेको बताएका छन् । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी