कमाण्ड पोष्ट : फितलो तयारी, परेपछि भागदौड !

आईसोलेसन विस्तारको विषयमा कमाण्ड पोष्टले गरेका काम सन्तोषजनक देखिएन

बागलुङ, २५ जेठ/ जानकारी हुँदा–हुदै कोरोना संक्रमित बिरामीको उपचारमा पूर्वतयारी नगर्ने र समस्या आएपछि मात्रै भागदौड मच्चाउने परिपाटीको बागलुङमा अझै अन्त्य भएको छैन । पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना जाँचका क्रममा संक्रमण पुष्टि हुने क्रम बढेको छ । जिल्लाका दशवटै स्थानीय तहका क्वारेन्टाईनमा बसेकाहरुमा कोरोनाको संक्रमण देखिहल्यो भने उनीहरुलाई उपचारस्थल कहाँ र कसरी पूर्याउने भन्ने बिषयमा बेला बेलामा माइन्युटमा निर्णय भएपनि व्यवहारमा नआउँदा समस्या ज्यूँका–त्यूँ छ । जसको ज्वलन्त उदाहरण हो– गत बिहीबार बागलुङको निसीखोला गाउँपालिकामा देखिएका कोरोना संक्रमितलाई अस्पताल ल्याउन लागेको समय । यस्ता घटना नयाँ होईनन् तर एक पटक परेपछि चेत खुलेको भने पटक्कै देखिएन् ।
गत चैत १५ गते जिल्लामा पहिलो कोरोना संक्रमित भेटिँदा भागदौड मच्चियो । बिदेशबाट आएकी १९ बर्षिया युवतीको कन्ट्रयाक ट्रेसिङका क्रममा कोरोना संक्रमण रहेको पुष्टि भयो । उनलाई कहाँ राखेर उपचार गर्ने भन्ने बिषयमा जिल्ला कमाण्ड पोष्टलगायत धौलागिरी अस्पताल र सरोकारवालाको कयौं पटक बैठक बस्यो । अस्पतालले बिरामी लिन नमानेको बहनामा नेताका फोन कलदेखि बिरामी ल्याउन भनेर तयार गरिएको एम्बुलेन्स चालक भाग्ने र भगाउने सम्मका हर्कत भए । स्वास्थ्य कार्यालयका प्रमुखले देखाएको अग्रसरता र सोही कार्यालयका चालकको आँटका कारण कोरोना पुष्टि भएको ८ घण्टापछि बिरामी अस्पताल ल्याईयो । तर, बिरामी अस्पताल ल्याउनुपूर्वका कुनै पनि घटनाको मुल्यांकन भएन । यदि मुल्यांकन हुँदो हो त यस्ता घटना पटक–पटक दोहोरिने थिएनन् ।
पहिलो संक्रमित ल्याउन नमानेका नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका चालक बिना हतियारका थिए । उनीसँग नियुक्ती पत्र तथा कामको जिम्मेबारी र सुविधा तोकिएको कुनैपनि कागजात थिएन । घटना हुनुभन्दा एक दिन पहिला जिल्ला कमाण्ड पोष्टको बैठक बसेर कोरोनाका बिरामी ल्याउन रेडक्रसको एम्बुलेन्स प्रयोग गर्ने सहमति भएको थियो । जब एम्बुलेन्सको प्रयोग गर्ने समयअगावै त्यसको आधिकारिकता, चालकको कागजात, नियुक्ती, सुविधालगायतका बिषयमा जिल्ला कमाण्ड पोष्टले खोज्नुपथ्यो तर त्यसो गरिएन । परिणाम रेडक्रसले कामचलाउ मात्रै चालक भएकाले नमानेको भन्दै उम्कियो, सरोकारवाला रेडक्रसले बेइमानी गरेको भन्दै उम्किए । मर्कामा बिरामी परे ।
दोस्रो घटना काठेखोला गाउँपालिकामा बैशाखको पहिलो साता देखियो । भारतबाट आएकी एक महिलामा आरडिटी पोजेटिभ देखिँदा क्वारेन्टाईनसम्म पु¥याउन त्यहाँ पनि तयारी अवस्थामा राखिएको एम्बुलेन्सका चालकले मानेन् । गाउँपालिकाले मर्मतको समेत जिम्मेबारी लिएर तयार राखेको एम्बुलेन्सले बिग्रिएको बहना बनाएपछि प्रहरीले आफ्नो भ्यानमा राखेर बिरामी क्वारेन्टाईन पु¥यायो । सौभाग्य उनमा पिसिआर परिक्षणमा कोरोना नभएको पुष्टि भयो । त्यो घटनालाई फर्केर हेर्ने कामै भएन बरु बहानाबाजी सुरु भए । आरोप–प्रत्यारोपमा समय सकियो ।
तेस्रो घटना गत बिहिबार निसीखोलाका संक्रमितलाई धौलागिरी अस्पतालमा ल्याउने विषयमा देखियो । जुन माथि उल्लेख गरिएको छ । यी त भए बिरामीलाई अस्पताल ल्याउन पूर्वतयारीको अभावले भएका घटना । त्यसबाहेक आईसोलेसन विस्तारको विषयमा कमाण्ड पोष्टले गरेका काम सन्तोषजनक देखिएन । धौलागिरी अस्पतालमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारका १२ शैयाको मात्रै आईसोलेसन छ भन्ने कुरा कोरोनाको नियन्त्रण तथा रोकथामको जिम्मेबारी पाएको कमाण्ड पोष्टलाई राम्रोसँग जानकारी थियो । भारतबाट आएकाहरुमा देखिएको संक्रमणको दर र जिल्ला भित्रिएकाहरुको संख्या पनि जगजाहेर थियो । क्वारेन्टाईनमा पुगेर धमाधम थ्रोट स्वाव संकलनको काम भैसक्दासमेत त्यहाँबाट आउने नतिजाको आँकलन गरेर आईसोलेनको तयारीमा कमाण्ड पोष्ट चुक्यो । परिणाम अहिलेसम्मका संक्रमितलाई कष्टले धौलागिी अस्पतालको प्रसुति कक्षमा राखिएको छ । तर, अब उपाय के भन्ने बिषयमा चर्चा भए पनि तयारी केही छैन ।
तयारीको हल्ला गर्ने तर कार्यान्वयन नहुँदा समस्या देखियो । गत बुधबार जिल्लाको सदरमुकाम बाहिरका केही स्थानमा आईसोलेसन बनाउने तयारी कमाण्ड पोष्टले नथालेको होईन । गलकोट, बुर्तिबाङ, कुश्मीशेरा र धौलागिरी बहुमुखी क्याम्पस लगायतका स्थानमा बनाउने भनिएका आईसोलेन कक्ष बनाउने निर्णयलाई कार्यान्वयन गर्न सकेको भए कठिन परिस्थिती आउनु पूर्वनै सबै तयारी हुन्थ्यो । तर, स्थानीय तहसँगको समन्वय अभाव, आन्तरिक तयारीमा फितलोपन र पूर्व तयारीको बेवास्ताले अझै कठिन परिस्थिती निम्तने निश्चित छ ।
अहिले पनि भारतबाट आएर बिभिन्न स्थानीय तहका क्वारेन्टाईनमा रहेका एक हजार पाँच सय बढीको कोरोना जाँच भएको छैन । उनीहरुको प्रोटोकल अनुसार जाँच हुँदा आउने परिणाम पछिको व्यवस्थापनका बिषयमा तयारी ढिला भैसकेको छ । सबै स्थानीय तहमा बिरामीको ओसार–पसारका लागि कम्तिमा एक÷एक वटा एम्बुलेन्स तयार राख्नुपर्छ । बिरामीलाई आईसोलेसन, होम आईसोलेसन र प्रि– आईसोलेसन कहाँ राख्ने भन्ने बिषयमा कडाईका साथ निर्देशिका पालना र तयारी आवश्यक छ । स्रोत र अधिकार जिल्लामा केन्द्रित गरेर स्थानीय तहलाई कामको भारी बोकाउन मिल्दैन । स्रोत र अधिकार दुवैको बिकेन्द्रिकरण गर्ने, जिम्मेबारी बोधका साथ पूर्वतयारी र सम्भावनाको पहिचान गरेर अघि नबढ्ने हो भने स्थानीय सरकारले जिल्लालाई देखाउने, जिल्ला कमाण्ड पोष्ट जिल खाएर बस्ने र नागरिकले सिटामोलसमेत नापाउने अवस्था नआउला भन्न सकिन्न् ।ढोरपाटन दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो